कांग्रसजस्तै एमाले फुटाउन खोजेका थिए

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले फुट्नबाट जोगाएको बताएका छन्।

बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। एमालेलाई पनि अहिलेको नेपाली काँग्रेसको जस्तै गरी फुटाउन खोजिएको तर सफल नभएको बताए। पार्टीको महाधिवेशनले नेतृत्व चयन गरेर एमाले अहिले एकजुट भएको उनको दाबी छ।

अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा जनताको काम गर्दा आफूले सुत्न समेत नभ्याएको र सरकारका काम कारबाहीमा सधैँ तल्लीन रहेको दावी गरे। ओलीले भने, ‘प्रधानमन्त्री हुँदा सुत्न भ्याइँदैन थियो। काम त्यसरी गर्नुपर्छ। हामी आक्रमणको बीचमा छौँ‚ विरोधीहरू लागेका छन्। रबहादुरलाई जसरी बलजफ्ती निष्काशन भनेर गरेका छन् त्यस्तै त हाम्रो पार्टीमा पनि गर्न खोजेका थिए। कारबाही हुनुपर्छ, जिम्मेवार बन्नुपर्छ। यो अनुहार अगाडि लगाएर हिँड्न सकिँदैन भनेकै थिए। त्यसो भए जनता र कार्यकर्ताले फैसला गरून् भनेर एक वर्षअघि नै महाधिवेशन गर्‍यौँ। हाम्रो पार्टी एकजुट बनेको छ। महाधिवेशनले एउटा फैसला दिएको छ।’ अध्यक्ष ओलीले पहिला सबै राम्रो र अहिले सबै नराम्रो भन्ने गरी भाष्य निर्माण गर्न नहुने बताए।

ओलीले आफूहरूले नेपालमा नेपालीकै सरकार बनाउने र अरुको सरकार बनेमा संघर्ष गरेर ढाल्ने बताएका छन् । आफूहरू नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरूकै पालामा हुनुपर्छ भन्ने अभियानका अहिले पनि लागिरहेको स्पष्ट पारे । अध्यक्ष ओलीले नेपालमा नेपालीका सरकार हुनुपर्छ भन्नेहरूका घर र पार्टी कार्यालय छानीछानी आगो लगाइएको, कार्यपालिका, न्यायपालिका र राष्ट्रका मुख्य संरचना तथा राष्ट्रिय उद्योगहरू जलाइएको उल्लेख गर्दै अहिले थिति र विधिको शासन नभई जथाभावी शासन चलाइएको टिप्पणी गरे । “अहिले दुनियाँमा भइरहेको शासनको प्रतिबिम्ब नेपालमा देख्न सकिन्छ । अहिले कसैको सम्पति खाएको छ भने पनि मुद्दा लाग्दैन, हिजो लागेका अभियोग सच्याइन्छ र चुनावका लागि त्यस्ता मान्छेलाई हिरो बनाइन्छ,’’ अध्यक्ष ओलीले भने, “हामी नेपालमा नेपालको सरकार बनाउन चाहन्छौँ । अरुको सरकार बनाउन दिँदैनौँ । बन्यो भने ढाल्छौँ । यसबारे आजको नयाँ पुस्ता सचेत हुन आवश्यक छ, यो देश पुर्खाले लडेर स्वतन्त्र र सर्वभौम बनाएको देश हो । यसलाई बचाउनु हामी सबैको दायित्व हो ।’’

मुलुकलाई अस्थिर बनाउने योजनाअनुसार आफू नेतृत्वको सरकार अपदस्त गर्ने काम भएको बताएका छन् । केही व्यक्तिहरू आफूविरुद्ध चुनाव लड्ने भन्दै तामझामका साथ निर्वाचन क्षेत्रमा पुगेको प्रसंग उल्लेख गर्दै त्यसमा प्रयोग भएको पैसाको स्रोतप्रति प्रश्न उठाए । एमाले प्रतिक्रियावादीको दया, माया र कृपाले यहाँसम्म नपुगेको भन्दै ओलीले पार्टी संघर्षकै बलमा स्थापित भएको बताए । उनले वर्तमान सरकार गठन भएपछि विधिको शासन स्थापित हुन नसकेको धारणा राखे । अभियोग परिवर्तनका काण्ड गरेर महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कलंकित भएको भन्दै ओलीले हिनामिना भएको पैसा कसले तिर्छ भन्दै प्रश्न गरे । नेपाली कांग्रेसमा देखिएको विभाजनप्रति चिन्ता व्यक्त गर्दै उनले कांग्रेसलाई अदृश्य शक्तिले विभाजनको प्रयास गरेको बताए । यस्तै प्रयास एमाले विभाजनको बेलामा पनि भएको ओलीको भनाइ छ । अध्यक्ष ओलीले आफूहरू व्यक्तिगत स्वार्थका लागि नभई देशका निम्ति लडिरहेको भन्दै परिवर्तन भएको कुरालाई सबैले स्वीकार गर्नुपर्ने बताए । नेपाली समाज बिस्तारै विकृत हुँदै गएको उल्लेख गर्दै ओलीले त्यसको सुधारका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।