काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको निर्णय निर्वाचन आयोगलाई जानकारी गराइएको छ । कांग्रेस संस्थापन पक्षले गरेको उक्त निर्णयसहितको औपचारिक पत्र निर्वाचन आयोगमा बुझाइएको हो ।
बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशन पक्षधर नेताहरू थापा, शर्मा र मन्सुरलाई पार्टी अनुशासन विपरीत गतिविधि गरेको ठहर गर्दै पाँच वर्षका लागि कारबाही गर्ने निर्णय गरेको थियो । सो बैठकमा विशेष महाधिवेशन पक्षधर नेताहरू सहभागी थिएनन् । बैठकले उनीहरूलाई पार्टीका जिम्मेवारीबाट हटाउने तथा संगठनात्मक गतिविधिमा सहभागी हुन नपाउने गरी कारबाही गर्ने निर्णय गरेको बताइएको छ ।
संस्थापन पक्षले गरेको कारबाहीको निर्णयपछि पार्टीभित्रको विवाद झन् तीव्र बनेको छ । एकातिर विशेष महाधिवेशन पक्षधरहरूले समानान्तर रूपमा नेतृत्व चयनको प्रक्रिया अघि बढाइरहेका छन् भने अर्कोतिर संस्थापन पक्षले अनुशासनात्मक कारबाही गर्दै आधिकारिकता कायम राख्ने प्रयास गरेको देखिन्छ ।
यस विषयमा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कांग्रेसका दुवै पक्षबाट आयोगमा पत्र प्राप्त भएको जानकारी दिए । ‘विशेष महाधिवेशन पक्षधरको पत्र हिजो आयोगमा आएको थियो,’ उनले भने, ‘संस्थापन पक्षको पत्र आज आएको छ ।’ तर ती पत्रहरूको विस्तृत विषयवस्तुबारे आफूलाई जानकारी नभएको उनले बताए ।
कांग्रेसभित्र देखिएको यो आन्तरिक विवाद अब निर्वाचन आयोगसम्म पुगेको छ । दुवै पक्षले आ–आफ्नो निर्णय र दाबी आयोगसमक्ष पेस गरेपछि आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन र कांग्रेस विधानका आधारमा अध्ययन तथा निर्णय प्रक्रिया अघि बढाउनेछ । आयोगको निर्णयलाई लिएर असन्तुष्ट पक्ष अदालत जाने सम्भावनासमेत देखिएकाले कांग्रेसको आन्तरिक विवाद कानुनी र राजनीतिक दुवै तहमा थप जटिल बन्ने संकेत देखिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।





































