पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदानको दिन आउन नौ दिन मात्र बाँकी छ । मतदानको ४८ घण्टा अघिसम्म मात्र उमेदवारले आफ्नो चुनावी गतिविधिहरू प्रचारप्रसार र घरदैलो गर्न पाउँछन् ।
यतिबेला सिंगो देश नै चुनावमय बनेको छ । मतदाता रिझाउन उमेदवारहरू अनेक कार्य गरिरहेका छन् । कसरी हुन्छ निर्वाचन जित्ने ध्याउन्नमा सबै उमेदवार लागि पर्दा मनाङको दृश्य भने फरक छ । यही जिल्लाको मतपरिणाम सबैभन्दा पहिला सार्वजनिक हुन्छ । देशको सबैभन्दा कम मतदाता यहीँ छन् । तर, यहाँ दलहरू छुट्टाछुट्टै होइन, सँगै मत मागिरहेका छन् । त्यो पनि अर्को पार्टीको उमेदवारलाई । हो, मनाङको चुनावी गतिविधिमा कांग्रेसका उमेदवार टेकबहादुर गुरुङलाई मत माग्छन् एमाले र राप्रपाका नेताहरू । एमालेले यहाँ पोल्देन छोपाङ गुरुङलाई उमेदवार बनाएको थियो ।
राप्रपाले कुविरसिंह गुरुङलाई टिकट दिएको थियो । माघ ६ गते उनीहरूले उमेदवारी दर्ता पनि गराएका हुन् । तर, उमेदवारी फिर्ता लिने दिन माघ ९ सम्म आइपुग्दा पोल्देन र कुविर ‘चुनावी रेस’बाट बाहिरिए । यसको एउटा कारण छ । यहाँ मतदाताको मतभन्दा लामा गुरुहरूको रोहवरमा तानिएको ‘चिट्ठा’ निर्णायक बनेको छ । यही चिट्ठाको नतिजा स्वीकार गर्दै एमालेका उमेदवार पोल्देन छोपाङ गुरुङले प्रतिनिधिसभा सदस्यको उमेदवारी फिर्ता लिएका हुन् । राप्रपाका उमेदवार कुविरसिङ गुरुङ पनि बाहिरिए ।
चुनावमा हुने सम्भावित झैझगडा रोक्न भन्दै भ्राताङमा विशेष भेला डाकिएको थियो । त्यहाँ लामा गुरुहरूले दलहरूबीच सहमति गराउने प्रयास गरे । तर, कांग्रेसका टेकबहादुर र एमालेका पोल्देनबीच कुरा मिलेन । सहमति नजुटेपछि अन्तिममा भाग्य परीक्षा गरियो । दुवै नेताको अगाडि कचौरा राखेर चिट्ठा तानियो । चिट्ठाको नतिजा कांग्रेसको पक्षमा आयो । नतिजा आएपछि एमाले उमेदवारी फिर्ता लिन बाध्य भयो । गोलाप्रथाको निर्णयअनुसार प्रतिनिधिसभामा कांग्रेसले चुनाव लड्ने पक्का भयो । टेकबहादुरलाई पोल्देन र कुविरले सघाउने सहमति बन्यो । त्यही सहमतिअनुसार अहिले पोल्देन र कुविरले रुख चिह्नमा मत मागिरहेका छन् । टेकबहादुरलाई जिताउन भनिरहेका छन् । मंगलबार (फागुन १२) नासो गाउँपालिका वडा नं. ८, ताचैमा टेकबहादुर, पोल्देन एउटै मञ्चमा भेटिए । मनाङ कांग्रेसका समर्थक राम गुरुङका अनुसार, अहिले टेकबहादुरलाई साझा उमेदवार बनाउँदा सिंगो मनाङमा एकताको माहोल देखिएको छ । मंगलबारको चुनावीसभामा एमालेका युवा नेता अरबिन गुरुङले नेताहरू मिलेर वातावरण बनाएको बताए ।
“यहाँ पैसाको कुरा होइन, आफन्त आफन्तबीच नै सम्बन्ध बिग्रिने स्थिति थियो । स्वस्थ राजनीतिक प्रतिस्पर्धाभन्दा पनि आफन्तबीच रिसइबी हुने अवस्था थियो,” उनले भने, “प्रतिनिधिसभा र प्रदेशसभा बाँडफाँट गर्ने सहमति भएको छ । अहिले ताचै मात्र होइन, तालमा पनि जिल्लामा पनि एकताबद्ध भएको सन्देश दिएका छौँ ।” उनले सरकार जसको बनेता पनि मनाङको लागि संयुक्त रूपमा काम गर्नुपर्ने बताए । “यहाँ हामी एमाले रहेनौँ, कांग्रेस रहेनौँ, हामी संयुक्त बन्यौँ,” उनले भने।
तरुण दल मनाङका अध्यक्ष यज्ञ घलेले कहिल्यै नदेखेको दुईवटा नेतालाई एउटै मञ्चमा देखिँदा सधैँ मिलेर बस्नुपर्ने सन्देश प्रवाह भएको बताए । “मन्दिरको पूजारी कांग्रेसनिकट छ भने एमाले नगइदिने, एमाले भए कांग्रेस नगइदिने गर्दाखेरि एउटा संस्कृति बोकेको हाम्रो परम्परा, सांस्कृतिक कार्यक्रममा हाम्रो गाउँ विभाजित थियो,” उनले भने, “म अहिले खेलकुदतिर लागेको छु । खेलकुदको अध्यक्ष फलानो पार्टीमा छ, त्यसले राम्रो गरेपछि समर्थन गर्नुहुन्न भन्ने थियो । अहिले दुईवटा पार्टी मिलेपछि ढुक्क भएको छ । अब कसैले विरोध गर्दैन ।” एमालेले उमेदवार उठाएका पोल्देनले सहमतिको कुरा सुनाउँदै पहिलादेखि नै सुरुआत गर्न खोजेता पनि सफल नभएको बताए । “आफ्नो र पार्टीको तर्फबाट मैले माग्न आएको मत, दायाँबायाँ नहेरेर तीनवटा चिह्न भएता पनि रुख चिह्नमा स्वस्तिक छाप हानेर अत्यधिक बहुमतले जिताउनुहुनेछ भन्ने आशा गर्दछु,” उनले भने ।कांग्रेसका गुरुङले पनि सम्बोधनमा एमालेलाई राम्रो स्पेस दिए ।
“नेकपा एमालेका साथीहरूसँग यसरी एक भएर तालदेखि चुनावको क्रममा आफ्नै गाउँमा ताचेमा आइपुगेका छौँ । निकै खुसी लागेको छ,” उनले भने, “मनाङ सानो जिल्ला, हरेक वडामा नाता छ । एउटै आँगनमा बस्दा पनि यता र उताको अवस्था थियो । यो हुनुहुँदैन भन्ने लाग्यो । जनताको लागि भनेर राजनीति गरेका छौँ, तर हाम्रै कारणले परिवारमा पनि बोलचाल बन्द हुने, धेरै पहिलेदेखि प्रयास गरेका पनि हौँ, अहिले हामी सफल भएका छौँ । उद्देश्य भनेको सबै मिलेर बस्नु हो ।” मनाङबाट नै एक भएर उदाहरण देखिएको उनले बताए । लामाहरूले पनि मिल्नुहोस भनेर धेरैपटक भनेको स्मरण गर्दै उनले भने, “मनोनयन हुनुभन्दा एकहप्ताअघि नेकपाका देवप्रसाद गुरुङ र एकजना लामा मेरो होटेलमा आएर छलफल गर्नुभएको थियो । लामाले मनाङ सानो जिल्ला, जनसंख्या कम तपाईंहरू मिल्नुहोस, मिल्यो भने हाम्रो सामाजिक, परिवारमा बोलचाल बन्द हुने अवस्था र जिल्लाको पनि विकास हुने बताउनुभयो।”
मनाङको परिस्थिति, जनताको सोचअनुसार नै ठूलो दल एकठाउँमा आइपुगेको उनले बताए । आउने स्थानीय तथा प्रदेशको चुनावमा पनि एक भएर जाने उनले बताए । मनोनयनको बेलामा एमाले, कांग्रेस र राप्रपा मिलेको अवस्थामा मंगोल नेसनल अर्गनाइजेसन पनि सहमतिमा आइसकेको तर, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तिमसम्म आशा मात्र देखाएको बताए । नेकपा सहमतिमा आएको अवस्थामा मनाङबाट प्रतिनिधिसभा उमेदवार निर्विरोध बन्ने स्थिति रहेता पनि त्यो अवसर गुमेको उनले बताए । टेकबहादुरसँगै नेकपाका यशोदा गुरुङ (सुवेदी) र मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर घले चुनावी मैदानमा छन् । मनाङका कुल सात हजार मतदातामध्ये पुरुष मतदाताको संख्या तीन हजार ६२३ छ भने महिला मतदाता तीन हजार ३७७ छन् ।
प्रक्षेपण राष्ट्रिय दनिकदेखि साभार।




































