काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले गम्भीर घुँडाको चोटका कारण जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको जनाउँदै उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्। साम्बाले सामाजिक सञ्जालमार्फत आफू पछिल्लो सात सातादेखि चोटका कारण मैदानबाहिर रहेको जानकारी दिँदै सोचेजस्तो समयमै शल्यक्रिया हुन नसकेको गुनासो गरेकी हुन्।
उनका अनुसार घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट राखिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर क्षति पुगेको छ, जसका कारण पुनः जटिल शल्यक्रिया आवश्यक परेको छ। यसअघि चोट लाग्दा अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वको पहलमा उपचारको सम्पूर्ण व्यवस्थापन र सहयोग भएको उल्लेख गर्दै उनले त्यसबेला आर्थिक तथा मानसिक दबाब नरहेको र समयमै पुनरागमन गर्न सकेको बताएकी छन्। तर यसपटक भने एन्फाबाट वाचा गरिएको सहयोग नपाएको उनको गुनासो छ। चोट लागेको तीन सातापछि क्लबको पहलमा शल्यक्रियाको मिति तय गरिए पनि एन्फाले आफ्नै तर्फबाट प्रक्रिया अघि बढाउने बताएको र त्यसपछि आवश्यक पहल नगरेको उनले उल्लेख गरेकी छन्।
उनका अनुसार पटक–पटक सम्पर्क प्रयास गर्दा पनि सम्बन्धित पदाधिकारीसँग सम्पर्क हुन कठिन भएको थियो। अघिल्लो साता एन्फा अध्यक्षले नै प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिँदै अधिकतम पाँच लाख रुपैयाँ नगद सहयोग गर्न सकिने र बाँकी प्रक्रिया आफैंले गर्नुपर्ने बताएको उनले जनाएकी छन्।
यसका कारण अघिल्लो प्रक्रिया रोकिएको र झन्डै दुई महिनापछि मात्रै पुनः शल्यक्रियाको मिति तय गर्नुपर्ने अवस्था आएको उनले बताएकी छन्। हाल उनी आबद्ध क्लबले न्युजिल्यान्डमै स्थानीय अस्पतालमा उपचार गराउन तयार रहेको जानकारी गराएको छ। तर पछिल्लो पटक कतारस्थित एस्पेटर अस्पतालमा उच्चस्तरीय उपचार गराएकाले पुनः त्यहीँ उपचार गराउने इच्छा रहेको उनले स्पष्ट पारेकी छन्। क्लबले बीमाबाट प्राप्त रकम उपलब्ध गराउने भए पनि शल्यक्रिया र करिब ७–८ महिना लामो पुनर्स्थापनाका लागि उक्त रकम अपुग हुने बताइएको छ। प्रारम्भिक अनुमानअनुसार उपचारमा करिब ८० हजार अमेरिकी डलर खर्च लाग्नेछ।
सरकारसमक्ष पनि उपचार सहयोगका लागि पहल भएको भए पनि प्रक्रिया अपेक्षाअनुसार अघि नबढ्दा शल्यक्रिया नगरी बस्ने विकल्प नभएको उनले बताएकी छन्। आफ्नो करियरमा सधैं कठिनाइ सामना गरेको स्मरण गर्दै उनले यसपटक पनि समर्थकको साथ आवश्यक परेको उल्लेख गरेकी छन्।
साम्बाले आफूले देशका लागि सधैं शतप्रतिशत योगदान दिएको र भविष्यमा पनि नेपालकै जर्सी लगाएर मैदान फर्कने प्रतिबद्धता दोहोर्याएकी छन्। इजरायल, फ्रान्स, न्युजिल्यान्ड र अष्ट्रेलियामा खेल्दा समेत राष्ट्रकै पहिचान बोकेको महसुस गरेको उल्लेख गर्दै उनले आर्थिक रूपमा अहिलेसम्म नआर्जेको ठूलो रकम उपचारका लागि आवश्यक परेको कारण आम समर्थकसँग सहयोगको याचना गरेको बताएकी छन्। “थाकेको हो, हारेको छैन,” भन्दै उनले पुनः एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कने अठोट व्यक्त गरेकी छन्।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।































