फिलिपिन्समा फोहोरको पहिरोले मृतक संख्या ११ पुग्यो, अझै २० भन्दा बढी बेपत्ता

फिलिपिन्स । मध्य फिलिपिन्सको सेबु सिटीस्थित बिनालिव ल्यान्डफिलमा फोहोरको ठूलो पहिरो खस्दा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । अधिकारीहरूका अनुसार दुर्घटनाका बेला ल्यान्डफिल क्षेत्रमा १०० भन्दा बढी कामदार रहेका थिए ।

उद्धारकर्मीहरूले हालसम्म १२ जना घाइतेलाई भग्नावशेषबाट जीवितै उद्धार गरेका छन् । तर अझै २० भन्दा बढी व्यक्ति फोहोरको थुप्रोमा पुरिएको आशंकामा बेपत्ता छन् ।

स्थानीय एक दमकल अधिकारीले यसअघि कुरा गर्दै तीन दिनपछि पनि फोहोरको थुप्रोमुनि मानिस जीवित हुने सम्भावना निकै कम रहेको बताएका थिए । तर सोमबार खोजीका क्रममा “जीवनका संकेत” फेला परेको सेबु सिटीका मेयर नेस्टर आर्किभालले अन्तर्वार्तामा बताएका छन् । उनले उद्धार कार्य अझै ‘रेस्क्यु मोड’मै रहेको स्पष्ट पारे ।

घटनापछि ल्यान्डफिल सञ्चालनको कारण र व्यवस्थापन प्रणालीमाथि छानबिनको माग चर्किएको छ । वातावरणीय निकायले ल्यान्डफिल सञ्चालन गर्दै आएको प्राइम इन्टिग्रेटेड वेस्ट सोलुसन्स इन्क. लाई तत्काल गतिविधि रोक्न आदेश दिएको छ । साथै ९० दिनभित्र सुधार योजना पेश गर्न निर्देशन दिइएको छ ।

फिलिपिन्सको वातावरण तथा प्राकृतिक स्रोत विभागले दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान गर्ने र दोषीलाई कानुनी दायरामा ल्याइने जनाएको छ ।

सांसदहरू तथा नेताहरूले फोहोर व्यवस्थापन प्रणाली र फोहोर कामदारको कार्यस्थितिबारे पुनरावलोकन गर्न माग गरेका छन् । सिनेटर इमे मार्कोसले अनुसन्धानको माग गर्दै भनिन्, “यो घटना कहिल्यै हुनु हुँदैनथ्यो । यसअघि पनि यस्ता दुर्घटना भएका छन्, तर खतरा उस्तै छ । सेबुमा गुमेका ज्यानले स्पष्ट जवाफ र वास्तविक सुधार माग गरेका छन् ।”

ल्यान्डफिल नजिकै बस्दै आएका बिएनभिनिडो रानिडोले रोयटर्ससँग कुरा गर्दै दुर्घटनाको भयावह क्षण सम्झिए । उनकी श्रीमती त्यहीँ काम गर्थिन् ।

“मानिसहरू भाग्दै थिए, फोहोर विस्फोट भएजस्तो देखिन्थ्यो,” उनले भने, “म तुरुन्त मोटरसाइकल लिएर ल्यान्डफिल पुगेँ । त्यहाँ भवन ढलेको थियो र फोहोरले पुरिएको थियो । म कराउन बाहेक केही गर्न सकिनँ।” उनकी श्रीमतीको शव भोलिपल्ट फेला परेको पार्यो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार २० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त स्थानमध्ये करिब तीन हेक्टर क्षेत्र ल्यान्डफिलका लागि प्रयोग हुँदै आएको थियो ।

दुर्घटनाको ठोस कारण अझै अनुसन्धानमै रहे पनि खानी तथा भू–वैज्ञानिक ब्युरोको प्रारम्भिक प्रतिवेदनले पछिल्ला हप्ताहरूमा परेको लगातार वर्षाका कारण फोहोर भारी बनेको र केही इन्जिनियरिङ कमजोरीले पनि दुर्घटना निम्त्याएको संकेत गरेको छ ।

फिलिपिन्सका ठूला सहरहरूमा ल्यान्डफिल सामान्य भए पनि यो घटनाले देशको फोहोर व्यवस्थापन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको देखिन्छ ।