काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विजयी भए पाँच वर्षभित्र पूरा गर्नुपर्ने लक्ष्य र योजनाहरू समेटिएको ‘नागरिक करार’ सार्वजनिक गरेको छ।
करार पत्रमा स्पष्ट उल्लेख छ, “यदि यी कामहरू पूरा भएनन् भने अर्को निर्वाचनमा मतदाताबाट राजनीतिक जिम्मेवारी लिनेछौं।” पार्टीले आफ्नो करारमार्फत बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र, सुधारिएको प्रदेश संरचना र पारदर्शी शासनप्रतिको प्रतिबद्धता व्यक्त गरेको छ। करारमा भ्रष्टाचार नियन्त्रण र असल शासनलाई पहिलो प्राथमिकतामा राखिएको छ।
यसअन्तर्गत रास्वपा ‘भ्रष्टाचार विरोधी महाअभियान’ सञ्चालन गर्दै नीतिगत, आचरणगत र संस्थागत सुधारमार्फत विश्वासयोग्य राज्य निर्माण गर्ने लक्ष्य अघि सारेको छ। सरकारी सेवाको डिजिटल डेलिभरी विस्तार, लाइसेन्स लगायतका सेवामा बिचौलियाको नियन्त्रण, र २०८६ सम्म भ्रष्टाचार सूचकांकमा उल्लेख्य सुधार गर्ने प्रतिबद्धता पनि करारमा समावेश गरिएको छ। यसले नागरिकलाई सेवामा सहज पहुँच र पारदर्शिता सुनिश्चित गर्ने उद्देश्य राखेको छ।
मध्यम वर्ग विस्तारलाई दोस्रो प्राथमिकतामा राख्दै पार्टीले औसत वार्षिक प्रतिव्यक्ति आय ३,००० डलरभन्दा माथि पुर्याउने र कुल गार्हस्थ उत्पादनको आकार १०० अर्ब डलर नाघ्ने लक्ष्य तय गरेको छ। साथै गुणस्तरीय स्वास्थ्य सेवा र सार्वजनिक शिक्षामा सुधार, ‘एकीकृत सामाजिक सुरक्षा’ कार्यक्रम सञ्चालन, र आधुनिक वित्तीय सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्ने योजना पनि यसमा उल्लेख छ। रोजगार सिर्जना पार्टीको तेस्रो प्राथमिकतामा परेको छ। करार अनुसार, वैदेशिक पलायन घटाउने, औपचारिक र सुरक्षित रोजगारी विस्तार गर्ने, र पाँच वर्षमा १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य अघि सारिएको छ। यसका लागि आईटी, निर्माण, पर्यटन, कृषि, उद्योग र सेवा क्षेत्रलाई विशेष प्राथमिकता दिइने योजना उल्लेख गरिएको छ। पूर्वाधार विकाससम्बन्धी लक्ष्य पनि करारमा स्पष्ट उल्लेख गरिएको छ। पार्टीले पाँच वर्षभित्र गुणस्तरीय सडक सञ्जाल विस्तार, ऊर्जा उत्पादन वृद्धि र रणनीतिक परियोजना सम्पन्न गर्ने योजना अघि सारेको छ। पाँच वर्षभित्र १५ हजार मेगावाट विद्युत् जडान क्षमता र ३० हजार किलोमिटर सडक सञ्जाल विस्तार गर्ने लक्ष्य तय गरिएको छ। यसले मुलुकको आर्थिक विकास र लगानी वातावरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
प्रवासमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै अनलाइन नागरिक सेवा, दोहोरो नागरिकता सम्बन्धी बहस, र सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्ने प्रतिबद्धता पनि करारमा समावेश गरिएको छ। यसले विदेशमा रहेका नेपालीलाई सेवा सहज, पारदर्शी र सुरक्षित बनाउने पार्टीको दृष्टिकोण प्रस्ट पार्दछ। करार पत्रको अन्त्यमा पार्टीले स्पष्ट बहुमत पाए पनि पाँच वर्षभित्र उल्लेखित लक्ष्य हासिल गर्न नसके मतदातासमक्ष राजनीतिक जिम्मेवारी स्वीकार गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। यसले राजनीतिक जवाफदेहिता र पारदर्शितामा रास्वपाको दृढ प्रतिबद्धता देखाउँछ। समग्रमा, रास्वपाले आफ्नो निर्वाचन घोषणापत्रभन्दा पनि स्पष्ट र कार्यसूचीमूलक ‘नागरिक करार’ तयार पारेर मतदातासमक्ष पाँच वर्षे लक्ष्य र जिम्मेवारी स्पष्ट पेस गरेको छ।
भ्रष्टाचार नियन्त्रण, मध्यम वर्ग विस्तार, रोजगार सिर्जना, पूर्वाधार विकास, डिजिटल सेवा र पारदर्शी शासन पार्टीको प्रमुख एजेन्डा बनेको छ। रास्वपाले मतदातासँग प्रतिवद्धता गरेको नागरिक करारले आगामी निर्वाचनमा पार्टीको जवाफदेहिता सुनिश्चित गर्ने उपकरणको रूपमा काम गर्ने अपेक्षा गरिएको छ। यसले मतदाता–पार्टी सम्बन्धलाई पारदर्शी, भरोसायोग्य र जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास पार्टीको रहेको छ। यस करारले मतदातालाई राजनीतिक योजनामा स्पष्टता र विश्वसनीयता प्रदान गर्ने लक्ष्य राखेको छ। पाँच वर्षभित्र उपलब्धि प्राप्त नगरेमा पार्टीले व्यक्तिगत वा सामूहिक रूपमा जवाफदेह बन्ने यस दस्तावेजको मुख्य सन्देश रहेको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।




































