जेनजी परिषद् गठन हुँदै, के गर्छ यसले ?

काठमाडौं । सरकारले जेन–जी परिषद् गठन गर्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । सरकार प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्याल ले बैठकका निर्णय सार्वजनिक गर्दै जेन–जी आन्दोलनसँग सम्बन्धित मागलाई संस्थागत रूपमा सम्बोधन गर्न परिषद् गठन गर्ने निर्णय गरिएको जानकारी दिए ।

जेन–जी आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारमाथि आन्दोलनका माग सम्बोधन गर्न ठोस पहल नगरेको भन्दै आलोचना हुँदै आएको छ। युवाहरूको सहभागिता, सुशासन, पारदर्शिता र नीतिगत सुधारका विषयमा उठाइएका मागप्रति सरकार गम्भीर नदेखिएको आरोप लागिरहेका बेला परिषद् गठनको निर्णय आएको हो। सरकारले परिषद्मार्फत आन्दोलनसँग सम्बन्धित विषयमा अध्ययन, संवाद र सिफारिस गर्ने बताएको छ ।

मन्त्रिपरिषद् बैठकले विमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा लगाउने जिम्मेवारी जिल्ला अदालतलाई तोक्ने निर्णय पनि गरेको छ। यस निर्णयले बीमा क्षेत्रसँग सम्बन्धित कानुनी विवादको सुनुवाइ र निर्णय प्रक्रिया थप स्पष्ट र व्यवस्थित हुने अपेक्षा गरिएको छ । त्यसैगरी, चीन सरकारबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरिएको छ। सरकारले उक्त सहयोग निर्वाचन व्यवस्थापन र आवश्यक पूर्वतयारीका लागि उपयोग गरिने जनाएको छ । चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम बूढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ। उक्त आयोजना राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइँदै आएको छ । यसैबीच, काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश डा. दिवाकर भट्टलाई काठमाडौँ जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष तोक्ने निर्णय गरिएको छ ।

सरकारले विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षका लागि लागू हुने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी, मिति २०८२/११/२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा २०८२ फागुन २० गतेदेखि २२ गतेसम्म तीन दिन देशभर सार्वजनिक बिदा दिने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको प्रवक्ता अर्यालले जानकारी दिए । सरकारका पछिल्ला निर्णयले प्रशासनिक, कानुनी तथा निर्वाचन व्यवस्थापनका विविध पक्षलाई समेटेको देखिन्छ । आगामी दिनमा यी निर्णयको कार्यान्वयन प्रक्रिया र प्रभावकारिता नै सरकारको मूल्यांकनको आधार बन्नेछ ।

प्रक्षेपण राष्ट्रिय दनिकदेखि साभार।