यौन प्रकरण : बेलायती राजाका भाइ पक्राउ

काठमाडौं । बेलायतका राजा चार्ल्स त्रितियका आफ्नै भाइ एन्ड्रयू माउन्टब्याटन–विन्डसर पक्राउ परेका छन्। बीबीसीले उनी पक्राउ गरेको पुष्टि गर्दै बिहीबार बिहान इङ्ल्यान्डको नर्फोकस्थित स्यान्ड्रिङ्घम एस्टेटमा प्रहरी गाडीहरू पुगेका तस्बिरहरू सार्वजनिक गरेको छ। यो घटनाक्रम त्यतिबेला सामने आएको हो जब टेम्स भ्याली पुलिसले पूर्व प्रिन्सले यौन अपराधी जेफ्री एपस्टिनसँग गोप्य जानकारी सेयर गरेको उजुरीको अनुसन्धान गरिरहेको बताएको थियो।

एपस्टिन यौन प्रकरणमा मुछिएपछि लेबर पार्टीका नेता पिटर म्यान्डेलसनले दिए राजीनामा बेलायती महारानी एलिजावेथ द्वितियाका चार सन्तान छन्। जेठो छोरा चार्ल्स त्रितिय अहिले राजा छन्। छोरी एन राजकुमारी हुन्। अहिले पक्राउ परेका एन्ड्रयू तेस्रो सन्तान हुन्। उनका एक जना भाइ पनि छन्। एन्ड्रयूले कुनै पनि गलत काममा संलग्न रहेको कुरालाई निरन्तर अस्वीकार गर्दै आएका छन्।

प्रहरी अनुसन्धानमा पटक–पटक नाम देखिएपछि उनलाई यसअघि नै राजकुमार (प्रिन्स)को उपाधिबाट हटाइएको थियो। उनको आफ्नो दरबार ’रोयल लज’बाट निकाला गरिएको थियो। बीबीसीका अनुसार बिहीबार बिहान नर्फोकको स्यान्ड्रिङ्घममा केही सवारी साधनहरू देखिएका थिए। ती गाडीहरू चिह्नरहित पुलिस गाडी थिए। बेलायतको आधुनिक इतिहासमा राजकुमार पक्राउ परेको यो पहिलो पटक हो। अमेरिका, युरोप र एशियाका समेत शक्तिशाली व्यक्तिहरू मुछिएका यौन अपराधी जेफ्री एपस्टिनसँगको सम्बन्धलाई लिएर उनीमाथि थुप्रै आरोपहरू लागेका छन्।

बीबीसी न्युजका अनुसार अहिले उनलाई सार्वजनिक पद दुरुपयोगको शङ्कामा पक्राउ गरिएको हो। एन्ड्रयूको पक्राउपछि टेम्स भ्याली पुलिसले विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ — ’अनुसन्धानको क्रममा आज हामीले नर्फोकमा ६० वर्षभन्दा बढी उमेरका एक व्यक्तिलाई सार्वजनिक पदको दुरूपयोग गरेको शङ्कामा पक्राउ गरेका छौँ। बर्कशायर र नर्फोकस्थित ठेगानाहरूमा छापा मार्ने काम भइरहेको छ। ती व्यक्ति हाल पुलिस हिरासतमा छन्।’

राष्ट्रिय दिशानिर्देशअनुसार पक्राउ गरिएको व्यक्तिको नाम सार्वजनिक गर्न प्रहरी असमर्थ रहेको विज्ञप्तिमा उल्लेख छ। प्रहरी अधिकारी ओलिभर राइटले भनेका छन्, ’’हामी बुझ्छौँ कि यस मामिलामा सार्वजनिक चासो अत्यधिक छ। उचित समयमा हामी जानकारी सार्वजनिक गर्नेछौँ।’’ एन्ड्रयू माउन्टब्याटन बेलायतका राजा चार्ल्स त्रितियका आफ्नै भाइ हुन्। बकिङ्घम प्यालेसले भनेको छ राजाका भाइलाई अब एन्ड्रयू माउन्टब्याटन–विन्डसरका नामले चिनिनेछन्। एन्ड्रयूका अन्य शाही उपाधि यसअघि नै खोसिइसकेका छन्। (विभिन्न सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको)

प्रक्षेपण राष्ट्रिय दनिकदेखि साभार।