अमेरिका । अमेरिकाले आप्रवासनसम्बन्धी कडाइलाई थप विस्तार गर्दै ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरेको छ ।
यो स्थगन ब्राजिल, कोलम्बिया, इजिप्ट, हाइटी, सोमालिया र रुससहितका देशहरूमा लागू हुनेछ । यसले रोजगारीका लागि वा परिवारसँग बस्नका लागि दिइने आप्रवासी भिसाहरूलाई समेट्छ । तर विद्यार्थी र पर्यटकजस्ता गैर–आप्रवासी भिसामा भने यो लागू हुँदैन । त्यसैले यस गर्मीमा अमेरिकामा आयोजना हुने विश्वकप हेर्न जानेहरूमा यो नियम लागू हुँदैन । एक अमेरिकी अधिकारीका अनुसार यो स्थगन जनवरी २१ बाट लागू हुनेछ ।
यो निर्णय गत वर्ष स्टेट डिपार्टमेन्टले “पब्लिक चार्ज” (सार्वजनिक बोझ) सम्बन्धी आप्रवासन कानुनअन्तर्गत थप कडाइ गर्न निर्देशन दिएपछि आएको हो । ट्रम्प प्रशासनले सार्वजनिक स्रोतमा बोझ पर्ने सम्भावना भएका आप्रवासीलाई लक्षित गर्न यो प्रावधान प्रयोग गरिरहेको छ ।
स्टेट डिपार्टमेन्टका प्रवक्ता टमी पिगटले बुधबार दिएको विज्ञप्तिमा भने, “स्टेट डिपार्टमेन्टले अमेरिकाका जनताको उदारताको दुरुपयोग गर्ने र संयुक्त राज्यमा सार्वजनिक बोझ बन्न सक्ने सम्भावित आप्रवासीलाई अयोग्य ठहर गर्न आफ्नो दीर्घकालीन अधिकार प्रयोग गर्नेछ ।”
उनले भने, “कल्याणकारी सुविधा र सार्वजनिक लाभ लिन सक्ने विदेशी नागरिकहरूको प्रवेश रोक्न आप्रवासन प्रक्रिया पुनःमूल्यांकन गरिँदै गर्दा यी ७५ देशबाट हुने आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोकिएको हो ।”
भिसा प्रक्रिया स्थगित गरिएका धेरै देशहरू यसअघि नै प्रशासनको विस्तारित यात्रा प्रतिबन्ध सूचीमा परेका थिए ।
एक अमेरिकी अधिकारीका अनुसार आप्रवासी भिसा प्रक्रिया स्थगित गरिएका देशहरू यसप्रकार छन् :
अफगानिस्तान, अल्बानिया, अल्जेरिया, एन्टिगुवा एन्ड बार्बुडा, आर्मेनिया, अजरबैजान, बहामास, बंगलादेश, बार्बाडोस, बेलारुस, बेलिज, भुटान, बोस्निया, ब्राजिल, बर्मा (म्यानमार), कम्बोडिया, क्यामरुन, केप भर्डे, कोलम्बिया, कोट दिभ्वार, क्युबा, डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो, डोमिनिका, इजिप्ट, एरिट्रिया, इथियोपिया, फिजी, गाम्बिया, जर्जिया, घाना, ग्रेनेडा, ग्वाटेमाला, गिनी, हाइटी, इरान, इराक, जमैका, जोर्डन, काजाखस्तान, कोसोभो, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, लाइबेरिया, लिबिया, म्यासेडोनिया, मोल्डोभा, मङ्गोलिया, मोन्टेनेग्रो, मोरक्को, नेपाल, निकारागुवा, नाइजेरिया, पाकिस्तान, रिपब्लिक अफ द कङ्गो, रुस, रुवान्डा, सेन्ट किट्स एन्ड नेभिस, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनाडिन्स, सेनेगल, सिएरा लियोन, सोमालिया, साउथ सुडान, सुडान, सिरिया, तान्जानिया, थाइल्यान्ड, टोगो, ट्युनिसिया, युगान्डा, उरुग्वे, उज्बेकिस्तान र यमन ।





































