आमाले त्यागेको पञ्चको कथा : टेड्डी डलमै खोज्दैछ न्यानो काख

काठमाडौँ । आमाको काख प्यारो नलाग्ने को होला? एउटा शिशुले मात्र आमा खोज्दैन, जीवनको जुनसुकै उमेरमा पुगे पनि आमाको माया, आमाको काख उत्तिकै न्यानो हुन्छ। जीवन भोग्दै जाँदा कहाँ पुगिन्छ, कति भेटिन्छन्, कति छुट्छन् तर कहिल्यै नछुट्ने, नमेटिने भनेको चाहिँ आमाको माया र याद नै हो। चाहना भइरहने आमाको शितल छहारी, न्यानो काख अनी स्नेह। के यस्तो मान्छेलाई मात्र हुन्छ? कदापी होइन।

आमाको अँगालो, आमाको सुम्सुम्याइ, त्यो काखको भोको त जनावरलाई पनि उत्तिकै हुन्छ नी। यस्तै एउटा मन छुने दृश्य/भिडियो यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ। टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा एउटा सानो बाँदर (जापानी मकाक)को भोगाइ देखेर जो कोहीको मन अमिलो हुन्छ। कतिलाई त लाग्छ ‘आमाले यस्तो गर्न सक्छिन् ?’ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसबाट फरक–फरक सन्देश दिने टिप्पणी गरिरहेका छन्।

जापानको इचिकावा शहरस्थित एक चिडियाखानामा हुर्किरहेको एउटा निर्दोष बच्चा बाँदरको कहानीले धेरैलाई भावुक बनाउँछ। उसको नाम पञ्च हो। पञ्च अहिले सात महिनाको भयो तर उसको भोगाइले पुरै जीवनलाई उत्प्रेरित गर्नसक्छ, संघर्षमा बाँच्न सिकाउँछ। सानो बच्चाका लागि आमाको न्यानो काखको आवश्यकता, महत्व झल्काउने मात्र नभई जीवन संघर्षकै बीच पनि हुर्कन्छ भनेर धेरैलाई उसले प्रोत्साहित गरेको छ। भिडियोमा देखिएअनुसार, आफ्नी आमाको छेउमा पटक–पटक जान्छ। आमाले उसलाई हुत्याइदिन्छे।

यो क्रम एकपटक मात्र होइन बारबार चल्छ। ऊ निन्यारो, माया र टिठ लाग्दो र निरास हुन्छ, उसको केही लाग्दैन, उसलाई आमाले कसैगरी पनि अपनाउदिन। पञ्च गत जुलाई (२०२५) २६ मा जन्मिएको थियो। जन्मिएलगत्तै आमाले त्याग्दिएपछि एक्लो, कठिन यात्रा सुरु हुन्छ। आमाले छाडेपछि निकै डराउँछ, एक्लो र असुरक्षित महसुस गर्छ तर चिडियाखानाका कर्मचारी उसका लागि सहारा बनेर देखिन्छन्। उनीहरूले बच्चा बाँदरको हेरचाह गर्छन्, उसलाई खान, पिउन दिन्छन् र उसको नाम पञ्च राखिदिन्छन्। पञ्च आफ्नो आमा र अन्य बाँदरहरू नजिक जाने प्रयास गरिरहन्छ तर उसलाई ठूला बाँदरहरूले देख्नेवित्तिकै झम्टने, लखेट्ने गर्छन्। मानसिक र शारीरिक अवस्थामा निकै कमजोर हुँदै गएको उसलाई छुट्टै राखेर विशेष हेरचाह गरिन्छ। एकपटक त पञ्च बाँच्दैन जस्तो पनि लागेको थियो चिडियाखानाका कर्मचारीलाई। उनिहरूले उपाय लगाए। आमाको न्यानो अँगालो, सुरक्षाको अनुभूति नपाउँदै असहाय बन्न पुगेको कलिलो पञ्चलाई उसकी आमाको आभास दिलाउन एउटा खेलौना (टेड्डी–मंकी डल) दिइयो।

अब पञ्चलाई केही राहत मिल्यो। हामीले देख्दा भुवा/कपडाको खेलौना पञ्चका लागि (सायद) आमा थियो, सहारा थियो, न्यानो काख अनि सुरक्षित महसुस गराउने साथी बन्यो। जब अरू बाँदरहरू उसलाई झम्टिँदै लछार्छन्, भाग्दैभाग्दै पञ्च त्यही खेलौना च्याप्न पुग्छ, उसलाई लाग्छ ‘अब सुरक्षित छु।’ आफ्नो छातीमा कसेर समात्छ, आफूलाई छाड्ने आमा ठान्छ सायद अनी उसैसँग लुटपुटिन्छ, उसैमा टाँसिएर, गुटमुटिएर निदाउँछ। ऊ जहाँ जान्छ, अरु बाँदर लखेट्दा पनि त्यही टेडीलाई च्यापेर, सकिनसकि घिसार्दै भाग्छ तर छाड्नै खोज्दैन। खेलौनामात्र होइन, ऊ चिडियाखानाका कर्मचारीलाई निकै पछ्याइरहेको देखिन्छ। उसको यो मायालाग्दो हर्कत देख्दा धेरैको त आँखा नै रसाउँछ। खानेकुरा दिएर खेलौना नजिक छाड्दा पनि पञ्च तिनै कर्मचारीको खुट्टामा झुन्डिन पुग्छन्। कुरेरै उसको शरीरमा झ्याम्मिएर झुन्डिन्छ।

तर अब पञ्चलाई बानी परिसक्यो, उसले बाँच्न सिकिसकेको चिडियाखानाका कर्मचारी बताउँछन्। उसको स्वास्थ्य पनि राम्रो हुँदै गएको छ भने अरू बाँदरहरूको समूहमा कसरी बस्ने, कसरी लड्ने भनेर पनि उसले सिक्दैछ। कर्मचारीहरूको निरन्तर प्रयाससँगै अन्य बाँदरहरूले पनि विस्तार पञ्चलाई अपनाउन थालेका छन्। ऊ सँग खेल्न थालेका छन्, आफ्ना समूहहरूमा सामेल गराउन थालेका छन्। तर उसलाई अझै पनि जीवन्त, मायालु आमाको आवश्यकता परिरहने विज्ञ बताउँछन्।

युगान्डामा गोरिल्लाहरूको अध्ययनमा दशकौँको अनुभव बटुलेका हावर्डबाट प्रशिक्षित प्राइमाटोलोजिस्ट माइकल स्टर्न भन्छन्,‘हरेक प्राइमेटलाई बच्चा हुँदा माया गर्न केही चाहिन्छ र उनीहरूलाई पनि हामी मानवलाई जस्तै मायाको खाँचो छ।’हरेकजसो स्तनधारी प्राणीमा मान्छेको जस्तै आधारभूत भावनाहरू हुने र प्रत्येक बच्चालाई त्यो मायालु भावनाका लागि कोही चाहिन्छ भनेर विज्ञानले प्रमाणित गरिसकेको छ। ‘सामान्यतया प्राकृतिकरूपमै बच्चालाई आमाले कसरी हुर्काउनुपर्छ भन्ने महत्वपूर्ण हुन्छ’, उनी भन्छन्, ‘आमाले दिने स्नेह, आमाबाट पाउने माया, हेरचाह पञ्चले कहिल्यै पनि मान्छे वा खेलौनाबाट पाउने छैन।’

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।