राष्ट्रिय सभा निर्वाचनमा ठूला दलको गठबन्धन !

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गर्दै ठूला दलहरूबीच गठबन्धनको तयारी तीव्र बनेको छ। यही सन्दर्भमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच राष्ट्रिय सभा निर्वाचनबारे महत्वपूर्ण छलफल भएको छ । सोमबार बिहान ९ बजेदेखि ११ बजेसम्म ओली निवास गुन्डुमा भएको भेटमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका विषयमा विस्तृत छलफल भएको हो।

छलफलका लागि कार्यवाहक सभापति खड्का कांग्रेस नेता रमेश लेखकसहित गुन्डु पुगेका थिए। भेटमा राष्ट्रिय सभामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)बीच तालमेल गर्ने विषयमा मोटामोटी समझदारी बनेको स्रोतले जनाएको छ । गुण्डु स्रोतका अनुसार चार दलबीच राष्ट्रिय सभाका सिट बाँडफाँडबारे पनि प्रारम्भिक सहमति भएको छ। हालको समझदारीअनुसार कांग्रेसले ७ सिट, एमालेले ६ सिट, नेकपा (माओवादी केन्द्र) ले ४ सिट र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले १ सिट पाउने प्रस्ताव गरिएको छ। माघ ११ गते हुने निर्वाचनमा राष्ट्रिय सभाका १८ सिटका लागि मतदान हुँदैछ।

यद्यपि कांग्रेसले ७ सिटमा सहमत भए पनि सिट बाँडफाँडका सन्दर्भमा एउटा महत्वपूर्ण शर्त अघि सारेको छ। कांग्रेसले हरेक प्रदेशबाट कम्तीमा एक–एक जना उम्मेदवार हुनुपर्ने अडान राखेको छ। यस विषयमा अझै दलहरूबीच अन्तिम समझदारी हुन बाँकी रहेको बताइएको छ ।

ओलीसँग सोमबार भएको छलफलको विषयमा कार्यवाहक सभापति खड्काले सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा ब्रिफिङ गरेका छन्। बैठकमा उनले राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा भइरहेका छलफल र सम्भावित सहमतिका विषयमा जानकारी गराएका थिए।

स्रोतका अनुसार बैठकमा खड्काले कांग्रेसले सुरुवातमा ८ सिटको माग गरेको भए पनि राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै ७ सिटमै सहमति गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्। उनले कांग्रेसको मुख्य माग भनेको प्रदेशगत समावेशिता रहेको र हरेक प्रदेशबाट प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने विषय भएको स्पष्ट पारेका छन्। तीनै ठूला दलबीच यस विषयमा मंगलबारसम्म सहमति जुटाउने प्रयास भइरहेको स्रोतले जनाएको छ। यसअघि कांग्रेस नेता रमेश लेखकले नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर राष्ट्रिय सभामा मिलेर जाने प्रस्ताव राखेका थिए। उक्त प्रस्तावप्रति प्रचण्ड सकारात्मक देखिएपछि कांग्रेसले औपचारिक रूपमा सिट बाँडफाँडको प्रस्ताव अघि सारेको हो।

यसैबीच आइतबार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका संयोजक प्रचण्डबीच ललितपुरमा भेटवार्ता भएको थियो। सो भेटमा पनि राष्ट्रिय सभाको निर्वाचनमा सहकार्य गर्ने विषयमा छलफल भएको र सहमति जुटाउने प्रयास भएको नेताहरूले बताएका छन्।

अहिले सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा कार्यवाहक सभापति खड्काकै अध्यक्षतामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ। बैठकमा राष्ट्रिय सभा निर्वाचनका साथै पार्टी महाधिवेशनसँग सम्बन्धित विषयमा उत्पन्न परिस्थितिबारे समेत छलफल भइरहेको जनाइएको छ। राष्ट्रिय सभा निर्वाचन नजिकिँदै गर्दा ठूला दलहरूबीचको सम्भावित गठबन्धनले राजनीतिक वृत्तमा चासो बढाएको छ। आगामी दिनमा दलहरूबीच हुने अन्तिम समझदारीले राष्ट्रिय सभाको शक्ति सन्तुलन कस्तो बन्छ भन्ने विषयमा समेत महत्त्वपूर्ण प्रभाव पार्ने देखिएको छ।

 प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।