मुगु । हिमाली जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिका–२ स्थित मुगुम गाउँ यतिबेला सुनसान बनेको छ। हिउँद बढेसँगै चिसो अत्यधिक भएपछि यहाँका अधिकांश स्थानीय परिवारसहित तल्लो भेग (बेसी) झरेका कारण गाउँ खालीजस्तै देखिएको हो।
समुद्री सतहबाट उच्च उचाइमा रहेको मुगुम गाउँमा हिउँदको समयमा तापक्रम शून्य डिग्रीभन्दा तल झर्ने, पानी जम्ने र बाक्लो हिमपात हुने भएकाले जनजीवन कष्टकर बन्ने गर्छ। चिसोले दैनिक जीवन प्रभावित पार्ने, आगो र दाउराको अभाव हुने तथा स्वास्थ्य समस्या बढ्ने भएकाले स्थानीयहरू वर्षेनी केही महिनाका लागि बेसी बसाइँ सर्ने गरेका छन्।
गाउँका अधिकांश घरमा अहिले ताला लागेको छ। खाली घरका आँगनमा हिउँ जमेको छ भने बाटाघाटा, चौतारा र सार्वजनिक स्थलहरू सुनसान देखिन्छन्। मानवीय गतिविधि कम भएपछि गाउँको चहलपहल हराएको छ।
मुगुम गाउँमा करिब ३०० घरधुरी रहेका छन् भने ६०९ जना मतदाता रहेका छन्। तर हाल केही घरका सदस्य मात्र घर तथा पशुचौपायाको रेखदेख गर्न गाउँमा बसेका छन्। बाँकी परिवारका सदस्यहरू बालबालिका, वृद्धवृद्धा र बिरामीलाई सुरक्षित राख्न तथा सहज जीवनयापनका लागि बेसी झरेका हुन्।
स्थानीयका अनुसार हिउँदमा यहाँ बस्न निकै कठिन हुन्छ। चिसोका कारण बालबालिका बिरामी पर्ने, वृद्धवृद्धालाई स्वास्थ्य समस्या हुने तथा खाद्यान्न र दैनिक उपभोग्य वस्तु ढुवानी गर्न कठिन हुने भएकाले अस्थायी बसाइँ अनिवार्यजस्तै बनेको छ। विद्यालय सञ्चालनमा समेत समस्या आउने भएकाले विद्यार्थीहरू पनि अभिभावकसँगै बेसी जाने गरेका छन्।
हिमाली क्षेत्रमा सडक, स्वास्थ्य सेवा, न्यानो आवास, वैकल्पिक ऊर्जा र आवश्यक पूर्वाधारको अभावले मौसमी बसाइँसराइलाई थप बढाएको छ। स्थानीयले पर्याप्त सरकारी ध्यान र आधारभूत सुविधा उपलब्ध भएमा वर्षेनी हुने यस्तो बाध्यात्मक बसाइँ कम हुन सक्ने बताएका छन्।
हिउँदका महिनामा गाउँ सुनसान भए पनि यो अवस्था स्थायी भने होइन । फागुन–चैतदेखि मौसम केही न्यानो हुन थालेपछि बेसी झरेका स्थानीय पुनः आफ्नै गाउँ फर्कने गर्छन्। त्यसपछि फेरि गाउँमा खेतीपाती, पशुपालन र सामाजिक गतिविधि सुरु भएसँगै पुरानै चहलपहल फर्कने गर्दछ।
हरेक वर्ष दोहोरिने यस्तो मौसमी पलायनले हिमाली बस्तीको जीवनशैली, सेवा प्रवाह र स्थानीय अर्थतन्त्रमा प्रभाव पारिरहेको छ। चिसोका कारण खाली हुने मुगुम गाउँ हिमाली क्षेत्रको कठोर जीवनयापन र राज्यको सेवा–सुविधा अभावको यथार्थ बनेको स्थानीयको भनाइ छ।
































