राष्ट्रिय सभामा कांग्रेस पहिलो दल

काठमाडौं । यो निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच गठबन्धन भएको थियो । १८ मध्ये एक पदमा भने नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध भएका थिए । नेपाली कम्युनिस्ट पार्टीले उमेदवारी दर्ता नगराउँदा थापा निर्विरोध भएका हुन् ।

१७ सिटका लागि आइतबार भएको निर्वाचनमा गठबन्धनका सबै उमेदवार निर्वाचित भए । कांग्रेसले ९, एमालेले आठ र जनता समाजवादी पार्टी नेपालले एक सिट पाएको छ । चुनावी तालमेलले कांग्रेसलाई ९ सिट फाइदा भएको छ । एमालेले कांग्रेससँग गठबन्धन गरेसँगै राष्ट्रियसभा सदस्यमा लाभ मिलेको हो । गठबन्धनबाट अन्तिम समयमा बाहिरिएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो विरासत जोगाउन सकेन । निर्वाचनमा तीन दलीय तालमेल हुँदा कोसीबाट थापा, सोमनाथ पोर्तेल र रोशनी मेचे निर्वाचित भएका छन् ।

मधेसबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान र रंजित कर्ण र महन्थ ठाकुर निर्वाचित भएका छन् । वाग्मती प्रदेशबाट गीता देवकोटा प्रेमप्रसाद दंगाल निर्वाचित भए । गण्डकीबाट सम्झना देवकोटा र जगत तिमिल्सिना निर्वाचित भए । लुम्बिनीबाट रामकुमारी झाँक्री, बासुदेव घिमिरे र चन्द्रबहादुर केसी निर्वाचत भएका छन् । कर्णालीबाट मीनासिंह रखाल, ललितजंग शाही निर्वाचित भएका छन् । सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती राष्ट्रियसभा सदस्य निर्वाचित भएका छन् ।
अब राष्ट्रियसभामा फागुन २० गतेबाट दलहरूको स्थान परिवर्तन हुनेछ । यसअघि राष्ट्रियसभामा कांग्रेसका १६ सदस्य थिए । गत पुस ३० गते सांसद बलदेव बोहोराको निधनले १५ सदस्यीय छ ।

अब यो चुनावमा ९ जना थपिएसँगै राष्ट्रियसभामा कांग्रेस २४ सिट हुनेछ । ठूलो दल अब नेकपा १७ सदस्यमा झर्नेछ । मनोनीत सांसद अन्जान शाक्यसहित एमालेको ११ सदस्य हुनेछन्, राष्ट्रियसभामा । राष्ट्रियसभामा जनता समाजवादी पार्टीका तीन, राष्ट्रिय जनमोर्चाका एक सांसद हुनेछन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट एक सांसद मनोनीत गर्नुपर्नेछ । बोहोराको निधनपछि रिक्त एक स्थानमा निर्वाचन गर्नुपर्ने छ ।

राष्ट्रियसभाको पहिलो निर्वाचन २०७४ फागुन २४ गते भएको थियो । राष्ट्रियसभामा पाँच दलको प्रतिनिधित्व हुँदा एमाले पहिलो दल बन्यो । एमालेबाट २९ सदस्य निर्वाचित भएका थिए । दोस्रो दल बनेको कांग्रेसबाट १३ सदस्य निर्वाचित भएका थिए । नेकपा एमालेसँग सहकार्य गर्दा पनि तेस्रो दल बनेको माओवादी केन्द्रबाट १० सदस्य निर्वाचित भएका थिए । राष्ट्रिय जनता पार्टी, नेपाल दुई, संघीय समाजवादी फोरमबाट दुई सदस्य निर्वाचित भएका थिए । ०७४ फागुन ८ गते राष्ट्रपतिबाट तीनजना सदस्य मनोनीत भएपछि राष्ट्रियसभा ५९ सदस्यीय बनेको थियो ।

मनोनीत हुनेमा एमालेबाट युवराज खतिवडा, विमला राई पौडेल थिए भने माओवादीबाट रामनारायण बिडारी थिए । मनोनीतसहित एमाले ३१ र माओवादीले ११ सिट पाएको थियो । राष्ट्रियसभामा गोलाप्रथाबाट सदस्यहरूको कार्यकाल निर्धारण भएको थियो । जसमा दुई, चार र ६ वर्ष कार्यकाल तय गरिएको थियो । राष्ट्रियसभाको निर्वाचन भएको तीन महिनामा नै दलहरूको हैसियत फेरिएको थियो । २०७५ जेठ ३ गते एमाले र माओवादीबीच एकीकरण भयो । एकता भएर बनेको नेकपा मनोनीतसहित ४२ सदस्यीय बन्यो । राष्ट्रियसभामा सबैभन्दा ठूलो दल नेकपा बन्यो ।

त्यस्तै, ०७६ वैशाख २३ गते संघीय समाजवादी पार्टी फोरम र नयाँ शक्तिबीच एकता भएर समाजवादी पार्टी गठन भयो । त्यतिबेला समाजवादी पार्टीसँग राष्ट्रियसभाका एक सदस्य थिए । उक्त पार्टी र राष्ट्रिय जनता पार्टी ०७७ वैशाख ११ गते एकता भयो । दुईबीच एकता भएर बनेको जनता समाजवादी पार्टी (जसपा)सँग राष्ट्रियसभामा तीन सदस्य थिए । त्यस्तै, ०७६ वैशाख २३ गते संघीय समाजवादी पार्टी फोरम र नयाँ शक्तिबीच एकता भएर समाजवादी पार्टी गठन भयो । त्यतिबेला समाजवादी पार्टीसँग राष्ट्रियसभाका एक सदस्य थिए । उक्त पार्टी र राष्ट्रिय जनता पार्टी ०७७ वैशाख ११ गते एकता भयो । दुईबीच एकता भए बनेको जनता समाजवादी पार्टी (जसपा)सँग राष्ट्रियसभामा तीन सदस्य थिए ।

०७६ माघ ९ गते राष्ट्रियसभाको दोस्रो निर्वाचन भएको थियो । १९ सदस्य दुईवर्षे कार्यकाल पूरा भएर बिदा भए । जसमा मनोनीत युवराज खतिवडाको पनि कार्यकाल सकिएको थियो । दुईवर्षे कार्यकाल पूरा हुनेमा नेकपाका मनोनीत एकसहित ९, कांग्रेसका सात, राष्ट्रिय जनता पार्टीका दुई र समाजवादीका एकजना थिए । १८ स्थानका लागि निर्वाचन भएको थियो । जहाँ नेकपा र राष्ट्रिय जनता पार्टीबीच चुनावी तालमेल भएको थियो । नेकपाले १६ सिट र जसपाले दुई सिट जितेको थियो । कांग्रेसले आफ्नै सात सिट पनि जोगाउन सकेन । नेकपालाई आठ सिट फाइदा भएको थियो । दुई वर्ष कार्यकाल पूरा हुँदा नेकपा ४९ सिटको बनेको थियो । ०७७ असोजमा वामदेव गौतम मनोनीत भएपछि नेकपा ५० सदस्यीय बनेको थियो ।

राष्ट्रियसभामा नेकपा ५० सदस्यीय बन्दा कांग्रेस ६ सिटसहित दोस्रो दल बनेको थियो । त्यस्तै जसपासँग तीन सिट थियो । तर, २०७७ फागुन २३ गते सर्वोच्चको फैसलाले एमाले र माओवादी पूर्ववतः अवस्थामा फर्किए । नेकपा विभाजित हुँदा एमाले मनोनीतसहित ३५ सदस्यीय बन्यो ।

माओवादी मनोनीतसहित १५ सदस्य बनेको थियो । कांग्रेस ६ सिटसहित तेस्रो बनेको थियो । जसपासँग तीन सिट थियो । नेकपा विभाजन हुँदा माओवादीबाट निर्वाचित रामबहादुर थापा बादल र चन्द्रबहादुर खड्का एमालेमै बसे । उनीहरू एमालेमै रहेपछि माओवादीले तिनलाई दल त्याग लगाउँदै कारबाही गर्‍यो । ती ठाउँमा २०७८ जेठमा उपनिर्वाचन भयो । उपनिर्वाचनमा बादलको स्थानमा नेकपा एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपालको सहयोगमा स्वतन्त्र उमेदवार खिमलाल देवकोटा निर्वाचित भए ।

लुम्बिनीमा खड्काको रिक्त पदमा कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित भए । एमालले एक सिट गुमाउँदा स्वतन्त्रको प्रवेश भएको थियो । उता, कांग्रेसले एक सिट बढाउँदै सात पुर्‍याएको थियो । २०७८ भदौ ९ गते एमाले र जसपा विभाजित भयो । ०७८ भदौ ९ गते एमालेबाट विभाजन भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भयो । राष्ट्रियसभामा एमालेका सातजना सदस्य एकीकृत समाजवादीमा आवद्ध भए । त्यस्तै जसपा विभाजन भई महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भयो । एक सदस्य लोसपामा आबद्ध भए । एमाले र लोसपा विभाजित हुँदा दलहरूको सिट संख्या फेरियो ।

एमालेको मनोनीत एकसहित २५ सदस्य, माओवादी १५, कांग्रेस सात, एकीकृत समाजवादी सात, जसपा दुई, लोसपा एक र स्वतन्त्र एक सिट रह्यो । मनोनीत वामदेव गौतमले ०७८ भदौ १९ गते एमाले छाडेर छुट्टै दल गठन गरेका थिए ।

तेस्रो निर्वाचन २०७८ माघ १२ गते भयो । २०७८ फागुन २० गते चारवर्षे कार्यकाल पूरा गर्ने राष्ट्रियसभाका २० सदस्य थिए । जसमा एमालेका आठ, कांग्रेसका तीन, माओवादीका चार, एकीकृत समाजवादीका चार सदस्य थिए । मनोनीत रामनारायण विडारीको पनि कार्यकाल चार वर्ष नै थियो । उक्त चुनावमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सत्ता गठबन्धन चुनावमा होमिएको थियो ।

जसमा गठबन्धनबाट एमालेले एक सिट मात्रै खोस्न सफल भएको थियो । कांग्रेस ६, माओवादी पाँच, एकीकृत समाजवादी पाँच, जसपा एक र जनमोर्चाले समेत एक सिट जितेका थिए । राष्ट्रियसभामा सात राजनीतिक दल र एकजना स्वतन्त्र उपस्थिति थियो । २०७८ फागुन २१ चुनावपछि पनि राष्ट्रियसभामा एमाले पहिलो दल थियो । एमाले एक मनोनीतसहित १८ सदस्यीय थियो । दोस्रो दलको रूपमा माओवादी एक मनोनीतसहित १६ सदस्य थिए । कांग्रेस १०, एकीकृत समाजवादी आठ, जसपा तीन, लोसपा एक, राजमो एक, स्वतन्त्र एक र मनोनीत (वामदेव गौतम) एक सिटको हैसियतमा रहे । माओवादी केन्द्रका नारायण दाहाल ०७८ चैतमा मनोनीत भए । एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त स्थानमा ०७९ माघ २५ गते उपनिर्वाचन भएको थियो । जसमा एमालेका कुमार दसौंदी निर्वाचित भएका थिए ।

२०८० फागुन २० गतेबाट एक मनोनीतसहित २० सदस्यको पदावधि सकियो । जसमा एमालेबाट एक मनोनीतसहित ९, कांग्रेसका चार, माओवादीका तीन, एकीकृत समाजवादीबाट दुई, जसपा एक र स्वतन्त्र एकको पदावधि सकिएको थियो । तीमध्ये ०८० माघ ११ गते १९ पदका लागि निर्वाचन भएको थियो । निर्वाचनबाट कांग्रेसका १० जना निर्वाचित भए । माओवादी केन्द्रका पाँच, एकीकृत समाजवादीका दुई तथा जनता समाजवादी पार्टी र नेकपा एमालेका एक–एकजना निर्वाचित भएका थिए ।

त्यससँगै राष्ट्रियसभामा दलहरुको स्थान फेरबदल भएको थियो । माओवादी १७ सिटसहित पहिलो दल बनेको थियो । कांग्रेस १६ सिटसहित दोस्रो बनेको थियो । त्यो परिणामसँगै एमालेको विरासत कमजोर बनेको हो । एमाले राष्ट्रियसभामा १० सिट तेस्रो दल बनेको थियो ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।