झापामा घर खोज्दैछन् बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) झापा–५ बाट प्रतिनिधिसभा सदस्यका रूपमा उम्मेदवार बन्ने तयारीमा जुटेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उनको बसोबास र चुनावी गतिविधिका लागि घर खोज्न थालेको छ ।

बालेनको सम्भावित उम्मेदवारीले झापा–५ को राजनीतिक माहोल तातेको छ भने रास्वपाले मैदानमा उत्रिन पूर्वतयारीलाई तीव्र बनाएको देखिन्छ । रास्वपा झापाका अध्यक्ष प्रकाश पाठकका अनुसार दमक नगरपालिका–३ स्थित क्याम्पस मोड आसपास दुई वटा घर भाडामा लिने विषय टुंगो लागिसकेको छ । ती घर बालेनको आवास र सम्पर्क कार्यालय प्रयोजनका लागि प्रयोग गरिनेछन् । यसका अतिरिक्त अर्को एउटा घर पनि खोजी भइरहेको उनले जानकारी दिए ।

‘बालेन शाह झापा–५ बाट उम्मेदवार बन्ने भएपछि उनको बसोबास, सम्पर्क कार्यालय र पार्टी गतिविधि सञ्चालनका लागि गरी तीन वटा घर खोजेका हौं । दुई वटा घर टुंगो लागिसकेको छ, अर्को पनि प्रक्रिया मै छ,’ पाठकले बताए ।

उनका अनुसार रास्वपाका केन्द्रीय तथा प्रदेश तहका नेता–कार्यकर्ता सहितको एउटा टोली आजै झापा–५ पुग्दैछ । उक्त टोलीले स्थानीय संगठन सुदृढीकरण, मतदाता भेटघाट र चुनावी रणनीतिबारे छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ । बालेन स्वयं पनि छिट्टै झापा पुग्ने तयारीमा रहेको र त्यसअघि आवश्यक भौतिक र संगठनात्मक पूर्वाधार तयार पार्न पार्टी सक्रिय भएको पाठकको भनाइ छ । बालेनको सम्भावित उम्मेदवारीलाई लिएर उनको नजिकका केही सामाजिक सञ्जाल इन्फ्लुएन्सरहरूले समेत झापा–५ मा सर्भेक्षण सुरु गरेका छन् । उनीहरूले यसअघि पनि प्रारम्भिक रूपमा जनमत बुझ्ने काम गरेको र अहिले उम्मेदवारी लगभग निश्चित भइसकेपछि थप विस्तृत सर्भेक्षण गरिरहेको बताएका छन् ।

स्थानीय मतदाताको धारणा, मुख्य मुद्दा र प्रतिस्पर्धी दलप्रतिको जनभावना बुझ्ने उद्देश्यले यस्तो अध्ययन भइरहेको बताइएको छ । बालेन झापा–५ बाट चुनाव लड्ने भएपछि काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिने तयारीमा रहेको स्रोतले जनाएको छ । स्थानीय तहको कार्यकारी जिम्मेवारी सम्हालिरहेको व्यक्ति संघीय संसद्को उम्मेदवार बन्ने भएपछि नैतिक र कानुनी दुवै हिसाबले राजीनामा आवश्यक हुने भएकाले त्यसको तयारी अघि बढेको बताइएको छ । बालेनको राजीनामासँगै काठमाडौं महानगरको नेतृत्वबारे पनि चासो बढेको छ ।

झापा–५ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रका रूपमा चिनिन्छ । ओलीले २०६४ सालको संविधानसभा निर्वाचनबाहेक यस क्षेत्रबाट पराजय भोगेका छैनन् । त्यसैले यो क्षेत्र एमालेको बलियो किल्लाका रूपमा लिइन्छ । यस्तै क्षेत्रमा बालेनको उम्मेदवारीले प्रत्यक्ष रूपमा ओलीसँग टक्कर हुने अवस्था सिर्जना हुने भएकाले यसलाई निकै अर्थपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ । निर्वाचन आयोगका तथ्यांकअनुसार झापा–५ मा १ लाख ६३ हजार ३७९ जना मतदाता रहेका छन् । यस क्षेत्रमा ६१ वटा मतदान स्थल र १८५ वटा मतदान केन्द्र तोकिएका छन् । ठूलो मतदाता संख्या र राजनीतिक रूपमा संवेदनशील क्षेत्र भएकाले यहाँको चुनाव परिणामले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने विश्लेषकहरूको धारणा छ ।

बालेनको उम्मेदवारीले परम्परागत दलहरूलाई चुनौती दिने मात्र होइन, युवा र स्वतन्त्र सोचका मतदातालाई आकर्षित गर्ने सम्भावना पनि देखिएको छ । सामाजिक सञ्जालमा बलियो उपस्थिति र काठमाडौं महानगरमा गरेका कामका कारण उनी चर्चित व्यक्तित्वका रूपमा स्थापित छन् । यही कारण झापा–५ को चुनाव आगामी निर्वाचनको सबैभन्दा चासोका साथ हेरिने प्रतिस्पर्धामध्ये एक बन्ने संकेत देखिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।