दक्षिण कोरियाको सियोलस्थित गुर्योङ बस्तीमा भीषण आगलागी

सियोल । दक्षिण कोरियाको राजधानी सियोलको गाङनाम जिल्लामा रहेको गुर्योङ बस्तीमा आज बिहान भीषण आगलागी भएको छ । आगलागी नियन्त्रणमा लिन करिब ३०० जना अग्निनियन्त्रक परिचालन गरिएको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन् ।

स्थानीय समयअनुसार बिहान करिब ५ः१० बजे आगलागी सुरु भएको थियो । आगो फैलिने जोखिम बढेपछि अधिकारीहरूले आगलागीको चेतावनी स्तर दोस्रो तहमा पुर्‍याएका थिए । आगो नजिकैको पहाडी क्षेत्रमा फैलिन सक्ने चिन्ताका कारण सुरक्षा सतर्कता बढाइएको थियो ।

आगलागीमा हालसम्म मानवीय क्षति नभएको जनाइएको छ । तर, गुर्योङ बस्तीका ४७ जना बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो । प्रभावित क्षेत्रमा करिब ११० जना बसोबास गर्दै आएका थिए ।

घटनास्थलबाट खिचेको फोटोमा बाक्लो कालो धुवाँ आकाशमा फैलिएको सामाजिक सञ्जालमा देखिएको छ । । आगलागीको कारण वृद्धा बासिन्दारूलाई धेरै असर गरेको र बस्ती छोड्न बाध्य बनाएको थियो ।

स्थानीय बासिन्दा ६९ वर्षीया किम ओक–इमले आफू सुतिरहेको बेला छिमेकीको फोनपछि आगलागीबारे थाहा पाएको बताइन् । “बाहिर निस्कँदा आगो फैलिसकेको थियो,” उनले भनिन् । उनले केही वर्षअघि आएको बाढीले सबै बगाएको स्मरण गर्दै अब आगलागीले घर नै नष्ट गर्ने डर लागेको बाताइन् ।

आगलागी नियन्त्रणका लागि ८५ वटा दमकल प्रयोग गरिएको भए पनि सहरमा फैलिएको धुँवा र धुलोका कारण हेलिकप्टर प्रयोग गर्न नसकिएको अधिकारीहरूले जनाएका छन् ।

दक्षिण कोरियाका सुरक्षा मन्त्री युन हो–जुङले सबै उपलब्ध जनशक्ति र उपकरण परिचालन गरी उद्धार र आगो नियन्त्रणमा पूर्ण ध्यान दिन निर्देशन दिएका छन् ।

गुर्योङ बस्ती गाङनाम जिल्लाभित्रै रहेको अव्यवस्थित आवास क्षेत्र हो, जुन सियोलको सबैभन्दा धनी क्षेत्रमध्ये एक मानिन्छ । यो बस्ती भविष्यमा अग्ला आवासीय भवन निर्माणका लागि पुनःविकास गरिने योजनामा रहेको छ ।

सन् १९७० र १९८० को दशकमा एसियाली खेलकुद र सियोल ओलम्पिकका लागि गरिएका ठूला विकास आयोजनाबाट विस्थापित परिवारहरू अनुमति बिना यहाँ बसोबास गर्न थालेपछि गुर्योङ बस्तीको विकास भएको सहर योजना प्रतिवेदनमा उल्लेख छ ।

प्लास्टिकका पाना, काठ र स्टाइरोफोमजस्ता सजिलै बल्ने सामग्रीबाट बनाइएका घरहरू बाक्लो रूपमा रहेका कारण यो क्षेत्र आगलागीको उच्च जोखिममा रहेको छ । सन् २०२३ मा भएको आगलागीपछि गरिएको मूल्यांकनले पनि यो जोखिम पुष्टि गरेको थियो ।

पुनःविकासका कारण अधिकांश बासिन्दा स्थानान्तरण भइसकेका भए पनि हालसम्म करिब ३३६ परिवार गुर्योङ बस्तीमै बसोबास गरिरहेका छन् ।