नेपालमा एकीकृत डिजिटल स्वास्थ्य सूचना प्रणालीको पहल

काठमाडौं । नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्याङ्कहरुलाई एकीकृत गर्ने पहल सुरु भएको छ । ‘एशिएन इ–हेल्थ इन्फरमेशन नेटवर्क’को सहयोगमा स्वास्थ्य सेवा विभागले स्वास्थ्य तथ्याङ्कको सुदृढीकरणसम्बन्धी पहल सुरु गरेको हो ।

स्वास्थ्य तथ्याङ्कलाई डिजिटल गराई आम नागरिकले स्वास्थ्यसम्बन्धी सूचना सहज रुपमा उपलब्ध गराउने अवस्था सिर्जना गर्न खोजिएको यस पहलका प्रमुख विशेषत्र डा. झविन्द्र भण्डारीले जानकारी दिए । सो पहलका बारेमा जानकारी गराउने उद्देश्यले आज यहाँ आयोजित ‘नेपालमा स्वास्थ्य तथ्याङ्कको सुशासनका लागि मार्गचित्र’ विषयक कार्यशालामा उनले नेपालसहित भियतनाम र मङ्गोलियामा पनि यस किसिमको पहल सुरु गरिएको बताए ।

कार्यक्रममा विभागका व्यवस्थापन महाशाखाका प्रमुख केशव पण्डितले नेपालको संविधान र विभिन्न नीति, कानुनमा नागरिकका स्वास्थ्य अधिकारका बारेमा उल्लेख भए पनि त्यसको जानकारी आम नागरिकका सहज ढङ्गबाट पुग्न नसकिरहेको बताएका छन् । साथै नसकिरहेको अवस्थामा यस किसिमको पहल आवश्यक रहेको बताउँदै डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा पनि यसबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अधिवक्ता रुपनारायण श्रेष्ठले विद्यमान कानुनमा भएको स्वास्थ्यसम्बन्धी प्रावधान र त्यसलाई एकीकृृत र ‘डिजिटलाइज्ड’ गराउने क्रममा भएका पहलहरुका बारेमा जानकारी दिएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा विभागले चार वर्षअघि एकीकृत स्वास्थ्य प्रणालीसम्बन्धी दशवर्षे मार्गचित्र तयार गरी कार्यानवयनमा ल्याएको छ । यसमा समग्र स्वास्थ्य सूचना प्रणालीलाई एकीकृत र ‘डिजिटलाइज्ड’ गरी आम जनतालाई यसम्बन्धी सहज सूचना उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ ।

विश्वका अन्य देशमा जस्तै नेपालमा पनि कानुनी र नीतिगत तहमा स्वास्थ्य सूचनालाई आम जनताले सहज रुपमा उपयोग गर्नसक्ने क्षमताको विकास गर्न आवश्यक रहेको कार्यक्रमका सहभागीहरुले सुझाव दिएका थिए ।