काठमाडौं । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले ई. प्रतिक अधिकारीलाई उम्मेदवार घोषणा गरेको छ।
पार्टीको निर्णयअनुसार अधिकारी दाङ–२ निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेका छन्। २६ वर्षका ई. प्रतिक अधिकारी दाङ जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूमध्ये सबैभन्दा कान्छा उम्मेदवार हुन्। उनी युवापुस्ताको प्रतिनिधित्व गर्ने आशास्पद नेताका रूपमा परिचित छन्।
राजनीति र आफ्नो व्यवसायलाई सँगसँगै अघि बढाउँदै आएका अधिकारी व्यवहारिक अनुभव र नीतिगत सोचको संयोजनसहित चुनावी मैदानमा उत्रिएका छन्।
पार्टीका अनुसार अधिकारीले रोजगारी सिर्जना, युवाको उद्यमशीलता प्रवर्द्धन, सुशासन, पारदर्शिता तथा दिगो विकासलाई आफ्ना प्रमुख एजेन्डा बनाएका छन्।
स्थानीय आवश्यकता र जनताको प्रत्यक्ष सरोकारका विषयलाई केन्द्रमा राखी संसदमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। प्रलोपा नेतृत्वले युवा, शिक्षित र ऊर्जाशील उम्मेदवारमार्फत जनताको विश्वास जित्दै वैकल्पिक राजनीतिको सशक्त आधार निर्माण हुने विश्वास व्यक्त गरेको छ।































