यी नेता राष्ट्रिय सभा छोडेर लागे प्रतिनिधिसभातिर

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने उद्देश्यसहित राष्ट्रियसभाका तीन जना सदस्यले पदबाट राजीनामा दिएका छन् ।

नेकपाका वरिष्ठ नेता वामदेव गौतम, उपप्रधानमन्त्रीसमेत रहेका नारायणकाजी श्रेष्ठ र नेकपा एमालेकी नेतृ भगवती न्यौपानेले सोमबार राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष आफ्नो राजीनामा बुझाएका हुन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार उनीहरूले दिएको राजीनामा स्वीकृत भइसकेको छ ।

‘उहाँहरूले व्यक्तिगत कारण र आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि भन्दै राजीनामा दिनुभएको हो,’ प्रवक्ता गिरीले जानकारी दिए । उनका अनुसार राष्ट्रियसभा अध्यक्षसमक्ष बुझाइएका राजीनामा सदनको सोमबारको बैठक सत्र समाप्त भएपछि स्वीकृत गरिएको हो । राजीनामा स्वीकृत भएसँगै त्यसको औपचारिक जानकारी नेपाल सरकार र निर्वाचन आयोगलाई समेत पठाइसकिएको प्रवक्ता गिरीले बताए । ‘अध्यक्षज्यूसमक्ष राजीनामा दिनुभएको थियो । आजको सत्र समाप्त भएपछि राजीनामा स्वीकृत भएको जानकारी सरकार र निर्वाचन आयोगलाई लेखी पठाइएको छ,’ उनले भने ।

राजीनामा दिने तीनै जना सदस्यको राष्ट्रियसभा सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै थियो । कार्यकाल सकिन करिब एक महिना बाँकी रहँदै उनीहरूले पद त्याग गरेका हुन् । कानुनी प्रावधानअनुसार लाभको पदमा बहाल रहेको व्यक्ति प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नपाउने भएकाले उनीहरूले निर्वाचनअघि नै राजीनामा दिएको संसद् सचिवालयले जनाएको छ । वामदेव गौतम र नारायणकाजी श्रेष्ठ दुवै २०७४ सालको आम निर्वाचनमा प्रत्यक्षतर्फ पराजित भएपछि राष्ट्रियसभामा प्रवेश गरेका नेता हुन् । गौतम २०७४ को निर्वाचनमा बर्दिया–१ बाट पराजित भएका थिए । त्यसपछि तत्कालीन राष्ट्रपतिबाट उनी राष्ट्रियसभा सदस्यमा मनोनीत भएका थिए । लामो समयदेखि प्रत्यक्ष निर्वाचनमार्फत संसद्मा पुग्ने चाहना व्यक्त गर्दै आएका गौतम यसपटक प्रतिनिधिसभा निर्वाचनमा पुनः प्रतिस्पर्धा गर्ने तयारीमा जुटेका छन् । त्यस्तै, नारायणकाजी श्रेष्ठ पनि २०७४ सालको निर्वाचनमा गोरखाबाट पराजित भएपछि राष्ट्रियसभामा आएका थिए । हाल सरकारमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका श्रेष्ठ यसपटक सर्लाही–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारीमा छन् । पार्टी स्रोतका अनुसार श्रेष्ठको उम्मेदवारीलाई लिएर गठबन्धनभित्र छलफल भइरहेको छ ।

उता, नेकपा एमालेकी नेतृ भगवती न्यौपाने पनि प्रत्यक्ष निर्वाचनको तयारीसहित राष्ट्रियसभा सदस्य पदबाट बाहिरिएकी छन् । उनी तनहुँ–१ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने गरी मैदानमा उत्रिने तयारीमा रहेको एमाले स्रोतले जनाएको छ । न्यौपाने यसअघि पनि विभिन्न राजनीतिक जिम्मेवारी सम्हाल्दै आएकी नेतृ हुन् ।

तीन जना प्रभावशाली नेताहरूले एकैसाथ राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिएपछि आगामी प्रतिनिधिसभा निर्वाचनको राजनीतिक सरगर्मी थप बढेको छ । प्रत्यक्ष निर्वाचनमार्फत संसद्मा पुग्ने उनीहरूको प्रयासले सम्बन्धित निर्वाचन क्षेत्रको राजनीतिक समीकरणसमेत बदलिने अपेक्षा गरिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।