नेपालमा निपाह भाइरसको जोखिम कति छ ?

काठमाडौं । छिमेकी मुलुक भारतमा निपाह भाइरस संक्रमणका घटना पुष्टि भएसँगै नेपाल पनि उच्च जोखिमको अवस्थामा रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । खुला सिमाना र दुवै देशबीचको बाक्लो आवतजावतका कारण संक्रमण नेपाल भित्रिन सक्ने सम्भावना बढेपछि सरकारले सतर्कता बढाउँदै जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न नागरिकलाई आग्रह गरेको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको पहिचान, नमुना संकलन र परीक्षणसम्बन्धी अन्तरिम निर्देशिका जारी गरेको छ । मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थालाई सतर्क रहँदै आवश्यक तयारी अवस्थामा बस्न निर्देशन दिएको मन्त्रालयका प्रवक्तासमेत रहेका आपतकालीन स्वास्थ्य विपद् व्यवस्थापन इकाइका प्रमुख डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

“भारतमा निपाह संक्रमण देखिएपछि नेपालमा पनि जोखिम बढेको छ,” डा. बुढाथोकीले भने, “खुला सिमाना भएका कारण संक्रमण सजिलै सर्न सक्छ, त्यसैले स्वास्थ्य संस्थालाई हाइअलर्टमा राखेका छौँ र सर्वसाधारणलाई जनस्वास्थ्यका नियम पालना गर्न आग्रह गरेका छौँ।”

ईडीसीडीले जारी गरेको निर्देशिकामा ज्वरोसँगै सास फेर्न गाह्रो हुने, चेतनास्तरमा परिवर्तन देखिने तथा हालै निपाह प्रभावित क्षेत्रको यात्रा गरेर आएका व्यक्तिलाई ‘शंकास्पद निपाह केस’का रूपमा वर्गीकरण गरी तत्काल परीक्षण प्रक्रिया अघि बढाउन भनिएको छ । यस्ता बिरामीलाई तुरुन्त आइसोलेसनमा राखी अस्पताल भर्ना गरिनेछ । उनीहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

गत जनवरी २०२६ मा भारतको पश्चिम बंगाल राज्यको बारासात क्षेत्रमा दुईजना नर्समा निपाह भाइरस संक्रमण पुष्टि भएको थियो । उनीहरू नारायण मल्टिस्पेसियालिटी अस्पतालमा कार्यरत थिए । चिकित्सकहरूका अनुसार दुवै नर्सको अवस्था गम्भीर छ — एकजना कोमामा छन् भने अर्की भेन्टिलेटरको सहारामा उपचाररत छन् । पश्चिम बंगालमा करिब १९ वर्षपछि निपाह भाइरस पुनः देखिएको हो । यसअघि सन् २००१ र २००७ मा पनि भारतमा निपाह संक्रमणका घटना पुष्टि भएका थिए । नेपालमा भने हालसम्म निपाह भाइरस संक्रमणको कुनै पनि केस पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरुवा रोग विशेषज्ञ तथा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार निपाह भाइरस एक जूनोटिक रोग हो, जसको संक्रमण पशुबाट मानिसमा सर्छ । “यो भाइरस मुख्य रूपमा फल खाने चमेरोमा प्राकृतिक रूपमा पाइन्छ,” डा. बास्तोलाले भने, “संक्रमितमध्ये केहीमा लक्षण नदेखिन सक्छ, तर गम्भीर लक्षण देखिएका बिरामीमा मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म पुग्ने भएकाले यो अत्यन्तै खतरनाक संक्रमण हो।”

उनका अनुसार निपाह भाइरसले मुख्यतया मस्तिष्कमा असर पुर्‍याउने (एनसेफलाइटिस) गर्छ । संक्रमण फल खाने चमेरो, संक्रमित सुँगुर, संक्रमित मानिससँगको नजिकको सम्पर्क तथा श्वासप्रश्वास र थुकको माध्यमबाट सर्न सक्छ । डा. बास्तोलाका अनुसार निपाह भाइरस मानव शरीरमा प्रवेश गरेपछि ४ देखि १४ दिनभित्र लक्षण देखिन थाल्छ । ज्वरो आउने, टाउको तथा मांसपेशी दुख्ने, घाँटी दुख्ने, वाकवाकी लाग्ने, बेहोस हुने र मस्तिष्कसम्बन्धी समस्या देखा पर्न सक्छ ।

यदि हालै निपाह प्रभावित क्षेत्रमा पुगेर फर्किएको व्यक्ति हो भने केही दिन घरमै आइसोलेसनमा बस्नुपर्ने सल्लाह दिइएको छ । साथै, चमेरोले टोकेको वा छोएको फलफूल नखाने, काँचो खजुरको जुस सेवन नगर्ने र जनावरको सम्पर्कमा जाँदा विशेष सतर्कता अपनाउन भनिएको छ । स्वास्थ्य विज्ञहरूका अनुसार निपाह भाइरसको हालसम्म कुनै खोप वा निश्चित औषधि उपलब्ध छैन । त्यसैले रोकथाम र सतर्कता नै एकमात्र प्रभावकारी उपाय हो ।

हात साबुनपानीले बारम्बार धुने, मास्कको प्रयोग गर्ने, सुँगुर फार्ममा काम गर्दा सुरक्षा उपाय अपनाउने तथा ज्वरो वा टाउको दुखाइ देखिएमा ढिला नगरी स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । ईडीसीडीको निर्देशिकाअनुसार जोखिम समूहमा पर्ने व्यक्तिमा गम्भीर लक्षण देखिएमा ‘सम्भावित निपाह केस’ मानी कडा निगरानी गरिनेछ । परीक्षणका लागि घाँटीको स्वाब, रगत, पिसाब तथा आवश्यक परे मस्तिष्क–मेरुदण्ड तरल (सीएसएफ) संकलन गरिनेछ ।

संकलित नमुनालाई जैविक सुरक्षा मापदण्डअनुसार २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ‘ट्रिपल प्याकेजिङ’ प्रणालीमार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) पठाइनेछ । त्यहाँ उच्च सुरक्षा प्रयोगशालामा रियल–टाइम पीसीआर परीक्षणमार्फत निपाह भाइरसको पुष्टि गरिने व्यवस्था गरिएको छ । स्वास्थ्य मन्त्रालयले ज्वरो आउने, सास फेर्न समस्या हुने वा बेहोस हुनेजस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सबै नागरिकलाई पुनः आग्रह गरेको छ ।

 प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।