झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापा क्षेत्र नम्बर–५ मा सुरक्षा व्यवस्था अभूतपूर्व रूपमा कडा पारिएको छ । राजनीतिक रूपमा ‘हेभिवेट’ प्रतिस्पर्धाको केन्द्र मानिएको यस क्षेत्रमा सम्भावित द्वन्द्व र तनावलाई मध्यनजर गर्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार यस क्षेत्रमा मात्र पाँच जना डीएसपी (उपरीक्षक) खटाइएको छ भने दुई हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ छन् । झापा–५ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ । यस क्षेत्रमा केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले)बाट उम्मेदवारी परेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट बालेन्द्र शाह (बालेन) चुनावी प्रतिस्पर्धामा छन् । शीर्ष नेताहरूको प्रत्यक्ष भिडन्त हुने भएकाले यहाँको चुनावी गतिविधि राष्ट्रिय चासोको विषय बनेको छ ।
केन्द्रीय सुरक्षा समितिको बैठकले झापा–५ लाई संवेदनशील क्षेत्रको रूपमा वर्गीकरण गर्दै नयाँ र पुराना दलका कार्यकर्ताबीच टकराव हुन सक्ने सम्भावित जोखिम आकलन गरेको थियो । सोही मूल्यांकनका आधारमा गृह मन्त्रालयले अतिरिक्त सुरक्षा जनशक्ति खटाउने निर्णय गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सम्भावित झडप, प्रदर्शन, नाराबाजी वा मतदानका दिन हुनसक्ने अवरोधलाई रोक्न सुरक्षा रणनीति परिमार्जन गरिएको छ । झापा–५ अन्तर्गत इलाका प्रहरी कार्यालय दमकमा मात्र डीएसपीको दरबन्दी रहेको छ । गौरीगन्जमा प्रहरी निरीक्षकको दरबन्दी छ । तर अहिले विशेष सुरक्षा व्यवस्थाअन्तर्गत थप चार जना डीएसपी गृह मन्त्रालयबाट पठाइएको प्रहरीले जनाएको छ । यससँगै झापा–५ का प्रत्येक पालिकामा एक/एक डीएसपीको कमान्डमा प्रहरी परिचालन गरिएको छ ।
गौरीगन्ज गाउँपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकामा समेत डीएसपीलाई प्रत्यक्ष कमान्ड दिइएको छ । यसले प्रत्येक स्थानीय तहमा उच्च तहको सुरक्षा नेतृत्व सुनिश्चित गरिएको संकेत गर्दछ । प्रहरी स्रोतका अनुसार संवेदनशील मतदान केन्द्रहरूको पहिचान गरी त्यहाँ अतिरिक्त सशस्त्र प्रहरी र म्यादी प्रहरीसमेत खटाइएको छ । झापा–५ मा हाल दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । यसअघि नियमित रूपमा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरीका अतिरिक्त थप टोली खटाइएको हो । करिब दुई साताअघि कोसी प्रदेश प्रहरी कार्यालयबाट एक सय सुरक्षाकर्मी झापा–५ मा ल्याइएको थियो । त्यसयता सुरक्षा अवस्थाको निरन्तर समीक्षा गर्दै थप जनशक्ति पठाइएको हो ।
केही दिनअघि मात्रै थप चार डीएसपीसहित ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चुनाव नजिकिँदै जाँदा सभा–जुलुस, घरदैलो, कोणसभा र प्रचार–प्रसार तीव्र बनेपछि सुरक्षाकर्मीको उपस्थिति पनि बढाइएको हो । सम्भावित उच्छृंखल गतिविधि, भड्काउ भाषण वा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने अफवाहलाई नियन्त्रणमा राख्न विशेष निगरानी टोलीसमेत परिचालन गरिएको बताइएको छ । झापा प्रहरी प्रमुख एवं एसपी वसुन्धरा खड्काका अनुसार निर्वाचन सुरक्षाका निम्ति तीन गुणा बढी जनशक्ति परिचालन गरिएको छ । “निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सबै तयारी पूरा भएको छ,” उनले भनिन् । मतदानका दिन प्रत्येक मतदान केन्द्रमा पर्याप्त सुरक्षाकर्मी रहने र मोबाइल टोली तयारी अवस्थामा राखिने उनको भनाइ छ ।
सुरक्षा संयन्त्रले उम्मेदवार, मतदाता र निर्वाचन कर्मचारीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । मतदान केन्द्र वरपर भीड नियन्त्रण, सम्भावित झडप व्यवस्थापन र आकस्मिक घटनामा द्रुत प्रतिक्रिया दिन विशेष योजना तयार गरिएको छ । साथै, संवेदनशील क्षेत्रहरूमा रात्री गस्ती, चेकजाँच र सादा पोशाकका प्रहरी परिचालनलाई समेत तीव्रता दिइएको छ । झापा–५ लाई यसअघिका निर्वाचनहरूमा पनि राजनीतिक रूपमा महत्वपूर्ण क्षेत्रका रूपमा हेरिँदै आएको छ । यसपटक शीर्ष नेताहरूबीच सीधा प्रतिस्पर्धा हुँदा चुनावी माहोल झनै तातिएको छ । चुनावी सभामा ठूलो भीड जुट्ने, सामाजिक सञ्जालमा तीव्र बहस चल्ने र कार्यकर्ताबीच आरोप–प्रत्यारोप बढ्ने क्रम जारी रहेकाले सुरक्षा संयन्त्रले कुनै पनि जोखिमलाई नजरअन्दाज नगर्ने नीति लिएको जनाएको छ ।
प्रहरीका अनुसार हालसम्म सुरक्षा चुनौतीका दृष्टिले गम्भीर प्रकृतिका घटना भने नभएको बताइएको छ । तर, निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै ‘प्रोएक्टिभ’ रणनीति अपनाइएको छ । सुरक्षा निकायले मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आह्वानसमेत गरेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा झापा–५ मा सुरक्षा उपस्थिति अझ सघन हुने संकेत देखिएको छ । पाँच डीएसपीको प्रत्यक्ष कमान्डमा सञ्चालित सुरक्षा घेराबन्दीले यहाँको चुनावी प्रतिस्पर्धालाई शान्तिपूर्ण ढंगले सम्पन्न गराउने विश्वास प्रहरी नेतृत्वले व्यक्त गरेको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।





































