उज्यालो नेपालको घोषणा पत्र : कार्यकारी नेतृत्व, संविधान संशोधन

काठमाडौं । कुलमान घिसिङको संरक्षकत्वमा गठन भएको उज्यालो नेपाल पार्टी ले ‘सुशासन, समृद्धि तथा सामाजिक न्याय’लाई आफ्नो मुख्य प्राथमिकता बनाएको छ।

आइतबार काठमाडौँमा सार्वजनिक गरिएको पार्टी घोषणापत्रमा पार्टीका केन्द्रीय सदस्य रिमा विश्वकर्माले पार्टीका मुख्य कार्यक्रम र उद्देश्यबारे जानकारी दिँदै, पार्टीको नारा “उज्यालो नेपाल, उज्यालो भविष्य, विकास, समृद्धि र सामाजिक न्याय हाम्रो लक्ष्य” रहेको जानकारी गराइन्।

घोषणापत्र अनुसार, उज्यालो नेपाल पार्टीले नेपाल र नेपालीको उज्यालो भविष्यका लागि राष्ट्रका सचेत, सक्षम, इमानदार र प्रतिबद्ध नागरिकहरूको सक्रिय सहभागिता सुनिश्चित गर्दै नेपालको राजनीतिक अभ्यासमा नयाँ युगको प्रारम्भ गर्ने उद्देश्य लिएको छ। पार्टीले सुशासन र पारदर्शिता अपनाउने बाचा गर्दै न्याय प्रणालीलाई लोकतान्त्रिक र पारदर्शी बनाउने प्रतिवद्धता व्यक्त गरेको छ। पार्टीको घोषणापत्रमा उल्लेख छ कि वर्तमान संविधानलाई स्वीकार्ने भए पनि केही व्यवस्थाहरू संशोधन गर्ने प्रस्ताव गरिएको छ। यसअन्तर्गत स्थिर सरकार निर्माण गर्न समानुपातिक समावेशी सुनिश्चित गरी निर्वाचन प्रणाली सुधार गर्ने, प्रदेश र स्थानीय तहको संख्या पुनरावलोकन गर्ने, र शासकीय संरचना सुधार्ने योजना अघि सारिएको छ।

उज्यालो नेपालले मन्त्रालयको संख्या पुनरावलोकन गर्ने, प्रदेशमा प्रत्यक्ष मुख्यमन्त्री चयन गर्ने व्यवस्था लागू गर्ने, र ५ सदस्यीय मन्त्रीमण्डल कायम गर्ने प्रस्ताव पनि गरेको छ। यसले प्रदेश प्रशासनलाई थप सक्षम, उत्तरदायी र जनमुखी बनाउने उद्देश्य राखेको छ। स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउने प्रावधान पनि पार्टीको घोषणापत्रमा समावेश गरिएको छ। यसले स्थानीय तहमा बढी पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। पार्टीले उच्च राजनीतिक चेतना, विचार र चिन्तन प्रणालीको प्रतिनिधित्व गर्ने उद्देश्यसहित सामाजिक न्यायको प्रत्याभूति गर्ने राजनीतिक अभ्यासलाई प्राथमिकतामा राखेको छ।

घोषणापत्रले उज्यालो नेपाल पार्टीको राजनीतिक दर्शन स्पष्ट पारेको छ। यसमा असल राजनीतिक संस्कार, शासकीय सुधार, समानुपातिक र समावेशी नीति, र नागरिक केन्द्रित शासन प्रणालीको पक्षमा दृढ प्रतिबद्धता व्यक्त गरिएको छ। पार्टीले न्याय, सुशासन, सामाजिक समावेशी र विकासमूलक नीति कार्यान्वयन गर्ने योजना अघि सारेको छ। कार्यक्रममा नेपाल सरकारका मन्त्री कुलमान घिसिङ र पूर्वमन्त्री सुमना श्रेष्ठ समेत उपस्थित थिए। कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूले उज्यालो नेपाल पार्टीलाई पारदर्शी, जवाफदेही र सामाजिक न्यायको प्रतिनिधि राजनीतिक दलका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

उज्यालो नेपाल पार्टीले राजनीतिक आदर्श, मूल्य मान्यता र सामाजिक न्याय सुनिश्चित गर्दै नेपालको राजनीतिक प्रणालीमा नयाँ दिशा दिने योजना अघि सारिरहेको छ। पार्टीले देशभर समानुपातिक समावेशी प्रणाली लागू गर्ने, प्रदेश र स्थानीय तहको पुनर्संरचना गर्ने, र गैरदलीय स्थानीय चुनावको वातावरण तयार गर्ने रणनीति अगाडि सारेको छ। समग्रमा, उज्यालो नेपाल पार्टीको घोषणापत्रले सुशासन, पारदर्शिता, समावेशिता, सामाजिक न्याय र विकासमूलक नीति लागू गर्ने स्पष्ट र ठोस योजना प्रस्तुत गरेको देखिन्छ। पार्टीले आगामी निर्वाचनमा आफ्नो प्रस्तावित कार्यक्रम कार्यान्वयन गर्दै लोकतान्त्रिक सुधार र उत्तरदायी शासन स्थापित गर्ने लक्ष्य राखेको छ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।