काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कोसी प्रदेशका निर्वाचनसँग सम्बद्ध अधिकारी र सुरक्षा प्रमुखहरूसँग निर्वाचनको तयारी, सुरक्षा व्यवस्था र समग्र अवस्थाबारे विस्तृत जानकारी लिएकी छन् ।
बिहीबार सोलुखुम्बु र भोजपुरको भ्रमण सम्पन्न गरी सुनसरीको इटहरी पुगेपछि प्रधानमन्त्री कार्कीले कोसी प्रदेशका प्रमुख प्रशासनिक तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँग छलफल गर्दै निर्वाचन व्यवस्थापनको अवस्था मूल्यांकन गरेकी हुन् । इटहरीमा आयोजित छलफल कार्यक्रममा प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि गरिएको तयारीको प्रशंसा गर्दै सबै निकायबीचको समन्वय र सहकार्यलाई निरन्तरता दिन निर्देशन दिइन् । उनले छोटो समयमा पनि उल्लेखनीय प्रगति भएको भन्दै सम्बन्धित सबै पक्षको मेहनत र प्रतिबद्धताको प्रशंसा गरिन् । “छोटो समयमा तपाईंहरूले राम्रो काम गर्नुभएको छ । यो सबैको समन्वयात्मक र एकीकृत प्रयासको प्रतिफल हो,” उनले भनिन्, “मैले आज जे जति जानकारी पाएँ र आफ्नै आँखाले पनि देखेपछि लाग्यो कि अब जनताले मत हाल्न मात्र बाँकी छ । अरु सारा तयारी सकिएको देखिन्छ ।”
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताइन् । उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबीच थप मजबुत समन्वय आवश्यक रहेको उल्लेख गर्दै कुनै पनि चुनौतीलाई सामूहिक प्रयासबाट समाधान गर्न आग्रह गरिन् । “सबै सुरक्षा निकाय एकताबद्ध र समन्वयात्मक रूपमा अघि बढ्नुपर्छ,” उनले भनिन्, “कुनै तत्त्वले निर्वाचनको वातावरण बिगार्न खोजेमा तत्कालै त्यसलाई निरुत्साहित गर्नुपर्छ ।” प्रधानमन्त्रीले विशेषगरी सामाजिक सञ्जाल र अन्य माध्यमबाट फैलिन सक्ने भ्रामक सूचना र अफवाहप्रति सतर्क रहन निर्देशन दिइन् ।
यस्ता गतिविधिले जनमानसमा भ्रम सिर्जना गर्ने र निर्वाचनको विश्वासनीयतामा असर पार्न सक्ने भन्दै समयमै पहिचान र नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिइन् । “सामाजिक सञ्जाल वा अन्य जुनसुकै माध्यमबाट पनि कसैले वातावरण बिगार्न खोज्न सक्छन्,” उनले भनिन्, “त्यस्ता तत्त्वलाई पहिचान गरी तत्काल निरुत्साहित गर्नुहोस् । यसमा कुनै सम्झौता नगर्नुहोस् । यतिखेर देशले निकास पाउनका लागि निर्वाचनभन्दा ठूलो कुरा अर्को कुनै छैन ।”
कार्यक्रममा कोसी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, नेपाल प्रहरीका नायब महानिरीक्षक विनोद घिमिरे, विभिन्न जिल्लाका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो । सहभागी अधिकारीहरूले हालसम्मको तयारी, सुरक्षा योजना, मतदान केन्द्रको व्यवस्थापन, सामग्री ढुवानी र कर्मचारी परिचालनको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
कार्यक्रमका क्रममा नेपाली सेनाको पूर्वी पृतना मुख्यालयका पृतनापति उपरथी गौरवकुमार केसीले कोसी प्रदेशको समग्र सुरक्षा अवस्था र निर्वाचनलाई लक्षित विशेष योजनाबारे प्रस्तुतीकरण दिएका थिए । उनले सम्भावित जोखिम, संवेदनशील क्षेत्र, सुरक्षा रणनीति र आपतकालीन व्यवस्थापन योजनाका विषयमा जानकारी गराउँदै सबै निकायबीच सहकार्य आवश्यक रहेको बताए ।
यसअघि प्रधानमन्त्री कार्कीले बिहीबार नै सोलुखुम्बुको नाम्चे र सल्लेरी तथा भोजपुर सदरमुकाम पुगेर स्थानीय प्रशासन, निर्वाचन अधिकारी र सुरक्षा निकायसँग छलफल गरेकी थिइन् । ती स्थानमा उनले मतदान केन्द्रको अवस्था, भौगोलिक चुनौती, सामग्री ढुवानीको कठिनाइ र स्थानीय जनप्रतिनिधिको भूमिका बारे जानकारी लिएकी थिइन् । दुर्गम र हिमाली क्षेत्रमा पनि समयमै सामग्री पुर्याउने र मतदातालाई सहज वातावरण उपलब्ध गराउने विषयमा उनले विशेष चासो व्यक्त गरेकी थिइन् । प्रधानमन्त्री कार्कीको कोसी प्रदेश भ्रमणलाई निर्वाचन तयारीको प्रत्यक्ष अनुगमन र सुधारको अवसरका रूपमा हेरिएको छ । यस भ्रमणले सम्बन्धित निकायलाई थप जिम्मेवार र सक्रिय बनाएको सरकारी अधिकारीहरूको भनाइ छ । सरकारले आगामी निर्वाचनलाई लोकतन्त्रको महत्वपूर्ण आधारका रूपमा लिँदै उच्च प्राथमिकताका साथ तयारी गरिरहेको सन्देश पनि यसबाट गएको छ ।
प्रधानमन्त्रीले इटहरीमै बसेर थप कार्यक्रमहरूमा सहभागिता जनाउने कार्यक्रम रहेको जनाइएको छ । उनले आगामी दिनमा पनि अन्य प्रदेशमा पुगेर निर्वाचन तयारीको अनुगमन गर्ने तयारी गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारको सक्रियता र सुरक्षा निकायको तयारीले आगामी निर्वाचन शान्तिपूर्ण र विश्वसनीय रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।




































