माघे संक्रान्तिसँगै नेपाली हलमा तीन नयाँ चलचित्र प्रदर्शनमा

काठमाडौं । माघ महिनासँगै नेपालका सिनेमा हलमा फिल्मको भीड बढ्न थालेको छ । विहिबारदेखि तीन नेपाली फिल्म गोबर गणेश, भाइरल गोर्खे र मिरमिरे प्रदर्शनमा आउने तयारीमा छन्। यी तीनै फिल्म चर्चित कलाकारको अभिनयमा आधारित सामाजिक र पारिवारिक कथावस्तुमा केन्द्रित छन् ।

गोबर गणेशमा मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ स्टारर फिल्ममा आमालाई खुसी पार्ने सपना बोकेको युवक गाउँबाट सहरमा आउँछ । सहरमा धोका, अपमान र एक्लोपनको सामना गर्नुपर्छ । आमाको र प्रेमिकाको हौसलाले उसलाई चुनौतीहरूको सामना गर्ने साहस दिन्छ । फिल्ममा वर्षा शिवाकोटी, पूजन घिमिरे, सीतादेवी तिमल्सिना र पदम तामाङको अभिनय रहेको छ । १४० मिनेटको यस फिल्मले देशव्यापी ११२ शोज पाएको छ । निर्देशक मरिचमान श्रेष्ठले सेन्सर बोर्डबाट सकारात्मक प्रतिक्रिया पाएकोमा खुशी व्यक्त गरेका छन् । फिल्मको पोस्टर, ट्रेलर र गीतले पनि दर्शकबीच राम्रो हाइप पाएको छ ।

भाइरल गोर्खेमा सृष्टि श्रेष्ठ र सौगात मल्ल मुख्य भूमिकामा छन् । सामाजिक सञ्जालमा भाइरल बन्न खोज्ने प्रवृत्ति र त्यसले ल्याउने व्यक्तिगत तथा सामाजिक असरको कथा प्रस्तुत गरिएको छ। १४६ मिनेटको यो फिल्मले विहिबार १०७ शोज पाएको छ । निर्माण टोलीले दर्शकलाई मनोरञ्जन र सामाजिक सन्देश दुबै दिन तयार रहेको बताएका छन् । प्रिमियरमा उपस्थित दर्शकहरूले निर्देशक निगम श्रेष्ठको निर्देशन र सौगात–सृष्टिको अभिनयको प्रशंसा गरेका थिए ।

मिरमिरेमा दयाहाङ राई र प्रकाश सपूतले मुख्य भूमिका निर्वाह गरेका छन् । पारिवारिक र प्रेमकथामा आधारित १०५ मिनेटको यो फिल्मले बुवा र छोरीबीचको भावनात्मक सम्बन्ध र जिम्मेवारीको कथा प्रस्तुत गर्छ र यो चलचित्रले १३० शोज पाएको छ । आमाले घर छोडेपछि बुवा र छोरीले घरको काम, छोरीको स्याहार र आफ्नो जागिरको सन्तुलन कसरी मिलाउँछन् भन्ने कुरा फिल्मको मुख्य विषय हो । फिल्ममा दर्शकले बुवा–छोरीको माया र त्यागलाई महसुस गर्ने अपेक्षा गरिएको छ ।

तीनै फिल्म देशभरका मल्टीप्लेक्स र सिंगल स्क्रिन हलमा प्रदर्शनमा छन् । दर्शकहरूले आफ्नो रुचि र कथावस्तु अनुसार फिल्म छनोट गर्न सक्ने सुविधा पाउनेछन् । निर्माण पक्षले दर्शकको सकारात्मक प्रतिक्रिया र उत्साहजनक समर्थनको अपेक्षा राखेको छ ।

माघको सुरुवातसँगै नेपाली फिल्मप्रेमीले हलमा बसेर मनोरञ्जन, सामाजिक चेतना र पारिवारिक सम्बन्धको अनुभव लिन पाउने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ । यी फिल्मले दर्शकमा मनोरञ्जन दिने मात्र नभई सामाजिक र पारिवारिक मूल्यको महत्व बुझाउने अपेक्षा गरिएको छ ।