काठमाडौं । नेपाल अटोमोबिल आयातकर्ता तथा उत्पादक संघ (नाइमा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच ट्राफिक प्रहरीको क्षमता अभिवृद्धिका लागि पाँच वर्षे दीर्घकालीन रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार काठमाडौं उपत्यकामा कार्यरत १,६५१ जना ट्राफिक प्रहरीलाई व्यवहारकुशल सीप तथा नयाँ सवारी प्रविधिसम्बन्धी विषयमा नियमित तालिम प्रदान गरिनेछ ।
ट्राफिक सप्ताह २०८२ अन्तर्गत ‘सडक दुर्घटना न्यूनीकरण विशेष अभियान’ को उद्घाटन समारोहका अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नाइमा बोर्ड सदस्य सौरभ ज्योतिबीच उक्त समझदारीपत्र आदान–प्रदान गरिएको हो ।
समझदारीको उद्देश्य ट्राफिक प्रहरीलाई आधुनिक ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, सेवामुखी व्यवहार, जोखिम न्यूनीकरण तथा प्रविधिमैत्री अभ्यासमा निरन्तर अद्यावधिक गराउँदै नागरिकसँगको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनु रहेको छ ।
समझदारीअनुसार नाइमाले आफ्ना सदस्य कम्पनीहरूको विशेषज्ञता प्रयोग गरी नयाँ सवारी प्रविधि, सडक सुरक्षा, नवप्रविधिको प्रयोग तथा सवारी तथा यातायात प्रणालीसम्बन्धी विषयमा आवश्यक तालिम सामग्री, प्राविधिक स्रोत, विज्ञ सहजीकरण तथा समन्वय उपलब्ध गराउनेछ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भने तालिम कार्यक्रमको प्राविधिक नेतृत्व, सहभागी व्यवस्थापन, अनुगमन तथा गुणस्तर सुनिश्चितताको जिम्मेवारी लिनेछ ।
नाइमाका अनुसार समझदारी कार्यान्वयन अन्तर्गत पहिलो चरणको तालिम २०८२ माघ ४ गतेदेखि सुरु हुनेछ । १७ कार्यदिनसम्म सञ्चालन हुने तालिममा प्रत्येक सत्रमा १०० जना ट्राफिक प्रहरी सहभागी हुनेछन् । तालिममा तनाव व्यवस्थापन तथा ध्यान, सञ्चार र द्वन्द्व व्यवस्थापन, नयाँ सवारी साधन प्रविधिको सैद्धान्तिक तथा प्रत्यक्ष अवलोकन, ट्राफिक व्यवस्थापनका व्यावहारिक अभ्यास, सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा आवश्यक ह्यान्ड–जेस्चर सीपजस्ता विषय समेटिएका छन् ।
तालिम सहजीकरणका लागि इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई) पुलचोक र थापाथली क्याम्पसका प्राध्यापकहरू, जीवन विज्ञान का प्रशिक्षकहरू, नाइमाका सदस्य कम्पनीका प्राविधिक विज्ञहरू, प्रेरणादायी वक्ता तथा जीवन प्रशिक्षक रमन भट्टराई तथा अन्य स्वतन्त्र विषय विज्ञहरू सहभागी हुनेछन् । केही महत्वपूर्ण सत्रहरू ट्राफिक प्रहरी प्रमुख तथा वरिष्ठ ट्राफिक प्रहरी अधिकृतहरूले समेत सञ्चालन गर्ने जनाइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ ट्राफिक प्रहरी उपरीक्षक नवराज अधिकारीले ट्राफिक प्रहरी जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले व्यवहारकुशल सीप सुदृढ गर्नु र नयाँ सवारी प्रविधिबारे निरन्तर अद्यावधिक रहनु अत्यन्त आवश्यक रहेको बताए । उनले दीर्घकालीन सहकार्यमा नाइमाको प्रतिबद्धता प्रशंसनीय रहेको उल्लेख गरे ।
नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले सडक सुरक्षा प्रवर्द्धन, उपभोक्ता सचेतना, दक्ष मानवस्रोत विकास तथा नीतिगत पहल संघको प्राथमिकतामा रहेको बताइन् । उनले यो दीर्घकालीन सहकार्यले ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि भई नागरिकमैत्री सेवा प्रवाह तथा सडक सुरक्षा सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन् ।
नाइमा बोर्ड सदस्य तथा रोड सेफ्टी एण्ड इन्फ्रास्ट्रक्चर इन्हान्समेन्ट कमिटीका संयोजक सौरभ ज्योतिले तालिम कार्यक्रम सडक सुरक्षा, जनचेतना तथा पूर्वाधार सुदृढीकरणसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै यसले सुरक्षित सडक संस्कृतिको विकास र दीगो मोबिलिटी प्रवर्द्धनमा योगदान पुर्याउने बताए ।
त्यसैगरी, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले तालिम कार्यक्रमले नयाँ तथा उदीयमान सवारी प्रविधिबारे अभिमुखीकरण गर्नुका साथै ट्राफिक प्रहरीको दैनिक सेवा प्रवाहमा आवश्यक व्यवहारकुशल सीपहरू सुदृढ गर्ने गरी तयार गरिएको जानकारी दिए । उनले आवश्यकता र मागअनुसार यस्ता क्षमता विकास कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताए ।



































