काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भई विचाराधीन अवस्थामा रहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने निर्णय गरेको छ ।
यससम्बन्धी निर्णयअनुसार महान्यायाधिवक्ता कार्यालयले सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयहरूलाई अभियोगपत्र संशोधन गर्न स्वीकृति प्रदान गरेको हो । महान्यायाधिवक्ता कार्यालयको यो निर्णयपछि कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा चलिरहेका संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगहरू फिर्ता लिइने भएका छन् । महान्यायाधिवक्ता सबिता भण्डारी बरालले बुधबार चारवटै जिल्लामा दर्ता भएका मुद्दाका अभियोगपत्र संशोधन गर्न औपचारिक स्वीकृति दिएकी हुन् ।
महान्यायाधिवक्ता बरालका अनुसार यो निर्णयलाई सम्पूर्ण मुद्दा फिर्ता लिएको रूपमा बुझ्न नमिल्ने स्पष्ट पारिन् । उनले सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहने बताइन् । ‘सहकारी ठगीको मुद्दा कायम नै रहन्छ,’ बरालले भनिन्, ‘संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग फिर्ता लिने गरी मात्र अभियोगपत्र संशोधन गर्न स्वीकृति दिइएको हो ।
यसलाई मुद्दा नै फिर्ता लिएको रूपमा बुझ्नु हुँदैन ।’ उनका अनुसार प्रमाण, अनुसन्धानको अवस्था र कानुनी आधारका हिसाबले संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग निरन्तर अघि बढाउन पर्याप्त आधार नदेखिएकाले अभियोगपत्र संशोधन गर्ने निर्णय गरिएको हो । यही निर्णयका आधारमा अब जिल्ला सरकारी वकिल कार्यालयहरूले सम्बन्धित अदालतमा संशोधित अभियोगपत्र दर्ता गराउने प्रक्रिया अघि बढाउनेछन् ।
यस निर्णयसँगै कास्की जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता हुनेछ । त्यस्तै, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा दर्ता भएका संगठित अपराधसम्बन्धी मुद्दा पनि फिर्ता लिइनेछन् । ती जिल्लामा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग समेत संगठित अपराधसँग जोडेर दर्ता गरिएको थियो ।
यद्यपि चितवन जिल्ला अदालतमा रवि लामिछानेविरुद्ध संगठित अपराध वा सम्पत्ति शुद्धीकरणसम्बन्धी कुनै पनि मुद्दा दर्ता नभएकाले त्यहाँ अभियोगपत्र संशोधन गर्ने कुनै निर्णय गरिएको छैन । चितवनमा उनीविरुद्ध सहकारी ठगीसँग सम्बन्धित मुद्दा मात्र विचाराधीन रहेको जनाइएको छ । महान्यायाधिवक्ता कार्यालयको यो निर्णयले लामिछानेमाथि लगाइएका अभियोगहरूको दायरा संकुचित भएको भए पनि सहकारी ठगीसम्बन्धी मुद्दा भने निरन्तर अघि बढ्ने भएकाले कानुनी प्रक्रिया अझै समाप्त भइसकेको छैन । अब संशोधित अभियोगपत्र अदालतमा दर्ता भएपछि ती मुद्दाहरू औपचारिक रूपमा फिर्ता हुनेछन् भने बाँकी मुद्दामा अदालतको नियमित प्रक्रिया अघि बढ्नेछ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।





































