पश्चिम नवलपरासीमा किसानको आकर्षण अन्य बालीमा भन्दा आलु खेतीमा

नवलपरासी । बर्दघाट सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का उमाशङ्कर चौधरीले दुई हेक्टर क्षेत्रफलमा आलुखेती गर्दै आएका छन् । तोरी बालीको तुलनामा आलुखेतीमा बढी उत्पादन हुने आम्दानी बढी लिन सकिने भएकाले उनी चार वर्षदेखि व्यावसायिक आलुखेतीमा जोडिएको हो ।

आलुखेतीका लागि उपयुक्त वातावरणसँगै बजारको पनि समस्या नरहेकाले तोरी र गँहु उत्पादन हुने जमिनमा आलुखेती गरेको चौधरीले बताए । उनका अनुसार गत वर्ष रु पाँच लाखको आलु बिक्री भएको थियो । “एक कठ्ठामा करिब पचास किलो मात्र तोरी उत्पादन हुन्छ भने आलु आठ क्विन्टल उत्पादन हुन्छ”, उनले भने ।

प्रतापपुर गाउँपालिका–६ का गङ्गा सागर यादवले पनि पाँच वर्षदेखि आलुखेती गर्दै आएको छ । चार बिघा जग्गामा आलुखेती गरिरहेको बताउँदै उनले गत वर्ष डेढ बिघा जग्गाबाट उत्पादित आलु बिक्री गरी रु छ लाख ५० हजार आम्दानी भएको जानकारी दिए ।

उखु खेतीमा लागत बढी लाग्ने र चिनी मिलले समयमा भुक्तानी पनि नदिने भएपछि उखु खेती छोडेर १४ बिघा जग्गामा व्यावसायिक आलु, केरा र तरबुजा खेती सुरु गरेको यादवले बताएको हो । अन्य कृषि बाली जस्तो जोखिम नहुने र परिवारलाई समय दिएर पनि उत्पादन लिन सकिने भएकाले आलु, केरा र तरबुजाखेती गरेको उनको भनाइ छ ।

यो आर्थिक वर्षमा भारतबाट आउने केराको खपत हुँदा स्थानीय उत्पादनले बजार नपाएपछि घाटा लागेको उनले बताए । पाल्हीनन्दन गाउँपालिका–४ का रामसेवक कुर्मीले तीन वर्षदेखि दश कठ्ठा जग्गामा व्यावसायिक आलुखेती गर्दै आएको छ ।