काठमाडौं । पर्यटन क्षेत्रमा लामो समयदेखि चल्दै आएको नक्कली उद्धार (फेक रेस्क्यु) को गम्भीर जालो खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानमा चार्टर फ्लाइट र नियमित उडानलाई नै उद्धार देखाएर विदेशी पर्यटकको बीमाबाट करोडौँ रुपैयाँ असुल गरिएको प्रमाण फेला परेको हो । सीआईबीले आइतबार लाजिम्पाटस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी अनुसन्धानको विवरण सार्वजनिक गरेको हो ।
सीआईबीका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीका अनुसार उद्धारको नाममा देखाइएका धेरै उडान वास्तविक उद्धार नभई नक्कली थिए । चार्टर फ्लाइटलाई रेस्क्यु देखाएर बीमाको रकम दाबी गरिएको मात्र होइन, नियमित उडानलाई समेत उद्धारका रूपमा प्रस्तुत गरिएको पाइएको छ । अनुसन्धानमा एउटै चार्टर फ्लाइटमा आएका धेरै पर्यटकलाई फरक–फरक समय र फरक–फरक स्थानबाट उद्धार गरिएको भन्दै छुट्टाछुट्टै बीमा दाबी गरिएको खुलेको छ । पदयात्रा सकिएपछि सामान्य रूपमा फर्कन सक्ने पर्यटकलाई हेलिकप्टर चार्टरमा काठमाडौं ल्याई त्यसलाई उद्धार देखाएर बीमा रकम असुल्ने गरिएको पाइएको सीआईबीले जनाएको छ । यसका लागि नक्कली समय तालिका, यात्रु विवरण र उद्धार रिपोर्टसमेत तयार पारिएको थियो ।
पछिल्लो पटक १ पुस २०८१ मा नक्कली उद्धारसम्बन्धी उजुरी परेपछि सीआईबीले विशेष कार्यदल बनाएर साढे दुई महिनासम्म गहिरो अनुसन्धान गरेको थियो । यसअघि १२ असोज २०८२ मा पनि यस्तै उजुरी परेको थियो । गृह मन्त्रालयले समेत फेक रेस्क्युका विषयमा सीआईबीलाई पत्राचार गरेपछि अनुसन्धानलाई तीव्र बनाइएको थियो । अनुसन्धानबाट विदेशी पर्यटकलाई लक्षित गरी केही ट्रेकिङ तथा ट्राभल कम्पनी, हेलिकप्टर कम्पनी, अस्पताल र पर्यटक गाइडको मिलेमतोमा नक्कली उद्धार हुँदै आएको खुलेको छ ।
सोही अभियोगमा हालसम्म ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरू माउन्टेन रेस्क्यु सर्भिस प्रालि, नेपाल चार्टर सर्भिस र एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्स प्रालिसँग आबद्ध सञ्चालक तथा व्यवस्थापकहरू हुन् । सीआईबीका अनुसार यी तीन कम्पनीबाट मात्रै ३१७ जना पर्यटकको नक्कली उद्धार गरिएको प्रमाण भेटिएको छ । माउन्टेन रेस्क्यु सर्भिसले सन् २०२२ देखि २०२५ सम्म १ हजार २४८ जना पर्यटकको उद्धार गरेको देखाए पनि तीमध्ये १७१ जना पर्यटकको उद्धार नक्कली रहेको पाइएको छ । यसमार्फत करिब १ करोड ३ लाख अमेरिकी डलर बीमा रकम दाबी गरिएको सीआईबीले जनाएको छ ।
नेपाल चार्टर सर्भिसले ४१७ जना पर्यटकको उद्धार गरेको दाबी गरेकोमा ७५ जना पर्यटकको उद्धार नक्कली भेटिएको छ । यसबाट करिब ८२ लाख अमेरिकी डलर बीमा रकम असुलिएको देखिएको छ । एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्सले ६०१ उद्धारमध्ये ७१ वटा नक्कली उद्धार देखाएर करिब ११ लाख ५३ हजार अमेरिकी डलर बीमा रकम लिएको सीआईबीको दाबी छ । हालसम्म यी तीन कम्पनीले मात्रै नक्कली उद्धारमार्फत करिब १९.६९ मिलियन अमेरिकी डलर बीमा रकम बुझेको देखिएको छ । नक्कली उद्धार बढेपछि विदेशी बीमा कम्पनीहरू घाटामा पर्न थालेका छन् । यसकै कारण हाल तीन वटा बीमा कम्पनीले नेपालका लागि बीमा प्रिमियम नै रोकेको सीआईबीका अधिकारीहरू बताउँछन् । केही बीमा दाबीहरू कम्पनीहरूले अस्वीकार गरी फिर्ता गरेकोसमेत पाइएको छ ।
सीआईबीका अनुसार उच्च हिमाली क्षेत्रमा पुगेपछि देखिने सामान्य उचाइजन्य लक्षणलाई गाइडहरूले गम्भीर बनाएर पर्यटकलाई डर देखाउने, हेलिकप्टर उद्धार माग गर्न बाध्य पार्ने र आफू अनुकूलका अस्पतालमा पठाएर बीमा दाबी गर्ने प्रवृत्ति देखिएको छ ।
सामान्य अवस्थामा केही तल झरेपछि आफैं ठीक हुने पर्यटकलाई समेत हेलिकप्टरमार्फत काठमाडौं ल्याउने गरिएको पाइएको छ । पक्राउ परेकामाथि संगठित अपराध, ठगी, लिखत किर्ते, आपराधिक लाभ र राज्यविरुद्धको कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको छ ।
मुलुकी अपराध संहिताका विभिन्न दफाअनुसार उनीहरूविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको सीआईबीले जनाएको छ । यस किसिमका गतिविधिले नेपालको अन्तर्राष्ट्रिय छवि, पर्यटन क्षेत्रको प्रतिष्ठा र वास्तविक उद्धारको पर्खाइमा रहेका पर्यटकको ज्यानसमेत जोखिममा पार्ने खतरा रहेको भन्दै सीआईबीले अनुसन्धान अझै विस्तार गरिने जनाएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।




































