आधिकारिक कांग्रेस कुन् ?

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने प्रक्रियालाई तीव्र बनाइरहँदा पार्टीभित्रको विवाद झन् चर्किएको छ । विशेष महाधिवेशनमा सहभागी बहुमत प्रतिनिधिहरूको समर्थनमा नयाँ केन्द्रीय नेतृत्व चयनको प्रक्रिया अगाडि बढेपछि संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गर्ने निर्णय गरेको छ । एकातिर कारबाहीको निर्णय र अर्कोतिर विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन भएसँगै पार्टीको वैधानिकता कुन पक्षले पाउने भन्ने प्रश्नले राजनीतिक र कानुनी बहसलाई थप जटिल बनाएको छ ।

५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी भएको दाबी गरिँदै आएको विशेष महाधिवेशनले नयाँ नेतृत्व र केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु गरिसकेको छ । यसले नेपाली कांग्रेसको वैधानिक संरचना कसले प्रतिनिधित्व गर्ने भन्ने विषयलाई निर्णायक मोडमा पुर्‍याएको छ । कानुनविद्हरूका अनुसार बहुमत प्रतिनिधिको सहभागितामा सम्पन्न महाधिवेशनलाई निर्वाचन आयोगले वैधता दिन सक्ने सम्भावना बलियो छ । तर, यदि निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई मान्यता दिएमा संस्थापन पक्ष त्यसविरुद्ध आयोग हुँदै अदालतसम्म जाने सम्भावना पनि उत्तिकै देखिन्छ ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले कांग्रेसको विधानले विशेष महाधिवेशनलाई स्पष्ट रूपमा वैधानिक प्रक्रिया मानेको बताउँछन् । उनका अनुसार पार्टी विधानले निश्चित सर्त पूरा भएमा विशेष महाधिवेशन रोक्न नपाइने व्यवस्था गरेको छ । विधानअनुसार केन्द्रीय महाधिवेशनका ४० प्रतिशत प्रतिनिधिले माग गरेपछि सभापतिले विशेष महाधिवेशन बोलाउनैपर्ने बाध्यात्मक व्यवस्था छ । ‘चार वर्षे कार्यकाल सकिएपछि एक वर्ष थप गर्न सकिने व्यवस्था भए पनि विशेष महाधिवेशन बोलाउन सक्ने स्पष्ट प्रावधान विधानमा भएकाले ४० प्रतिशतले माग गरिसकेपछि त्यसलाई टार्न मिल्दैन,’ ज्ञवाली भन्छन् । उनका अनुसार सभापतिले महाधिवेशन नबोलाएको अवस्थामा पार्टीको अर्को कुनै पदाधिकारीले बोलाएको विशेष महाधिवेशन पनि वैधानिक नै हुन्छ । ज्ञवालीका अनुसार बहुमत प्रतिनिधिको उपस्थितिमा गरिएका निर्णय लोकतान्त्रिक मान्यताअनुसार वैधानिक हुन्छन् ।

यद्यपि अहिलेको परिस्थितिले कांग्रेसलाई विभाजनतर्फ धकेलेको भए पनि अन्तिम वैधानिकता कसले पाउने भन्ने विषयमा निर्वाचन आयोगले गर्ने निर्णय नै निर्णायक हुने उनको भनाइ छ । आयोगको निर्णय जुनसुकै पक्षको पक्षमा आए पनि त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पुग्ने सम्भावना उच्च देखिन्छ । यो विवादको पृष्ठभूमि असोज २८ देखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकसँग जोडिएको छ । सो बैठकमा नियमित महाधिवेशन कहिले गर्ने भन्ने विषयमा सहमति नजुटेपछि विशेष महाधिवेशन माग गर्दै निवेदन दर्ता भएको थियो । नियमित महाधिवेशन तत्काल सम्भव नदेखिएपछि कांग्रेस विधानमा रहेको व्यवस्थाअनुसार विशेष महाधिवेशनको माग अघि सारिएको हो । २०१७ मा बनेको र समय–समयमा संशोधन हुँदै आएको कांग्रेस विधानले तीन अवस्थामा विशेष महाधिवेशन हुन सक्ने व्यवस्था गरेको छ ।

विधानको धारा १७ (२) अनुसार केन्द्रीय कार्यसमितिले आवश्यकता महसुस गरेमा विशेष महाधिवेशन बोलाउन सक्ने उल्लेख छ । त्यस्तै, केन्द्रीय कार्यसमितिबाहेक केन्द्रीय महाधिवेशनका ४० प्रतिशत प्रतिनिधिले विशेष कारण खुलाई लिखित अनुरोध गरेमा तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने स्पष्ट व्यवस्था गरिएको छ । उक्त धारामा ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले विशेष कारणसहित लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ’ भन्ने उल्लेख छ । हालसम्म निर्वाचन आयोगको अभिलेखमा नेपाली कांग्रेसको सभापतिका रूपमा शेरबहादुर देउवाकै नाम दर्ता छ । मंसिर २०७८ मा सम्पन्न १४औँ महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएका थिए ।

बुधबारसम्म पनि आयोगको अभिलेखमा देउवाकै नाम कायम छ । यसअघि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्दा समेत देउवाकै हस्ताक्षर प्रयोग भएको थियो । अब विशेष महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा नयाँ नेतृत्वमा निर्वाचित भएमा उनीहरूले निर्वाचन आयोगमा विवरण अद्यावधिकका लागि निवेदन दिने तयारी गरेका छन् । त्यस्तो अवस्थामा संस्थापन पक्षले अद्यावधिक प्रक्रिया रोक्ने प्रयास गर्ने देखिन्छ । विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भए राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार आयोगलाई जानकारी गराउनुपर्ने हुन्छ । उक्त दफामा दलको नाम, विधान, नियम, छाप, झण्डा, चिह्न वा पदाधिकारीमा भएको परिवर्तन ३० दिनभित्र आयोगलाई जानकारी दिनुपर्ने उल्लेख छ ।

आयोगमा प्राप्त जानकारीको आधारमा आवश्यक अध्ययन र जाँचबुझ गरी संविधान, ऐन, नियम र दलको विधानअनुसार भए आयोगले विवरण अद्यावधिक गर्ने व्यवस्था छ । तर पार्टीभित्र गहिरो आन्तरिक विवाद रहेको अवस्थामा आयोगले एक पक्षको विवरण सहजै अद्यावधिक गर्न कठिन हुने भएकाले केही समय लिएर दुवै पक्षलाई सुन्ने अभ्यास रहँदै आएको छ । यसका लागि आयोगले इजलास गठन गरी सुनुवाइ गर्न सक्ने र निर्णयमा पुग्न ४५ दिनसम्म लाग्न सक्ने देखिन्छ ।

विशेष महाधिवेशन पक्षधरले पेस गरेको विवरण गलत रहेको दाबी गर्दै अर्को पक्ष आयोगमा पुगेमा राजनीतिक दलसम्बन्धी ऐनको परिच्छेद–९ मा रहेको दलको मान्यतासम्बन्धी विवाद निरूपणको प्रक्रिया आकर्षित हुनेछ । यस्तो अवस्थामा आयोगले कुनै न कुनै निर्णयमा पुग्नैपर्ने हुन्छ । आयोगको निर्णयप्रति असन्तुष्ट पक्ष सर्वोच्च अदालत जाने सम्भावना प्रबल देखिन्छ । अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसको आधिकारिकता र चुनावी तयारीसमेत प्रभावित हुनसक्ने चिन्ता पार्टीभित्र र बाहिर दुवैतर्फ बढ्दै गएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।