बालेन रास्वपाको वरिष्ठ नेता, घण्टीघरमा पदभार ग्रहण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आइतबार औपचारिक रूपमा पार्टीको जिम्मेवारी सम्हालेका छन् ।

रास्वपामा प्रवेश गरेको २१ दिनपछि उनले पार्टीको केन्द्रीय कार्यालय घण्टीघर पुगेर पदभार ग्रहण गरेका हुन् । बालेनको औपचारिक प्रवेशसँगै रास्वपामा नयाँ राजनीतिक गतिशीलता थपिएको छ ।

घण्टीघरस्थित केन्द्रीय कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायत शीर्ष नेताहरूले बालेनलाई स्वागत गरेका थिए । नेताहरूले उनलाई पार्टीमा स्वागत गर्दै आगामी दिनमा पार्टीलाई बलियो बनाउन बालेनको भूमिकाप्रति अपेक्षा व्यक्त गरेका छन् । कार्यक्रममा सीमित नेताहरूको उपस्थिति रहे पनि बालेनको आगमनलाई रास्वपाका लागि महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ ।पदभार ग्रहण गरेपछि बालेन शाह कार्यालयमा करिब १० मिनेट मात्रै बसेका थिए । आइतबार नै जनकपुरमा तय भएको एक महत्त्वपूर्ण बैठकमा सहभागी हुनुपर्ने भएकाले उनी छोटो समयमै कार्यालयबाट बाहिरिएका हुन् । पार्टी स्रोतका अनुसार जनकपुरमा हुने उक्त बैठक आगामी राजनीतिक रणनीति र संगठन विस्तारसँग सम्बन्धित रहेको बताइएको छ ।

बालेनले पदभार ग्रहण गर्नुअघि काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका थिए । स्थानीय तहको प्रमुख पदबाट राजीनामा दिएर उनी पूर्ण रूपमा राष्ट्रिय राजनीतिमा सक्रिय हुने संकेतका रूपमा यसलाई हेरिएको छ । मेयरको रूपमा उनको कार्यकाल विवाद, चर्चा र प्रयोगात्मक शैलीका कारण सधैँ चर्चामा रहँदै आएको थियो । काठमाडौँ महानगरपालिकामा मेयर रहँदा बालेनले शहरी व्यवस्थापन, अवैध संरचना हटाउने अभियान, प्रशासनिक सुधार र सार्वजनिक जवाफदेहितामा जोड दिँदै आएका थिए । उनका केही निर्णयले समर्थन पाउँदा केहीले आलोचना पनि गरेका थिए । यद्यपि, उनी युवा पुस्तामाझ लोकप्रिय नेताका रूपमा स्थापित भएका थिए । यही लोकप्रियता र स्वतन्त्र छविलाई लिएर रास्वपामा उनको प्रवेशलाई पार्टीका लागि ठूलो राजनीतिक पूँजीका रूपमा हेरिएको छ । रास्वपामा प्रवेश गरेसँगै बालेन शाहलाई पार्टीको ‘वरिष्ठ नेता’को जिम्मेवारी दिइएको छ । पार्टी नेतृत्वका अनुसार आगामी प्रतिनिधिसभा निर्वाचन र संगठन निर्माणमा उनको भूमिका निर्णायक रहनेछ । विशेष गरी शहरी क्षेत्र र युवा मतदातालाई आकर्षित गर्न बालेनको प्रभावकारी उपस्थिति उपयोगी हुने अपेक्षा गरिएको छ ।

पार्टी सभापति रवि लामिछानेले बालेनको आगमनले रास्वपाको वैकल्पिक राजनीतिक धारलाई थप बलियो बनाउने बताएका छन् । उनले पार्टीभित्र अनुभव र नयाँ सोचको संयोजन आवश्यक रहेको उल्लेख गर्दै बालेनको सक्रियताले संगठनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । बालेन शाहको औपचारिक पदभार ग्रहणसँगै अब उनी राष्ट्रिय राजनीतिमा कुन शैली र एजेन्डासहित अघि बढ्छन् भन्ने विषयमा व्यापक चासो देखिएको छ । मेयरको रूपमा देखिएको उनको कडा र प्रत्यक्ष शैली पार्टी राजनीतिमा कसरी अनुकूल हुन्छ भन्ने प्रश्न पनि उठिरहेका छन् । यद्यपि, समर्थकहरू भने बालेनको आगमनले रास्वपाको राजनीतिक यात्रामा नयाँ मोड आउने विश्वास व्यक्त गरिरहेका छन् ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।