काठमाडौं । मध्यपूर्वमा अमेरिका/इजरायल र इरानबीच चर्किँदै गएको द्वन्द्वका कारण प्रभावित क्षेत्रमा कार्यरत तथा यात्रा गरिरहेका नेपाली नागरिकहरूको सुरक्षालाई ध्यानमा राख्दै नेपाल सरकारले आवश्यक समन्वय र व्यवस्थापन अघि बढाएको छ।
परराष्ट्र मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा इराक, कुवेत र साउदी अरेबियामा रहेका नेपालीहरूको पछिल्लो अवस्थाबारे विस्तृत जानकारी दिँदै हालसम्म सबै नेपाली सुरक्षित रहेको जनाएको हो। इराकको कुर्दिस्तान क्षेत्रको एर्बिल सहरस्थित विमानस्थलमा कार्यरत १५० नेपालीलाई सम्भावित जोखिमबाट जोगाउन सुरक्षित स्थानमा सारिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार इरानी आक्रमणपछि सो क्षेत्रको सुरक्षा अवस्था जटिल बनेको आकलन गर्दै विमानस्थल परिसरमा कार्यरत नेपालीहरूलाई तत्काल उद्धार गरी सुरक्षित एक होटेलमा राखिएको हो।
मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलनमा जानकारी दिँदै एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सबै १५० नेपालीलाई सुरक्षित रूपमा स्थानान्तरण गरिएको बताए। “उहाँहरूलाई विमानस्थल क्षेत्रबाट सुरक्षित होटेलमा राखिएको छ र सबैको अवस्था सुरक्षित छ,” उनले भने। उनका अनुसार सम्बन्धित निकाय र दूतावासमार्फत निरन्तर सम्पर्क र निगरानी भइरहेको छ। इराकलाई कुवेतस्थित नेपाली दूतावासले हेर्ने व्यवस्था रहेको छ भने कतारको दोहास्थित नेपाली दूतावासले समेत समन्वय गर्दै परराष्ट्र मन्त्रालयलाई नियमित जानकारी गराइरहेको छ। इरानले युनाइटेड अरब इमिरेट्स, साउदी अरेबिया, कतार, कुवेत, बहराइन, ओमान, इराक र जोर्डन लगायतका देशमा रहेका अमेरिकी सैन्य अड्डाहरू लक्षित गरी मिसाइल तथा ड्रोन आक्रमण गरेपछि क्षेत्रीय सुरक्षा अवस्था अस्थिर बनेको छ। उक्त आक्रमणको प्रभाव इराकको एर्बिल क्षेत्रमा समेत परेको बताइएको छ।
त्यस्तै, कुवेतलाई ट्रान्जिट बनाउँदै विभिन्न मुलुकबाट नेपाल फर्किने क्रममा रहेका करिब ९० नेपालीलाई पनि सुरक्षित रूपमा एक होटेलमा राखिएको छ। अमेरिका/इजरायल र इरानबीचको युद्ध मध्यपूर्वभर फैलँदै जाँदा कुवेतस्थित केही संवेदनशील स्थानहरूमा पनि आक्रमण भएपछि उडान तालिका प्रभावित बनेको हो। महाशाखा प्रमुख खड्काका अनुसार “कुवेतलाई ट्रान्जिट बनाएर आएका करिब ९० नेपालीलाई सम्बन्धित एयरलाइन्सले होटेलमा बस्ने व्यवस्था मिलाएको छ।” इरानले कुवेतमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा समेत आक्रमण गरेपछि त्यहाँको सुरक्षा अवस्था संवेदनशील बनेको थियो। कुवेत विमानस्थल वरपर र केही सैन्य क्षेत्रमा मिसाइल तथा ड्रोन खसेको विवरण प्राप्त भएको उनले जानकारी दिए।
उनले कुवेत र इराक दुवै देश प्रभावित भएको उल्लेख गर्दै त्यहाँ रहेका सबै नेपाली हाल सुरक्षित रहेको स्पष्ट पारे। कुवेतस्थित नेपाली दूतावासले पठाएको प्रतिवेदनअनुसार त्यहाँका सरकारी निकायहरूले हाल ३० प्रतिशत मात्र जनशक्ति राखेर सेवा सञ्चालन गरिरहेका छन्। सुरक्षा सतर्कता उच्च पारिएको छ र अनावश्यक आवतजावतमा रोक लगाइएको बताइएको छ। यसैबीच, हज तथा उमराहका लागि साउदी अरेबिया गएका ३६ नेपाली पनि फर्किने क्रममा उतै रोकिएका छन्। रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाबाट उमराहका लागि गएका उनीहरू मदिनाबाट सारजहा हुँदै मंगलबार काठमाडौं फर्किने तालिका रहेको थियो। तर, उनीहरू चढ्ने भनिएको उडान रद्द भएपछि हाल साउदीमै रोकिएका छन्।
महाशाखा प्रमुख खड्काले “हज र उमराह गर्न जानुभएका ३६ नेपाली फर्किने क्रममा अड्किनुभएको छ” भन्दै उनीहरूको अवस्थाबारे मन्त्रालयले जानकारी राखिरहेको बताए। उनका अनुसार मदिनाबाट पाकिस्तान र बंगलादेशतर्फ नियमित उडान भइरहेको जानकारी प्राप्त भएकाले ढाका हुँदै नेपाल फर्कने विकल्पबारे सम्बन्धित ट्राभल एजेन्सीसँग समन्वय गर्न सुझाव दिइएको छ। उनीहरूको बसोबास र खानपान व्यवस्थापनका लागि साउदीको जेद्दास्थित नेपाली महावाणिज्य दूतावाससँग समन्वय गरिएको छ। यद्यपि, महावाणिज्य दूतावासले पर्याप्त स्रोतसाधन अभाव रहेको जानकारी गराएको छ। दूतावासले एयरलाइन्स कम्पनी तथा स्थानीय नेपाली समुदायसँग सहकार्य गरी अस्थायी व्यवस्थापन गर्न सकिने जनाएको छ।
परराष्ट्र मन्त्रालयले मध्यपूर्वको पछिल्लो अवस्थालाई निरन्तर अनुगमन गरिरहेको जनाएको छ। प्रभावित देशहरूमा रहेका नेपाली दूतावास तथा कूटनीतिक नियोगहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ। आवश्यक परे थप स्थानान्तरण, उद्धार वा कन्सुलर सहयोग उपलब्ध गराउने तयारी अवस्थामा रहेको मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकलाई संयमित रहन, अनावश्यक आवतजावत नगर्न, आधिकारिक सूचना मात्र अनुसरण गर्न र समस्या परेमा सम्बन्धित दूतावास वा कन्सुलर कार्यालयसँग सम्पर्क गर्न आग्रह गरेको छ। साथै सामाजिक सञ्जालमा फैलिने अपुष्ट समाचारका कारण त्रास नफैलाउन पनि सचेत गराइएको छ।
मध्यपूर्व तथा खाडी क्षेत्रमा कार्यरत लाखौं नेपाली श्रमिकको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्रालयले परिस्थिति सामान्य नहुँदासम्म सतर्कता कायम रहने जनाएको छ। हालसम्म इराक, कुवेत र साउदी अरेबियामा रहेका उल्लेखित नेपालीहरू सुरक्षित रहेको र आवश्यक सहयोगका लागि सरकार प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।





































