काठमाडौं । म्यानमारको अदालतले त्यहाँ गैरकानुनी रूपमा सञ्चालन भइरहेका स्क्यामिङ केन्द्रमा काम गरिरहेका १८ जना नेपाली नागरिकलाई एक वर्ष श्रमसहित कैद सजाय सुनाएको छ ।
अदालतको फैसलाअनुसार उनीहरूले म्यानमारका कारागारमा बसेर एक वर्ष अनिवार्य श्रम गर्नुपर्नेछ । म्यानमारको विदेश मन्त्रालयमार्फत सोमबार (माघ १९ गते) प्राप्त पत्रमा उक्त निर्णयबारे जानकारी आएको म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले बताए ।
“१८ जना नेपालीलाई एक वर्षको श्रमसहित कैद सजाय भएको सूचना प्राप्त भएको छ । उनीहरू कुन अभियोगमा दोषी ठहर भए भन्ने विषयमा थप विवरण संकलन गरिरहेका छौँ,” राजदूत घिमिरेले भने । उनका अनुसार सजाय सुनाइएका सबै नेपाली पुरुष हुन् । उनीहरू म्यानमारको म्यावडी क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेका स्क्यामिङ केन्द्रमा कार्यरत अवस्थामा पक्राउ परेका थिए ।
केही समयअघि थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासबाट गएको टोली म्यानमार–थाइल्यान्ड सीमावर्ती क्षेत्रमा नेपालीहरूलाई उद्धार गर्न पुगेको थियो । सोही क्रममा म्यावडीबाट थाइल्यान्ड नजिक आइपुगेका नेपालीलाई स्थानीय सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाएका थिए । राजदूत घिमिरेका अनुसार ती नेपालीहरू विभिन्न प्रलोभनमा परेर स्क्यामिङ केन्द्रसम्म पुगेका थिए । “मानव तस्करको जालोमा परेर त्यहाँ पुगेका नेपालीहरू नै सजायमा परेका हुन्,” उनले बताए ।
मानव तस्करहरूले आकर्षक रोजगारी, उच्च तलब र सुरक्षित भविष्यको आश्वासन दिँदै ठूलो संख्यामा नेपालीलाई म्यानमारको म्यावडी तथा आसपासका क्षेत्रमा पुर्याउने गरेको पाइएको छ । म्यानमार र थाइल्यान्डस्थित नेपाली दूतावासले पटक–पटक चेतावनी जारी गरे पनि जोखिमपूर्ण यात्रा रोकिएको छैन । कतिजनालाई त्यस्ता स्क्यामिङ केन्द्रसम्म पुर्याइएको छ भन्ने यकिन तथ्यांक नभए पनि उद्धार गरिएका नेपालीहरूको संख्या हेर्दा समस्या गम्भीर बन्दै गएको देखिन्छ ।
पछिल्लो अढाई वर्षमा मात्रै म्यानमार र थाइल्यान्डस्थित नेपाली दूतावासले चार सयभन्दा बढी नेपाली नागरिकलाई स्क्यामिङ केन्द्रबाट उद्धार गरी नेपाल फर्काइसकेका छन् । थाइल्यान्डस्थित नेपाली दूतावासका अनुसार पछिल्लो अढाई वर्षमा कम्बोडिया–थाइल्यान्ड, म्यानमार–थाइल्यान्ड सीमा तथा लाओसका स्क्यामिङ केन्द्रबाट ३६५ जना नेपाली उद्धार गरिएका छन् । आर्थिक वर्ष ०८०/८१ मा ६८ जना, ०८१/८२ मा १५६ जना र चालु आर्थिक वर्ष ०८२/८३ मा हालसम्म १४५ जना नेपाली नेपाल फर्काइएका छन् ।
त्यसैगरी, म्यानमारस्थित नेपाली दूतावासले सोही अवधिमा ७४ जनाभन्दा बढी नेपालीलाई उद्धार गरेको जनाएको छ । उद्धारपछि नेपाल फर्किएका पीडितहरूको बयानअनुसार म्यावडी पुर्याइएपछि नेपालीलाई कम्पाउन्डभित्र बन्धक बनाई साइबर स्क्यामिङ, अनलाइन फ्रड र ठगीका गतिविधिमा जबर्जस्ती लगाइन्छ । पर्याप्त खानपान र बसोबासको सुविधा नदिई मानसिक तथा शारीरिक दबाबमा काम गर्न बाध्य पारिने उनीहरूको भनाइ छ । मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार पछिल्ला वर्षमा साइबर स्क्यामिङसम्बन्धी १६ वटा मुद्दा दर्ता भइसकेका छन् । तीमध्ये चार कम्बोडिया, तीन लाओस र नौ म्यानमारसँग सम्बन्धित रहेका छन् ।
ब्युरोको प्रारम्भिक अनुसन्धानले देखाएअनुसार नेपालीहरूलाई थाइल्यान्ड हुँदै ३६ घण्टासम्म सवारी साधनमा यात्रा गराई म्यानमारको केके–१ पार्क पुर्याइन्छ । त्यहाँ पुगेपछि कम्पनीका अधिकारीहरूले बिटकोइन लगानी, प्रेम सम्बन्धको जालो र अनलाइन ठगीमार्फत विदेशी नागरिकलाई फसाउने तालिम दिने गरेका छन् ।
पीडितहरूका अनुसार स्क्यामिङ केन्द्रमा पुगेपछि निश्चित ‘टार्गेट’ तोकिन्छ । लक्ष्य पूरा गर्न नसकेमा शारीरिक सजाय दिने, पानीको जार बोकाएर भर्याङ ओहोरदोहोर गराउने, कुटपिट गर्ने, करेन्ट लगाउने, अँध्यारो कोठामा थुन्ने तथा ‘फ्रग जम्प’ गर्न लगाउनेजस्ता अमानवीय व्यवहार गरिन्छ । त्यहाँबाट बाहिरिन खोज्दा आठ लाख रुपैयाँ तिर्नुपर्ने शर्त राखिने र रकम नबुझाएसम्म बन्धक बनाएर काममा लगाइने गरिएको पीडितहरूको भनाइ छ । कतिपय अवस्थामा दिनको १८ घण्टासम्म काम गर्न बाध्य बनाइने गरेको उल्लेख छ ।
गत मंसिर २४ गते बैंककस्थित नेपाली दूतावासले म्यावडीका स्क्यामिङ केन्द्रबाट ४७ जना नेपालीलाई उद्धार गरी नेपाल फर्काएको थियो । ती व्यक्तिहरू २६ जिल्लाका थिए, जसमा ४५ पुरुष र दुई महिला थिए । उनीहरूको उमेर १७ वर्षदेखि ४० वर्षसम्म रहेको र दुई महिनादेखि १८ महिनासम्म स्क्यामिङ केन्द्रमा राखिएको पाइएको छ । जिल्लागत विवरणले पूर्वदेखि पश्चिम नेपालसम्म मानव तस्करहरूको सञ्जाल फैलिएको पुष्टि गर्छ । पीडितहरू सामाजिक सञ्जाल, अनलाइन गेम खेल्ने समूह, चिनजानका व्यक्ति तथा साथीभाइमार्फत सम्पर्कमा आई म्यानमार पुगेका थिए ।
सुरुमा ह्वाट्सएप, भाइबर, मेसेन्जर, टिकटक र टेलिग्रामजस्ता माध्यमबाट काठमाडौंमै बसेर घण्टाको राम्रो कमाइ हुने प्रस्ताव आउने र त्यसपछि विदेशमा कल सेन्टर, अफिस वा कम्प्युटरसम्बन्धी कामको बहानामा स्क्यामिङ केन्द्र पुर्याइने गरेको पीडितहरूले बताएका छन् ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।




































