नेपाल स्पोर्ट्स समिट २०२६ घोषणा, विश्व खेल मञ्चमा नेपालको पहिचान विस्तार गर्ने लक्ष्य

काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय खेलकुदको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल स्पोर्ट्स समिट २०२६ (एनएसएस २०२६) आयोजना हुने भएको छ। नेपाल स्पोर्ट्स समिट कमिटीले आईतबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत समिटको औपचारिक घोषणा गरेको हो।

समिट आगामी २०२६ फेब्रुअरी ५ गते काठमाडौँस्थित सोल्टी होटल प्राइभेट लिमिटेडमा आयोजना हुनेछ। आयोजकका अनुसार यो नेपालकै पहिलो संरचित राष्ट्रिय खेलकुद सम्मेलन हो, जसले खेलकुदलाई कूटनीति, पर्यटन, लगानी र आर्थिक विकाससँग एकीकृत गर्ने लक्ष्य लिएको छ। समिटमार्फत नीति निर्माता, अन्तर्राष्ट्रिय प्रतिनिधि, लगानीकर्ता, कर्पोरेट नेतृत्व, खेल प्रशासक, सञ्चारकर्मी तथा खेल उद्योगका सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउँदै दीर्घकालीन अन्तर्राष्ट्रिय सहकार्यको ढोका खोल्ने अपेक्षा गरिएको छ।

समिटमा नेपालको खेलकुद प्रणालीलाई बहुआयामिक दृष्टिकोणबाट विश्लेषण गर्ने पाँच उच्चस्तरीय प्यानल छलफल सत्र सञ्चालन गरिनेछ। ती सत्रहरूमा खेल कूटनीति, खेल पूर्वाधार विकास, उदीयमान खेलहरूको प्रवर्द्धन, खेल सञ्चार तथा प्रसारणमा मिडिया र कर्पोरेट क्षेत्रको भूमिका, साथै डिजिटल खेल सामग्री र इन्फ्लुएन्सरमार्फत खेल कथावाचनजस्ता विषयमा केन्द्रित छलफल हुनेछ।

समिटका आयोजक आमिर अख्तरले नेपाल स्पोर्ट्स समिट २०२६ केवल एउटा कार्यक्रम नभई खेलकुद, कूटनीति, पर्यटन र आर्थिक विकासलाई जोड्ने राष्ट्रिय अभियान भएको बताए। उनका अनुसार समिटको उद्देश्य नेपालको खेल इकोसिस्टमलाई विश्वव्यापी अवसरहरूसँग जोड्दै अन्तर्राष्ट्रिय सहकार्यमार्फत देशको खेल भविष्यलाई रूपान्तरण गर्नु हो।

अर्का आयोजक भास्कर राजकर्णिकारले समिटले नीति निर्माता, लगानीकर्ता, खेल नेतृत्वकर्ता तथा अन्तर्राष्ट्रिय संस्थाबीच संरचित संवादको वातावरण सिर्जना गर्ने उल्लेख गरे। उनले नेपालसँग रहेको प्राकृतिक सम्भावना, युवा ऊर्जा र अन्तर्राष्ट्रिय सद्भावलाई व्यवहारिक साझेदारी र दीर्घकालीन विकासमा रूपान्तरण गर्न समिट महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

नेपाल स्पोर्ट्स समिट २०२६ मा कूटनीतिज्ञ तथा अन्तर्राष्ट्रिय मिसन, कर्पोरेट नेतृत्वकर्ता तथा विश्वव्यापी लगानीकर्ता, सरकारी अधिकारी तथा नीति निर्माता, अन्तर्राष्ट्रिय प्रतिनिधि तथा खेल उद्योगका विभिन्न सरोकारवाला पक्षहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।

समिटको मुख्य उद्देश्य नेपाललाई विश्वस्तरीय खेल पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नु, अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्नु र नेपालको खेल अर्थतन्त्र सुदृढ बनाउने दिगो साझेदारी निर्माण गर्नु रहेको छ। समिटका प्यानलिस्ट तथा कार्यक्रमका थप विवरणहरू क्रमशः नेपाल स्पोर्ट्स समिटका आधिकारिक डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ।