काठमाडौं । शाईन रेसुङ्गा डेभलपमेण्ट बैंक लि. शाखा कार्यालय, मजुवा गुल्मीले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत “आर्थिक अवस्था सुधार तथा विकास गर्ने उद्देश्यका साथ बाख्रा तथा बंगुर वितरण कार्यक्रम” सफलतापूर्वक सम्पन्न गरेको छ।
उक्त कार्यक्रम गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका वडा नं. ०८ मजुवामा सञ्चालन गरिएको थियो। कार्यक्रममा सोही वडाका वडा अध्यक्ष, जनप्रतिनिधिहरू, बैंकका शाखा प्रमुख तथा कर्मचारीहरू लगायत गरी जम्मा २३ जनाको उपस्थिति रहेको थियो।
कार्यक्रममा शाईन रेसुङ्गा डेभलपमेण्ट बैंक मजुवा शाखाका शाखा प्रबन्धक कुमार विश्वकर्माले चन्द्रकोट गाउँपालिका वडा नं. ०८ भित्र रहेका करिब २४ घरधुरीको आर्थिक अवस्थाको अध्ययन गरी तीमध्ये ६ घरधुरीलाई १–१ वटा बाख्रा तथा १ घरधुरीलाई १ वटा बंगुर वितरण गरिएको जानकारी दिए । उनले आर्थिक अवस्था सुधार तथा कृषि पेशामा सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताए । साथै, वितरण गरिएको बाख्राको १ वर्षको बीमा समेत गरिएको जानकारी दिए।


हाल व्यक्तिको आर्थिक क्रियाकलापमा प्रत्यक्ष प्रभाव पर्ने गरी बाख्रा तथा बंगुर वितरण गरिएको र यस कार्यक्रमले लाभग्राहीहरूको आर्थिक जीवनस्तर उकास्न सहयोग पुर्याउने तथा कृषि क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएको उनले बताए , कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने चन्द्रकोट गाउँपालिका वडा कार्यालयप्रति पनि विश्वकर्माले विशेष धन्यवाद ब्यक्त गरे ।
उक्त कार्यक्रममा चन्द्रकोट गाउँपालिका वडा नं. ०८ का वडा अध्यक्ष फडिन्द्र राज अर्यालको पनि उपस्थीति रहेको थियो । उनले यस वडा भित्र आर्थिक रूपमा अत्यन्तै कमजोर घरपरिवारहरूको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले शाईन रेसुङ्गा डेभलपमेण्ट बैंक लि. शाखा कार्यालय, मजुवाले बाख्रा तथा बंगुर वितरण गरी सहयोग गरेको कार्य अत्यन्तै सराहनीय र औचित्यपूर्ण रहेको बताए । यस कार्यक्रमबाट कम्तीमा ७ घरधुरीले प्रत्यक्ष लाभ लिएको र यस कार्यप्रति बैंक परिवारप्रति आफूहरू आभारी रहेको जानकारी दिए ।
साथै उक्त कार्यक्रममा सहभागी लाभग्राहीहरूले खुशी व्यक्त गर्दै यस सहयोगले आफूहरूमा जिम्मेवारी बोध गराएको र यसबाट आफ्नो आर्थिक अवस्थामा सुधार आउने आशा व्यक्त गर्दै बैंक परिवारप्रति आभार प्रकट गरेका छन्।

यसअघि पनि शाखा कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । जस अन्तर्गत मुसीकोट नगरपालिका वडा नं. ५ तल्लाफाट स्थित बगैंचामा तथा चन्द्रकोट गाउँपालिका वडा नं. गेखुङ स्थित श्री उदय आधारभूत विद्यालयको बगैंचामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको थियो । त्यसैगरी विभिन्न समयमा मुसीकोट नगरपालिका वडा नं. ५ को वडा कार्यालय, श्री ज्ञानोदय माध्यमिक विद्यालय चन्द्रकोट तथा सूर्योदय माध्यमिक विद्यालय गुल्मीदरबारमा वित्तीय साक्षरता कार्यक्रमहरू पनि सञ्चालन गरेको थियो।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको शाईन रेसुङ्गा डेभलपमेण्ट बैंक लि. शाखा कार्यालय, मजुवाका अपरेशन इन्चार्ज सन्तोष पाण्डेले जानकारी दिए ।
यस कार्यक्रमबाट स्थानीय स्तरमा कृषि उत्पादन वृद्धि हुने, आत्मनिर्भरता बढ्ने तथा समग्र आर्थिक अवस्था सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

![]()
































