काठमाडौं । आमनिर्वाचनको मिति नजिकिँदै जाँदा नेपालको राजनीतिक परिदृश्य पुनः ध्रुवीकरणतर्फ उन्मुख देखिएको छ। आफूलाई ‘नयाँ र वैकल्पिक शक्ति’का रूपमा प्रस्तुत गर्दै आएका दल तथा समूहहरू एक ठाउँमा समेटिन थालेका छन्।
जेनजी विद्रोहपछि उदीयमान शक्तिका रूपमा देखिएका काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह र अन्तरिम सरकारका मन्त्रीसमेत रहेका कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समाहित भइसकेको छ। नयाँ शक्तिहरूको यस्तो एकीकरणले पुराना दलहरूलाई पनि पुनः मोर्चाबन्दीको तयारीतर्फ धकेलेको देखिन्छ।
विशेषगरी जेनजी आन्दोलनकै कारण सत्ता गुमाएका नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी सहकार्यको सम्भावनाबारे खुलेर छलफल हुन थालेको छ। यही सन्दर्भमा ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनअघि कांग्रेस–एमाले गठबन्धनको चर्चा चुलिएको छ। मंगलबार मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको विचार गोष्ठीमा एमाले उपाध्यक्ष रामबहादुर थापाले आगामी निर्वाचनमा कांग्रेस र एमाले मिलेर जानुपर्ने धारणा सार्वजनिक रूपमै राखे। कार्यक्रमका प्रमुख वक्ता एमाले अध्यक्ष केपी शर्मा ओलीकै उपस्थितिमा थापाले भने, ‘नयाँ संसद्मा वामपन्थी र लोकतन्त्रवादीहरूको वर्चस्व स्थापित गर्ने कि दुई शक्तिको वर्चस्व रहेको पुरानै संसद् पुनःस्थापना गरेर लोकतन्त्रलाई सुदृढ बनाउने भन्ने विकल्प हाम्रो अगाडि छ।’
उनका अनुसार १६५ निर्वाचन क्षेत्र नै लोकतन्त्र पुनःस्थापनाका मोर्चा हुन्, जहाँ आधा क्षेत्रमा वामपन्थी र आधामा लोकतन्त्रवादी विजयी हुने रणनीति बनाउन सकिन्छ। समानुपातिकतर्फ पनि ११० सिटलाई सोही आधारमा बाँड्न सकिने उनको प्रस्ताव थियो। विगतमा लोकतन्त्र संकटमा पर्दा एमालेले वामपन्थी र कांग्रेसले लोकतन्त्रवादी नेतृत्व सम्हाल्दै सहकार्य गरेको इतिहास स्मरण गराउँदै उनले अहिलेको परिस्थितिमा पनि दुई शक्तिको सहकार्य अपरिहार्य भएको जिकिर गरे।
एमालेबाट मात्रै होइन, कांग्रेस नेताहरूबाट पनि समान भावका अभिव्यक्ति आएका छन्। सोही कार्यक्रममा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टी सभापति शेरबहादुर देउवाको सन्देशका रूपमा कांग्रेस–एमालेबीच मुद्दामा आधारित सहकार्य सम्भव रहेको बताए।
‘२०४६ को जनआन्दोलन होस् वा २०६२–६३ को आन्दोलन, हामी सँगसँगै लड्यौं। संविधान निर्माणका बेला पनि एक ठाउँमा उभियौं,’ उनले भने, ‘अहिले फेरि मुलुक संकटमा छ। यो बेला फेरि डटेर लड्नुपर्ने समय आएको छ।’ उनले कांग्रेसको नीति स्पष्ट पार्दै दल विशेषका आधारमा न मित्रता न दुस्मनी, मुद्दाका आधारमा सहकार्य हुने बताए। यद्यपि, दुबै दलभित्र औपचारिक निर्णय भने भइसकेको छैन। कांग्रेस नेता कृष्णबहादुर रोकायले आन्तरिक छलफल भइरहेको स्वीकार्दै निष्कर्षमा पुग्न बाँकी रहेको बताए। उनका अनुसार विगतका चुनावी गठबन्धनबाट तल्लो तहका नेता–कार्यकर्ता र मतदाता सन्तुष्ट नदेखिएकाले यसपटक हतारमा निर्णय गर्न नसकिने अवस्था छ। ‘नयाँहरू आएर मिले भन्दैमा हामी आत्तिनुपर्ने अवस्था छैन,’ उनले भने, ‘उनीहरूसँग न स्पष्ट विचार छ, न दीर्घकालीन दृष्टिकोण।’
एमाले नेता गुरु बरालले पनि चुनावी गठबन्धनबारे छलफल जारी रहे पनि संस्थागत निर्णय भइनसकेको स्पष्ट पारे। ‘कुनै निष्कर्षमा पुगिसकेका छैनौं, छलफलमै छौं,’ उनले भने। हाल कांग्रेस र एमाले जेनजी विद्रोहपछि पनि नजिक देखिन्छन्। नयाँ शक्तिको उदय र राजनीतिक ध्रुवीकरणले उनीहरूलाई थप समीप ल्याएको विश्लेषण भइरहेको छ। यद्यपि, दुबै दल चुनावी प्रक्रियामा सहभागी हुँदै संसद् पुनःस्थापनाको पक्षमा समेत वकालत गरिरहेका छन्। कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच निरन्तर संवाद भइरहेको छ भने दोस्रो तहका नेताहरूबीच पनि अनौपचारिक भेटघाट र छलफल भइरहेका छन्। संघीय संरचनाभित्र मधेश बाहेकका अधिकांश प्रदेशमा कांग्रेस र एमाले अहिले पनि सँगै छन्। मधेशमा समेत पछिल्लो समय कांग्रेस नेतृत्वको सरकारलाई एमालेले समर्थन गरेको छ। कोशी, लुम्बिनी र कर्णालीमा एमाले नेतृत्वमा सरकार छ भने बागमती, गण्डकी र सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ।
तर कांग्रेस–एमाले मिलेर अघि बढ्ने नैतिक आधार कमजोर भएको आलोचना पनि उत्तिकै छ। यसअघि सरकार गठन गर्दा संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्ने प्रतिबद्धता जनाइए पनि ती एजेन्डामा ठोस प्रगति हुन नसकेको आरोप छ। यही असन्तुष्टिबाट जेनजी विद्रोह जन्मिएको भन्दै आम आलोचना भयो, जसलाई दुबै दलभित्रका केही नेताहरूले समेत स्वीकार गरेका थिए। यद्यपि, नेताहरूले स्पष्ट रूपमा नस्वीकारे पनि कांग्रेस र एमालेबीच चुनावी गठबन्धनको सम्भावनालाई पूर्ण रूपमा नकारेका छैनन्। एमाले नेता बराल जेनजी आन्दोलनलाई ‘उपद्रवकारी’ भन्दै आफूहरू सही दिशामै अघि बढिरहेको दाबी गर्छन्। ‘विकासले गति लिएको थियो, खर्च बढेकै थियो, लोकतन्त्र संस्थागत गर्ने काम भइरहेको थियो,’ उनले भने, ‘जेनजीका नाममा सिर्जना गरिएको भाष्य मात्र हो।’
कांग्रेस नेता रोकाय पनि परिस्थितिअनुसार एमालेसँग सहकार्य हुन सक्ने संकेत गर्छन्। ‘अहिले हतार गरेर गठबन्धन गर्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘तर मुलुकको विषम परिस्थितिमा संविधान जोगाउन र देशलाई सही दिशामा लैजान दलहरू मिल्नुपर्ने आवश्यकता पर्न पनि सक्छ।’आमनिर्वाचन नजिकिँदै जाँदा नयाँ र पुराना शक्तिहरूबीचको यो ध्रुवीकरणले नेपाली राजनीतिलाई कुन दिशामा लैजान्छ भन्ने प्रश्न भने खुलै छ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।





































