ग्रीनल्यान्डपछि स्वालबार्डमा पनि महाशक्तिको चासो

लङइयरब्येन । अहिलेसम्म बाहिरी रूपमा कुनै त्रास वा असहजताको संकेत देखिएको छैन । स्वालबार्डका बासिन्दाहरू आफ्नो दैनिक जीवन सामान्य रूपमा बिताइरहेका छन्, यद्यपि यो नर्वेको द्वीपसमूह संयुक्त राज्य अमेरिका वा रुसले चाहना गर्न सक्ने अर्को आर्कटिक क्षेत्र बन्न सक्छ भन्ने अड्कलबाजी भइरहेको छ ।

‘आज ग्रीनल्यान्ड, भोलि स्वालबार्ड ?’ स्वालबार्डको मुख्य सहर लङइयरब्येनका नगरप्रमुख तेर्जे आउनेभिक भन्छन्, उनलाई यो प्रश्न धेरै पटक सोधिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विस्तारवादी महत्त्वाकांक्षाले आर्कटिक क्षेत्रमा विश्वव्यापी ध्यान तानेको छ, जहाँ भूरणनीतिक र आर्थिक दाउपेच बढ्दै गएको छ ।

‘आर्कटिक अब नक्साको शान्त कुनो रहेन,’ युरोपेली संघकी शीर्ष कूटनीतिज्ञ काजा कालासले फेब्रुअरीको सुरुवातमा उत्तरी नर्वेको ट्रोम्सोमा आयोजित सम्मेलनमा भनिन् । ‘यो अहिले विश्व शक्ति प्रतिस्पर्धाको अग्रपंक्ति बनेको छ ।’ लङइयरब्येन एक असामान्य स्थान हो । पहिले खानी समुदायका रूपमा रहेको यो ठाउँ अहिले पर्यटकीय गन्तव्य र शैक्षिक केन्द्र बनेको छ । यो पृथ्वीको सबैभन्दा छिटो तापक्रम बढिरहेको क्षेत्रमा पर्दछ ।

विश्वकै सबैभन्दा उत्तरी सहरमध्ये एक, मुख्यभूमि नर्वे र उत्तर ध्रुवको बीचमा अवस्थित लङइयरब्येनमा करिब २५ सय मानिस बस्छन् । जाडोमा चार महिना घाम नउदाई पूर्ण अन्धकारमा डुब्ने यो सहर, गर्मीमा भने चौबीसै घण्टा उज्यालोमा नुहाउँछ । यहाँ सहरबाहिर निस्कँदा ध्रुवीय भालुसँग सम्भावित भेट हुन सक्ने भएकाले अनिवार्य रूपमा बन्दुक बोक्नुपर्छ ।

रणनीतिक महत्व

केही राजनीतिक विश्लेषकहरूले ट्रम्पको आर्कटिक नियन्त्रण गर्ने चाहना ग्रीनल्यान्डभन्दा बाहिर स्वालबार्डसम्म विस्तार हुन सक्ने, वा रुसले पनि प्रतिस्पर्धामा यो द्वीपसमूह कब्जा गर्न खोज्न सक्ने बताएका छन् ।

समुद्रतलमुनि प्रशस्त स्रोत रहेको विश्वास गरिने स्वालबार्ड बेल्जियमभन्दा दोब्बर आकारको रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण स्थानमा अवस्थित छ । यसले तथाकथित ‘बियर ग्याप’ को उत्तरी भाग नियन्त्रण गर्दछ ।

सैनिक शब्दावलीमा ‘बियर ग्याप’ भन्नाले बारेंट्स सागर र नर्वेजियन सागर भेटिने समुद्री क्षेत्र जनाउँछ । यही क्षेत्र हुँदै कोला प्रायद्वीपमा आधारित रुसको उत्तरी जलसेनाका क्षेप्यास्त्र प्रक्षेपण गर्ने पनडुब्बीहरू एटलान्टिक महासागरको गहिराइतर्फ प्रवेश गर्छन् ।
स्टकहोमस्थित शान्ति अनुसन्धान संस्थानको युरोपेली सुरक्षा कार्यक्रमकी निर्देशक बार्बरा कुन्जले एएफपीसँग भनिन्, ‘स्वालबार्डको रणनीतिक सान्दर्भिकता टापुमा मात्र नभई वरिपरिको जलक्षेत्रमा निहित छ ।’

उनका अनुसार रुस आफ्नो आणविक प्रतिरोध क्षमताको सुरक्षा गर्न ,कसैले पनि उसको उत्तरी तट नजिक आउन नसकोस् भन्ने चाहन्छ । अर्कोतर्फ, संयुक्त राज्य अमेरिका रुसका पनडुब्बीहरूलाई अटलान्टिकमा प्रवेश गर्नबाट रोक्न चाहन्छन् ।

स्वालबार्ड सन्धि

करिब ५० देशबाट आएका लङइयरब्येनका बासिन्दाहरू यी अड्कलबाजीबीच पनि शान्त र संयमित छन् । दुकानमा काम गर्ने चार्लोट बाक्के–माथिसेनले एएफपीसँग भनिन्, ‘सायद हामी ग्रीनल्यान्ड र ट्रम्पसँग सम्बन्धित घटनाबारे अलि बढी कुरा गर्छौं, तर मलाई लाग्दैन कि हामी पहिलेभन्दा बढी चिन्तित छौं । हामी आफ्नै संसारमा छौं ।’ आफ्नो कार्यालयमा, जहाँ नगरप्रमुखको चेन ध्रुवीय भालुको जाँघको हड्डीसँगै सजाएर राखिएको छ, तेर्जे आउनेभिकले पनि त्यही भावना व्यक्त गरे ।

‘अवस्था जस्तो छ, त्यस्तै छ, तर म यसलाई खतरा मान्दिनँ,’ उनले भने । ‘यस टापुमाथि नर्वेको सार्वभौमिकतासँग हाम्रा मित्र राष्ट्र र छिमेकीहरू सन्तुष्ट छन् भन्नेमा म दृढ विश्वस्त छु ।’ उनले ‘छिमेकी’ भन्नाले स्वालबार्डको बारेंट्सबुर्ग सहरमा बस्ने करिब ३५० जना रुसी र रुसीभाषी युक्रेनीहरूलाई जनाएका हुन्, जुन करिब ४० किलोमिटर टाढा छ ।

झन्डै एक शताब्दीदेखि रुसी नियन्त्रणमा रहेको सानो खानी समुदाय बारेंट्सबुर्ग उत्तर एटलान्टिक सन्धि संगठनको क्षेत्रभित्र पर्दछ भन्ने कुरा विश्वास गर्न कठिन लाग्छ । सहरको केन्द्रमा लेनिनको अर्धमूर्ति छ, र सबै सूचनापट्टहरू सिरिलिक लिपिमा लेखिएका छन् ।

सन् १९२० मा हस्ताक्षर गरिएको सन्धिले स्वालबार्डमाथि नर्वेको पूर्ण र निरपेक्ष सार्वभौमिकता मान्यता दिएको छ । तर यसले चीन, रुस र संयुक्त राज्य अमेरिका लगायत करिब ५० हस्ताक्षरकर्ता देशका नागरिकलाई यहाँका स्रोतहरू उपयोग गर्ने समान अधिकार पनि दिएको छ ।

सन् २०१४ मा रुसले क्रिमिया आफ्नो नियन्त्रणमा लिएपछि नर्वेले स्वालबार्डमाथि आफ्नो नियन्त्रण कडा बनाउने प्रयास गरेको छ । उदाहरणका लागि, विदेशीलाई जमिन बिक्री रोक्नु र मतदान अधिकारमा व्यापक कटौती गर्नु ।

मस्कोले ओस्लोलाई स्वालबार्ड सन्धिको सम्मान नगरेको आरोप लगाउँदै पछिल्ला वर्षहरूमा उक्साहटपूर्ण गतिविधि बढाएको छ । उसले बारेंट्सबुर्गमा नाजी जर्मनीमाथि रुसको विजयको उत्सव मनाउँदै अर्ध–सैनिक झल्को दिने परेड आयोजना गरेको थियो र पिरामिडेन नामक अर्को सानो रुसी बस्तीमा अनुमति बिना विशाल आर्थोडक्स क्रस निर्माण गरेको थियो ।

जे पनि हुन सक्छ

ध्रुवीय भू–राजनीति अनुसन्धानकर्ता मिका ब्लुगेन–मेरेडले सम्भावित रुसी कब्जा प्रयासबारे प्रश्न गर्दा भने, ‘रुससँग अहिले अन्य बढी रणनीतिक प्राथमिकताहरू छन् र उसले लामो समयदेखि सञ्चालन गर्दै आएको मिश्रित गतिविधिभन्दा बाहिर थप तनाव बढाउने रुचि देखाएको छैन ।’ उनका अनुसार स्वालबार्डका सन्दर्भमा नर्वेका लागि आज संयुक्त राज्य अमेरिका ठूलो चिन्ताको विषय हुन सक्छ, किनकि त्यसले क्षेत्रको नाजुक सन्तुलन अस्थिर बनाउन सक्ने कदम चाल्ने सम्भावना बढी छ ।

‘हालको ट्रम्प प्रशासनमा जे पनि हुन सक्छ,’ उनले भने । लामो समयसम्म विज्ञहरूले आर्कटिक अपवादवाद भन्ने धारणा अघि सारेका थिए । अर्थात् यो क्षेत्र आफ्नै अलिखित सहकार्य , नियम भएको, भू–राजनीतिक प्रतिस्पर्धाबाट अछुतो शान्त क्षेत्र हो भन्ने विश्वास छ । तर अब, बार्बरा कुन्जका अनुसार, ‘उत्तरी क्षेत्र, कम तनाव’ को युग समाप्त भएको छ ।