भोट माग्ने ‘भाँडो’ बनेको गोरखकाली रबर उद्योग

काठमाडौं । गोरखा नगरपालिका–१३ मझुवामा अवस्थित गोरखकाली रबर उद्योग लिमिटेड अहिले सुनसान र जीर्ण अवस्थामा पुगेको छ ।

वि.सं. २०४१ जेठ ३० गते उद्योग विभागमा दर्ता भई २०४२ सालमा तत्कालीन राजा वीरेन्द्रबाट शिलान्यास गरिएको यो उद्योग एक समय नेपालको औद्योगिक पहिचानको प्रतीक मानिन्थ्यो । तर अहिले भने दशकौँको गौरव बोकेको संरचना झाडी र घारीले ढाकिएको छ, मेसिनहरूमा खिया लागेको छ र उत्पादन पूर्ण रूपमा ठप्प छ । मित्रराष्ट्र चीनको सहयोगमा स्थापना भएको गोरखकाली रबर उद्योग नेपालकै एकमात्र रबर उद्योगका रूपमा परिचित थियो । वि.सं. २०५० को दशकदेखि व्यावसायिक उत्पादन सुरु गरेको उद्योगले राष्ट्रिय उत्पादन वृद्धि, आयात प्रतिस्थापन र पुँजी निर्माणमा उल्लेखनीय योगदान दिएको थियो । स्वदेशमै टायर उत्पादन गर्ने क्षमताका कारण यो उद्योग आत्मनिर्भर अर्थतन्त्रतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिन्थ्यो ।

सरकार र निजी क्षेत्रको साझेदारीमा सञ्चालित यस उद्योगले वार्षिक रूपमा एक लाख २० हजार वटा हेभी र लाइट टायर उत्पादन गर्ने लक्ष्य राखेको थियो । सञ्चालनको अवधिमा भने करिब ८८ हजार टायर प्रतिवर्ष उत्पादन हुँदै आएको थियो । ट्रकका लागि १२ प्रकार, जीप तथा भ्यानका लागि पाँच प्रकार र साना कारका लागि छ प्रकारका टायर उत्पादन गर्ने क्षमता उद्योगसँग थियो । स्वदेशी बजारमा यसको उपस्थिति मजबुत बन्दै गएको थियो भने गुणस्तरका आधारमा विदेशी टायरसँग प्रतिस्पर्धा गर्न सक्षम भएको दाबी गरिन्थ्यो । करिब ६७० रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा नेपाल सरकारसँगै सर्वसाधारण लगानीकर्ता, एसियाली विकास बैंक, नेपाल आयल निगम, हिमाल सिमेन्ट, नेपाल साल्ट ट्रेडिङलगायत विभिन्न संघ–संस्थाको लगानी रहेको थियो । उद्योग स्थापनाकालमै करिब ४०० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए भने अप्रत्यक्ष रूपमा सयौँ परिवारको जीविकोपार्जन यसैसँग जोडिएको थियो ।

आन्तरिक बजारको कुल टायर तथा ट्युब मागमध्ये करिब ४० प्रतिशत हिस्सा पूर्ति गर्न सफल भएको उद्योगले नेपालमै उत्पादित टायर भारत, बङ्गलादेश र श्रीलङ्कालगायत दक्षिण एसियाली मुलुकहरूमा निर्यातसमेत गर्दै आएको थियो । यसले विदेशी मुद्रा आर्जनमा समेत योगदान पुर्‍याएको थियो । देशका प्रमुख शहरहरू—काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान, वीरगञ्ज, जनकपुरलगायत ३० वटा स्थानमा डिपो स्थापना गरेर सुदृढ बजार व्यवस्थापन गरेको उद्योग गोरखाबासी मात्र होइन, समग्र नेपाली उद्योग क्षेत्रकै गौरवको विषय बनेको थियो । ‘मेड इन नेपाल’ टायरको पहिचान स्थापित गर्न यस उद्योगले महत्वपूर्ण भूमिका खेलेको मानिन्छ । तर विगत एक दशकदेखि उद्योग पूर्ण रूपमा बन्द अवस्थामा छ । करिब १० अर्ब रुपैयाँ बराबरको राज्यको सम्पत्ति अलपत्र परेको छ । विशाल क्षेत्रफलमा फैलिएको संरचना संरक्षणविहीन बन्दै गएको छ । भवनहरू जीर्ण बन्दै गएका छन्, उत्पादन उपकरण प्रयोगविहीन अवस्थामा थन्किएका छन् र परिसर झाडीले ढाकिएको छ ।

एक समय राष्ट्रिय औद्योगिक स्वाभिमानको प्रतीक बनेको गोरखकाली रबर उद्योग आज पुनः सञ्चालनको पर्खाइमा छ । स्वदेशी उत्पादन र रोजगारी सिर्जनाको सम्भावनालाई पुनर्जीवित गर्ने कि यसलाई इतिहासकै पानामा सीमित गर्ने भन्ने प्रश्न अहिले नीतिनिर्मातामाझ उठिरहेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।