काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यस्थित फायरफक्सको मान्तुवा क्षेत्रमा एक नेपाली परिवारमा विभत्स हत्या भएको छ ।
स्थानीय समयअनुसार फेब्रुअरी २४ सोमबार बिहान करिब ५ः१५ बजे भएको उक्त घटनामा ५० वर्षीय छत्रबहादुर थापाले आफ्नी ३१ वर्षीया छोरी ममता थापा र ५१ वर्षीया श्रीमती बिन्दा थापाको हत्या गरेको प्रारम्भिक विवरणमा उल्लेख छ।
राजधानी वासिङ्टन डीसीबाट करिब २२ किलोमिटर दूरीमा पर्ने उक्त स्थानमा घटना भएको हो । प्रहरीका अनुसार अभियुक्त छत्रबहादुर थापालाई नियन्त्रणमा लिन खोज्ने क्रममा उनको पनि मृत्यु भएको छ । उनको मृत्युको कारणबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन । घटनापछि त्यहाँको प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ । घटनास्थलमा पुगेर प्रहरीले प्रमाण संकलन गर्नुका साथै थप मानवीय क्षति हुन नदिन आवश्यक सुरक्षा सतर्कता अपनाएको थियो । प्रहरी प्रमुख केभिन डेभिसले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै घटनाको प्रकृति गम्भीर रहेको र अनुसन्धान जारी रहेको बताएका छन् । उनले घटनाको कारण र पृष्ठभूमिबारे विस्तृत जानकारी अनुसन्धानपछि मात्रै सार्वजनिक गरिने उल्लेख गरे ।
यस घटनाले अमेरिकास्थित नेपाली समुदायलाई स्तब्ध बनाएको छ। प्रहरीले घटनासम्बन्धी थप तथ्य सार्वजनिक गर्ने जनाएको छ ।
यस्तो छ प्रहरीको भनाइ –
एउटा अपार्टमेन्टभित्र ३० वर्षका एक पुरुष र उनकी श्रीमती, उनीहरूको एक वर्षको शिशु, र श्रीमतीका आमा–बुबा (५० वर्ष हाराहारीका) बस्थे । बिहान कुनै समयमा ज्वाइँले आफ्नो कारबाट हिउँ झारिरहँदा अपार्टमेन्टमा हल्लाखल्ला सुने । त्यस समय अपार्टमेन्टभित्र उनकी श्रीमती, उनीहरूको एक वर्षको शिशु र उनका सासु–ससुरा थिए । प्रहरीमा कल गर्ने व्यक्ति पनि नजिकैको भवनमा बस्छिन्, उनले पनि हल्लाखल्ला सुनिन् । यसरी ज्वाइँबाट र भवनका अर्का बासिन्दाबाट लगभग एकैसाथ ९११ मा दुईपटक कल आयो । प्रारम्भिक अनुसन्धानअनुसार ज्वाइँ अपार्टमेन्टभित्र पुग्दा उनले चक्कु प्रहारबाट घाइते भएकी श्रीमतीलाई देखे र सँगै हातमा दाउ लिएर बसेका ससुरा देखे ।
मलाई यो घटनाको वर्णन गर्न पनि गाह्रो भइरहेको छ । घटनास्थलबाट बरामद भएको दाउमा झन्डै १० इन्चको धार छ । ज्वाइँ पुग्दासम्म ससुराले आफ्नी छोरीलाई धारिलो हतियारले हानिरहेका थिए । त्यसपछि उनले ज्वाइँमाथि हतियार ताके । त्यसैले यो घटनामा तीन जनामाथि प्रहार भयो । हतियार प्रहारबाट छोरीको घटनास्थलमै मृत्यु भयो । श्रीमती घाइते थिइन् (जो समाचार तयार पार्दासम्म बितिसकेकी छिन्) । अनि घाइते ज्वाइँ गम्भीर अवस्थामा छन् र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । खुसीको कुरा, शिशु सुरक्षित छ । यो दृश्यलाई रक्तरञ्जित भन्नु पनि कम हुन्छ । ५० वर्षका यो व्यक्तिले आफ्नै परिवारमाथि गरेको क्षति, अराजकता र संहार कल्पना गर्न नसकिने छ ।
हाम्रा प्रहरी अधिकारीहरू सूचना पाएको केही मिनेटभित्रै घटनास्थल पुगेका थिए । उनीहरू अपार्टमेन्टमा प्रवेश गर्दा ससुरा ज्वाइँलाई दाउ हानिरहेका थिए । प्रहरीले अपराधी अर्थात् ससुरालाई बारम्बार दाउ छाड्न आदेश दिए । तर उनले दाउ छाडेनन्, बरु प्रहरीको आँखै अगाडि ज्वाइँलाई प्रहार गरिरहे । हुनतः ९११ मा कल गर्ने दुई जनामध्ये एक ज्वाइँ नै हुन् । तर प्रहरी आउनुअघि नै उनले ससुरालाई रोक्ने प्रयास गरेका थिए । पक्कै पनि उनले आफ्नो शिशुको उद्धार गर्न यस्तो गरेका थिए । यो दृश्य देखिरहेका प्रहरीले गोली हानेर (अपराधी) अर्थात् दाउ बोकेको त्यो व्यक्तिलाई मारिदिए, जसले आफ्नै छोरीलाई मारिसकेको थियो र आफ्नै श्रीमती र ज्वाइँलाई क्रूरतापूर्वक दाउ हानेको थियो । म कल्पना पनि गर्न सक्दिनँ त्यो चार भित्ताभित्र के भइरहेको थियो।
यो हल्लाखल्ला सुनेर छिमेकीले ९११ मा कल गर्नु प्रशंसनीय छ । यस्तो क्रूरतापूर्वक आफ्नै परिवारजनमाथि चक्कु चलाउन बाध्य हुने मनस्थिति र परिस्थिति के थियो ? म बुझ्न सक्दिनँ । कुनै पनि जीवनको क्षति हामी सबैले गम्भीरतापूर्वक लिन्छौं । फेयरफ्याक्स काउन्टीका प्रहरी अधिकारीले जीवन बचाउन मात्रै गोली चलाउने हो, आज यस्तै भयो । हाम्रो प्रहरी जवानले ससुराबाट प्रहार खेपिरहेका व्यक्तिको जीवन बचाउन गोली प्रहार गरे । ती व्यक्ति अझै गम्भीर अवस्थामा छन् र उनको शल्यक्रिया भइरहेको छ जस्तो लाग्छ । उक्त अपार्टमेन्टबाट यसअघि कहिल्यै पारिवारिक हिंसा वा अन्य घटनाका उजुरी आएका थिएनन् । प्रहरीमा त्यस्तो रेकर्ड छैन । तर त्यहाँ के हुन्थ्यो, त्यस विषयमा बयान दिने मानिस छैन । तीन जनाको मृत्यु भइसकेको छ, ज्वाइँ बेहोस छन् । होसमा रहेको एक्लो व्यक्ति शिशु मात्रै हो ।
प्रक्षेपण राष्ट्रिय दनिकदेखि साभार।




































