रुफटफ भएको गाडी लिएर चुनावी प्रचार गर्न नपाइने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय सुरक्षा समितिले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने निर्णय गरेको छ । निर्वाचन प्रचार–प्रसारका क्रममा उम्मेदवारहरूले छत खुला गरेर हिँड्न मिल्ने ‘रुफटप भेहिकल’ प्रयोग गर्ने क्रम बढेपछि त्यसबाट सुरक्षा जोखिम उत्पन्न हुन सक्ने निष्कर्ष निकाल्दै समितिले त्यस्ता सवारीसाधन प्रयोगमा रोक लगाउने निर्णय गरेको हो ।

बिहीबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवारहरूको व्यक्तिगत सुरक्षा र समग्र निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले बैठकको निर्णयबारे जानकारी दिँदै भने, “निर्वाचन प्रचारका क्रममा छत खुला गाडी प्रयोग गर्दा उम्मेदवारहरू सीधै जोखिममा पर्न सक्ने सुरक्षा निकायहरूको निष्कर्ष छ । त्यसैले त्यस्ता भेहिकल प्रयोग गर्न निरुत्साहित गर्ने निर्णय गरिएको हो ।”

पछिल्लो समय विभिन्न जिल्लामा उम्मेदवारहरूले समर्थकको भीडसहित रुफटप गाडीमा उभिएर भोट माग्ने, झन्डा फहराउँदै र जुलुससहित प्रचार गर्ने प्रचलन बढेको छ । सुरक्षा निकायहरूले भने भीडभाड, आकस्मिक आक्रमण, ढुंगा प्रहार वा अन्य अप्रत्याशित घटनाबाट उम्मेदवारको सुरक्षामा खतरा हुन सक्ने आँकलन गरेका छन् । समितिले जिल्लास्तरमा समेत सुरक्षा निकायलाई सजग रहन र आवश्यक निर्देशन जारी गर्न आग्रह गरेको छ ।

बैठकमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका प्रतिनिधि तथा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले सहभागी थिए । प्रदेश सुरक्षा समिति र जिल्ला सुरक्षा समितिका प्रमुखहरू भर्चुअल माध्यमबाट बैठकमा जोडिएका थिए । बैठकले निर्वाचनको हालसम्मको सुरक्षा तयारी, संवेदनशील क्षेत्रको पहिचान, कर्मचारी परिचालन तथा मतदान केन्द्रको सुरक्षा व्यवस्थाबारे विस्तृत समीक्षा गरेको थियो । गृह मन्त्रालयका अनुसार देशभरका मतदान केन्द्रको वर्गीकरण, आवश्यक सुरक्षाकर्मीको खटनपटन, गस्ती परिचालन तथा आकस्मिक उद्धार योजना (कन्टिन्जेन्सी प्लान) तयार गरिएको छ ।

प्रवक्ता काफ्लेले निर्वाचनमा तटस्थता र निष्पक्षता कायम गर्न कर्मचारी परिचालनमै उच्च सतर्कता अपनाइने बताए । “कर्मचारीका कारण कुनै पनि प्रकारको दण्डहीनता हुन नदिने निर्णय गरिएको छ,” उनले भने, “निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरिनेछ र उल्लङ्घनका घटनामा तुरुन्त कारबाही गरिनेछ ।” केन्द्रीय सुरक्षा समितिले निर्वाचन अवधिभर जिल्ला सुरक्षा समितिको बैठक दैनिक बस्न निर्देशन दिएको छ । जिल्लामा देखिन सक्ने सम्भावित चुनौतीबारे दैनिक समीक्षा गर्दै आवश्यक निर्णय तत्काल गर्न भनिएको छ । साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायबीच समन्वयात्मक संयुक्त गस्ती बढाउनुपर्ने निष्कर्ष निकालिएको छ ।

निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू प्रचार अभियानलाई तीव्र बनाइरहेका छन् । भीडभाडयुक्त सभा, जुलुस र मोटरसाइकल र्‍यालीहरू पनि बढिरहेका छन् । यसै सन्दर्भमा सुरक्षा निकायहरूले प्रचार–प्रसारका कार्यक्रमलाई व्यवस्थित र सुरक्षित बनाउन स्थानीय प्रशासनसँग सहकार्य गर्न आग्रह गरेका छन् ।

गृह मन्त्रालयका अधिकारीहरूका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले सम्पूर्ण तयारी पूरा गरिरहेको छ । सुरक्षा निकायहरूले सम्भावित जोखिम न्यूनीकरणका लागि संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी बढाएका छन् । आगामी निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण चरणका रूपमा लिइएको छ । त्यसैले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउँदै मतदातालाई निर्भीक वातावरणमा मतदान गर्ने सुनिश्चितता दिलाउन सरकार प्रतिबद्ध रहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रक्षेपण राष्ट्रिय दनिकदेखि साभार।