काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ठूला दलका शीर्ष नेताहरूप्रति कडा कटाक्ष गरेका छन्। पार्टीको समायोजन घोषणा सभालाई सम्बोधन गर्दै लामिछानेले आफूमाथि लागिरहेका मुद्दा–मामिलालाई राजनीतिक प्रतिशोधको परिणाम भएको दाबी गरे।
उनले पुराना दलका नेताहरू आफू र आफ्नो पार्टीविरुद्ध एकजुट भएर आक्रमणमा उत्रिएको आरोप लगाए। कार्यक्रममा आक्रोशित भावमा प्रस्तुत भएका लामिछानेले शीर्ष नेताहरूमाथि संकेत गर्दै भने, ‘मलाई पुर्न साढे ६ फिटको खाल्डो खने हुन्छ भनेकै हो, तर यति ठूलो खाल्डो खन्नु भयो, तपाईंहरूलाई नपुरी सुखै छैन।’ उनको यो भनाइलाई हाल उनीमाथि चलिरहेका कानुनी र राजनीतिक दबाबप्रति लक्षित कटाक्षका रूपमा लिइएको छ।
लामिछानेले पुराना दलहरू आपसी मतभेद बिर्सिएर रास्वपामाथि आक्रमण केन्द्रित गरेको आरोप लगाउँदै निर्वाचन हुन नदिन कसैले पनि षड्यन्त्र नगर्न आग्रह गरे। ‘अब चुनावबाटै निकास दिने हो,’ उनले भने, ‘निर्वाचन रोक्ने वा प्रभावित पार्ने कुनै पनि प्रयास स्वीकार्य हुँदैन।’ यसअघि अन्य दललाई मतदान गर्दै आएका मतदातालाई सम्बोधन गर्दै लामिछानेले यसपटक फरक निर्णय लिन आग्रह गरे। आफूले माया गरेको दलबाट अपेक्षित निकास नआए पनि फेरि त्यही दललाई समर्थन गर्ने प्रवृत्तिप्रति प्रश्न उठाउँदै उनले एकपटक ती दललाई प्रतिपक्षमा बस्न दिन र रास्वपालाई समर्थन गर्न अपिल गरे। पुराना दलप्रति कटाक्ष गर्दै उनले संसद्लाई जनताले हेर्न नसक्ने थलो बनाइएको आरोप लगाए। ‘संसद्लाई तपाईंहरूले बजेट भाषणबाहेक हेर्न नमिल्ने बनाउनु भएको थियो,’ उनले भने, ‘युवा पुस्ताले आँखा झिमिक्क नगरी हेर्न मिल्ने संसद् बनाउने काम रास्वपाले गर्छ।’ उनले देशको खस्कँदो मनोबल र कमजोर अर्थतन्त्रलाई उकास्ने क्षमता आफ्नो पार्टीसँग रहेको दाबी गरे।
अन्य दलका नेताहरूले गरिरहेको राजनीतिप्रति प्रश्न उठाउँदै लामिछानेले देशलाई सम्भावनाहीन बनाइएको आरोप लगाए। ‘त्यो राजनीति पनि के राजनीति ? देशलाई हरिकंगाल बनाएर छोड्नुभयो,’ उनले भने, ‘सम्भावना नै सम्भावना भएको देशलाई सम्भावना नभएको बनाइयो।’ उनले मुलुकलाई सही गन्तव्यतर्फ लैजाने वातावरण बनाउन रास्वपा सक्षम रहेको दाबी गरे। लामिछानेले आफ्नो पार्टीका नेता राजनीतिक रूपमा परिपक्व बन्दै गएको उल्लेख गर्दै पुराना दलका नेताहरूले गरिरहेको राजनीतिमा गम्भीर प्रश्न उठाए। उनले आगामी दिनमा चुनावमार्फत नै राजनीतिक निकास खोजिने स्पष्ट पारे। कार्यक्रममा उनले पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्न सुरु गर्न निर्देशन दिएको पनि बताए। ‘रास्वपाको उत्साह देखेर म उपसभापति डा. स्वर्णिम वाग्लेलाई भन्छु—डा’साप, आगामी वर्षको बजेट लेख्न सुरु गर्नुस्,’ उनले भने। यसलाई रास्वपा सत्ता नेतृत्वको तयारीमा रहेको संकेतका रूपमा हेरिएको छ।
पार्टीमा कवि, कलाकार र मोडलहरू जोडिएको भन्दै हुने आलोचनाप्रति पनि लामिछानेले कडा प्रतिक्रिया जनाए। ‘तपाईंहरूले उनीहरूलाई गरिखान दिनु भयो र ? बाध्य भएर हस्तक्षेप गर्न राजनीतिमा आएका हुन्,’ उनले भने। अन्य दलहरूबीच एकता हुँदा र एकता भंग हुँदा देखिने अनुहारहरू आफूले नजिकबाट नियालिरहेको उल्लेख गर्दै लामिछानेले देश बनाउने यात्रामा सबैलाई गोलबद्ध हुन आग्रह गरे। पुराना दलका नेताहरूले आफूहरूले गरेका कामको फेहरिस्त सुनाउने गरेकोप्रति आपत्ति जनाउँदै लामिछानेले ती दलहरूले ३४ वर्षसम्म देशलाई हरिकंगाल बनाएको आरोप लगाए। ‘३४–३४ वर्षसम्म देशलाई हरिकंगाल बनाएकाहरूको के बयान गर्नु ?’ उनले भने, ‘अब हामी बदलिनुपर्छ। यात्राको क्रममा कोही छुट्ला भन्ने चिन्ता नगरौँ, सँगै मिलेर, लडेर देशलाई निकास दिने हो।’ उनले अहिलेको अवसर गुमाए इतिहासले माफी नदिने चेतावनी दिँदै आफ्नो सम्बोधन टुंग्याए।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।

































