पोखरा । मेडिकल व्यवसायी दुर्गा प्रसाईं विवादमा आइरहन्छन् । उनी सोमबार पोखराबाट पक्राउ परे । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाई सोमबार लेकसाइडस्थित बाराहीघाटमा एक कार्यक्रमलाई सम्बोधन गर्न आएका थिए ।
आफ्नो भाषणका क्रममा प्रसाईंले विगतमा झैँ बैंक तथा वित्तीय संस्थाबारेमा टिप्पणी गरे । आफ्नै शैलीमा कटाक्ष गरे । केहीलाई मञ्चमा बोलाएर उनीहरूका पीडा सुने । अनि आफूले यो अभियानको थालनी गर्ने आँट गरेको सुनाए ।
उनी मञ्चबाटै भन्थे– मेरो नाम लिएर सीईओलाई भेट्नू । सहकारीपीडितलाई देखाउँदै भने, “यिनीहरूको पीडा यिनको आँसु कसले पुछिदिने ? न रविले पुस्छन्, न बालेनले । न गगन, न केपी, न शेरबहादुरले पुस्छन् । अब आउनेले त भेट्दै भेट्दैनन् ।“
त्यसपछि उनी राजा र हिन्दु धर्मप्रति केन्द्रित भए । भुइँमान्छेदेखि राजाको पीडाको समाधान आफैँले गरिदिनुपरेको बताए । “राजा खेदेपछि के भयो, हिन्दु संस्कृति खेदेपछि के भयो ? सबै सकियो हैन । मैले आज एउटा भुइँमान्छेको पनि आँसु पुछ्नुपर्ने, राजाको पनि आँसु पुछ्नुपर्ने ! कोही रहेनछ,“ प्रसाईंले भने, “भुइँमान्छेको पनि आवाज बोलिदिनुपर्ने, राजाको पनि बोलिदिनुपर्ने । म कस्तो बिलबखन्दमा परेँ भने नि !” केपी शर्मा ओली र प्रचण्डको संगतपछि उनीहरूबाट देश नचल्ने, नयाँबाट पनि देश नचल्ने भनेर आफू राजावादी भएको बताए । त्यसपछि मेची किनारमा पूर्वराजालाई लगेर यो अभियान सुरु गरेको उनले बताए ।
“तल आउँछु भुइँमान्छे रुन्छन्, माथि गएर राजालाई भेट्यो आँखाबाट आँसु झरिराखेको हुन्छ,“ प्रसाईंले भने, “यहाँ त राजाले पनि सुख पाएन, रैतीले पनि सुख पाएन ।” पछिल्लो समय नेपाली कांग्रेसको विशेष महाधिवेनबारे निर्वाचन आयोगले गरेको निर्णयलाई लिएर उनले विवादास्पद अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर आयोगले उनलाई कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको थियो । साथै, उनले सरकारी कार्यालयको वेवसाइटमा ह्याकिङमा पनि संलग्न भएको खुलेको थियो ।
प्रहरीले उनलाई कार्यक्रम हुनुअगाडि नै पक्राउ गर्न चाहन्थ्यो । तर, बाउन्सर र उनको आसपासमा जम्मा भएको भिडका कारण कार्यक्रम अगाडि उनलाई पक्राउ गरिएन । कार्यक्रम लगत्तै उनलाई नियन्त्रणमा लिने भनिए पनि बाराहीघाटमा भने सम्भव भएन । त्यसपछि प्रहरीले उनलाई विमानस्थल नजिकैबाट पक्राउ गरेको हो ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।



































