हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिग फागुन २६ देखि आयोजना हुँदै

काठमाडौं । हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिग आउदो फागुन २६ देखि चैत २८ गते सम्म सञ्चालन हुने भएको छ। नेपाल बास्केटबल संघको आयोजनामा हुने प्रतियोगिता काठमाडौंस्थित दशरथ रंगशाला कभर्ड हलमा आयोजना गरिनेछ।

३२ दिनसम्म चल्ने यस लिगमा आर्मी, काठमाडौं भ्याली कलेज हाउन्ड्स, टाइम्स इन्टरनेशनल कलेज, गोल्डेनगेट इन्टरनेशनल कलेज, प्लेबक्स, सोलो बास्केटबल, कीर्तिपुर र रोयल गरी आठ टोलीको सहभागिता रहनेछ। प्रतियोगिता डबल राउन्ड रोबिन प्रणालीमा खेलाइनेछ, जसअन्तर्गत प्रत्येक टोलीले एक–अर्कासँग दुई पटक प्रतिस्पर्धा गर्नेछ। शीर्ष स्थानमा रहने टोलीहरू प्लेअफ चरणमा प्रवेश गर्नेछन्।

खेलहरू साँझ ४ बजे र ७ बजे गरि दिनमा दुईवटा मात्र हुनेछन भने सम्पूर्ण खेलहरू एक्सन स्पोर्ट्समार्फत राष्ट्रिय प्रसारण गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले एक लाख हात पार्नेछन् । साथै, कुनै पनि टोलीमा दुईभन्दा बढी विदेशी खेलाडी समावेश गर्न नपाइने नियम लागू गरिएको छ ।

गत संस्करणको उपाधि भने टाइम्स बास्केटबल क्लबले जितेको थियो ।