रास्वपा र बालेनले जनकपुरबाट दिएको सन्देश

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएको भोलिपल्ट नै बालेन्द्र शाह (बालेन) मधेस प्रदेशको राजधानी जनकपुर पुगे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका बालेनको जनकपुर सम्बोधनले नेपाली राजनीतिमा गहिरो तरंग पैदा गरेको छ ।

यसअघि राष्ट्रिय राजनीतिक मञ्चमा कमै देखिने बालेनले जनकपुरमा मैथिली भाषामै सम्बोधन गर्दै आफू केवल सहरको मेयर नभएर देशको नेतृत्वको वैकल्पिक दृष्टि बोकेर आएको सन्देश दिएका छन् । उनको भाषणमा मधेसको भावना, संघीयताको व्यवहारिक प्रयोग र देशको आर्थिक–सामाजिक रूपान्तरणका विषयहरू प्रमुख रूपमा उठान भए ।

काठमाडौं महानगरमा काम गर्दा हासिल गरेको अनुभवलाई राष्ट्रिय तहमा विस्तार गर्ने स्पष्ट अभिप्रायसहित उनले परम्परागत राजनीतिक ‘गालीगलौज’को शैली त्यागेर नीति, योजना र नतिजामुखी बहसको खाका प्रस्तुत गरे । मधेसी पहिचानलाई गर्वका साथ स्वीकार गर्दै उनले जनकपुरको धार्मिक र सांस्कृतिक सामर्थ्यलाई विश्व पर्यटन बजारसँग जोड्ने दीर्घकालीन भिजन सुनाए । उनको भाषणको सुरुवाती शैलीमै ‘कुरा होइन, काम’ मा विश्वास गर्ने उनको छवि अझ बलियो देखियो ।

काठमाडौंमा आफूले गरेका कामहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले जनतासँग काम गर्ने अवसर मागे । “मलाई काम गर्न दिनुहुन्छ त ?” भन्ने प्रश्नमार्फत उनले मतदातालाई जिम्मेवारी सुम्पिन आग्रह गरे । मिथिलाको सांस्कृतिक वैभवलाई आर्थिक अवसरसँग जोड्ने क्रममा उनले राम–जानकी विवाहस्थल भएर पनि नेपालीहरू ‘डेस्टिनेसन वेडिङ’का लागि विदेश जान बाध्य हुनु परेको अवस्थालाई विडम्बनापूर्ण भन्दै पर्यटन नीतिको असफलतामाथि प्रश्न उठाए । अयोध्यामा बढ्दो पर्यटक आगमनसँग जनकपुरको तुलना गर्दै उनले यहाँ वार्षिक एक करोड पर्यटक भित्र्याउन सकिने सम्भावना औँल्याए । मन्दिरको पूजा मात्र होइन, सम्पदाको व्यवस्थापन, सौन्दर्यीकरण र पूर्वाधार विकासमार्फत जनकपुरलाई विश्वस्तरीय पर्यटकीय गन्तव्य बनाउन सकिने उनको तर्क थियो ।

संघीयताविरोधी आरोपहरूलाई पनि उनले स्पष्ट रूपमा अस्वीकार गरे । संघीयतालाई अधिकारको विकेन्द्रीकरणसँग जोड्दै प्रदेशलाई अझ सशक्त बनाइनुपर्ने धारणा उनले राखे । जनकपुरको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्न काठमाडौं धाउनुपर्ने अवस्थालाई प्रशासनिक केन्द्रीकरणको चरम उदाहरण भन्दै उनले प्रदेश राजधानीलाई वास्तविक अर्थमा शक्तिशाली बनाउनुपर्ने आवश्यकता औँल्याए । “काठमाडौं अधिकार माग्न जाने ठाउँ होइन, दर्शन गर्न जाने ठाउँ मात्र बन्नुपर्छ,” भन्ने उनको भनाइले राज्यसत्ताको केन्द्रीकरण तोड्नुपर्ने स्पष्ट सन्देश दिएको देखिन्थ्यो ।

समाजवादबारे पनि उनले शास्त्रीय व्याख्याभन्दा व्यावहारिक र नतिजामुखी परिभाषा अघि सारे । महँगा निजी विद्यालय र अस्पतालमा विपन्न वर्गका लागि निश्चित प्रतिशत कोटा सुनिश्चित गर्नु नै वास्तविक समाजवाद हो भन्ने उनको तर्कले मध्यम र तल्लो वर्गका जनतालाई प्रत्यक्ष रूपमा छोयो ।

काठमाडौं महानगरमा मेयर हुँदा सुरु गरिएका छात्रवृत्ति र स्वास्थ्य सुधार कार्यक्रमलाई देशका ७५३ वटै पालिकामा विस्तार गर्ने योजना उनले सार्वजनिक गरे । यस भाषणको अर्को उल्लेखनीय पक्ष भनेको विपक्षी दल र नेतामाथि लक्षित आलोचना र गालीगलौजको पूर्ण अभाव थियो । नेपाली राजनीतिमा मञ्च पाउनासाथ प्रतिद्वन्द्वीलाई आक्रमण गर्ने परम्पराविपरीत बालेनले आफ्नो समय योजना, नीति र दृष्टिकोणमै केन्द्रित गरे । रास्वपाका अन्य नेताहरूले पुराना दल र नेतामाथि प्रहार गरिरहँदा पनि बालेन भने त्यस बाटोमा गएनन् ।

आफूलाई गर्वका साथ ‘मधेसी ठिटो’का रूपमा चिनाउँदै उनले जातीय राजनीतिभन्दा माथि उठेर फ्रेन्चाइजी क्रिकेट टिम ‘जनकपुर बोल्ट्स’को उदाहरण दिँदै मधेस र नेपालको एकताको सन्देश दिए । घण्टीमा भोट हाल्नु भनेको केवल एक व्यक्तिलाई जिताउनु नभएर देशमा “सही मान्छे, सही समय र सही सरकार”को सुरुवात गर्नु हो भन्ने उनको उद्घोषले जनकपुरको मञ्चबाट राष्ट्रिय राजनीतिमा नयाँ बहसको ढोका खोलेको देखिन्छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।