जसपाको चुनावी घोषणापत्र : ‘जनलोकपाल’ गठन, ५ वर्षमा ५० लाख रोजगारी

काठमाडौं । उपेन्द्र यादवनेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष यादवले घोषणापत्र सार्वजनिक गर्दै निःशुल्क शिक्षा र स्वास्थ्य, भ्रष्टाचारमुक्त राज्य, वैज्ञानिक कृषि आधुनिकीकरण, पूर्वाधार विकास र सामाजिक न्यायलाई प्रमुख प्राथमिकतामा राखिएको जानकारी दिए ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष यादवले देशमा विद्यमान आर्थिक असमानता, बेरोजगारी, भ्रष्टाचार र कमजोर सेवा प्रवाह अन्त्य गर्न नयाँ राजनीतिक सोच आवश्यक रहेको उल्लेख गर्दै जसपा नेपालको घोषणापत्र त्यसैको प्रतिविम्ब भएको दाबी गरे । उनले घोषणापत्र जनताको आवश्यकता र भविष्यको सम्भावनालाई केन्द्रमा राखेर तयार गरिएको बताए।

सार्वजनिक घोषणापत्रमा संविधान संशोधन गरी पहिचान र सामर्थ्यमा आधारित संघीयता कार्यान्वयन गर्ने, जनलोकपाल गठन गर्ने तथा नगदरहित अर्थतन्त्र लागू गर्ने प्रतिबद्धता गरिएको छ । पार्टीले संघीयताको प्रभावकारी कार्यान्वयनबाट प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाइने उल्लेख गरेको छ ।

स्वास्थ्य र शिक्षालाई मौलिक अधिकारका रूपमा सुनिश्चित गर्न विशेष योजना प्रस्तुत गरिएको छ। घोषणापत्रअनुसार हरेक प्रदेशमा एक सुपर स्पेसियालिटी अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिनेछ। साथै, हरेक स्थानीय तहमा सुविधासम्पन्न अस्पताल सञ्चालन गरिने र सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइने प्रतिबद्धता गरिएको छ । शिक्षा क्षेत्रमा शिशु कक्षादेखि विश्वविद्यालयसम्म निःशुल्क तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षालाई विस्तार गर्ने र अनुसन्धानमा लगानी बढाउने योजना अघि सारिएको छ ।

पार्टीले भ्रष्टाचार नियन्त्रणलाई मुख्य एजेण्डा बनाएको छ। घोषणापत्रमा शून्य सहनशीलता नीति अपनाउने, जनलोकपाल गठन गर्ने, २०४७ सालदेखि हालसम्मका प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्ने व्यवस्था गर्ने तथा पूर्ण रूपमा नगदरहित कारोबार प्रणाली लागू गर्ने प्रतिबद्धता गरिएको छ। यसका साथै सहकारी संस्थामार्फत ठगीमा परेका बचतकर्तालाई न्याय दिलाउने वाचा पनि गरिएको छ ।

कृषि क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्ने लक्ष्यसहित जसपा नेपालले वैज्ञानिक चक्लाबन्दी, सहकारी खेती, कृषि यान्त्रीकरण र भर्टिकल फार्मिङ प्रवद्र्धन गर्ने योजना प्रस्तुत गरेको छ। आगामी पाँच वर्षमा कृषि र सम्बद्ध क्षेत्रमा ५० लाख रोजगारी सिर्जना गर्ने, न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्ने, बाली बीमा, सस्तो कृषि ऋण र बजार पहुँच विस्तार गर्ने प्रतिबद्धता घोषणापत्रमा समेटिएको छ। चुरे संरक्षण, जलवायु अनुकूल कृषि प्रणाली र खाद्य सुरक्षालाई पनि प्राथमिकतामा राखिएको छ ।

सामाजिक न्याय र समावेशितालाई बलियो बनाउने उद्देश्यले दलित र महिलाका लागि छुट्टै निर्वाचन क्षेत्र आरक्षण, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायका लागि समान अधिकार सुनिश्चित गर्ने नीति अघि सारिएको छ। युवालाई लक्षित गर्दै रोजगारी सिर्जना, सीप विकास कार्यक्रम विस्तार र खेलकुद पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ। प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट तथा फुटबल रंगशाला निर्माण गर्ने योजना पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

घोषणापत्रमा पूर्वाधार विकासलाई तीव्रता दिने, सडक, पुल, ऊर्जा, खानेपानी र सिँचाइ आयोजनामा लगानी बढाउने, डिजिटल सेवा विस्तार गर्ने र सरकारी सेवा प्रवाहलाई छरितो बनाउने लक्ष्य राखिएको छ। साथै, उद्योग, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानीमैत्री वातावरण सिर्जना गरी निजी क्षेत्रसँग सहकार्य बढाइने उल्लेख गरिएको छ।

अध्यक्ष यादवले घोषणापत्र सार्वजनिक गर्दै जसपा नेपालले सत्ता होइन, सुशासन र जनताको जीवनस्तर सुधारलाई प्राथमिकतामा राख्ने स्पष्ट गरे । उनले पार्टीलाई जित दिलाएमा घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धता व्यवहारमा उतारिने विश्वास दिलाए । समग्रमा, जसपा नेपालको चुनावी घोषणापत्रले शिक्षा, स्वास्थ्य, कृषि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै समावेशी र विकासमुखी राजनीतिक एजेण्डा प्रस्तुत गरेको देखिन्छ । आगामी निर्वाचनमा यी प्रतिबद्धताले मतदाताको कति विश्वास जित्न सक्छन् भन्ने विषयले देशको राजनीतिक दिशालाई महत्वपूर्ण रूपमा प्रभावित गर्ने अपेक्षा गरिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।