राजनीतिमा युवा आकर्षण बढेको सुखद सन्देश

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा १ लाख ४८ हजारभन्दा बढी नेपाली नागरिक स्वदेश फर्किनुले नेपाली राजनीतिमा आएको मनोवैज्ञानिक परिवर्तनको संकेत गरेको छ ।

गत वर्षको तुलनामा स्वदेश फर्किने नेपालीको संख्यामा २८ प्रतिशतले वृद्धि हुनुले प्रवासमा रहेका नेपालीहरू केवल रेमिट्यान्स पठाउने मात्र नभई देशको नेतृत्व चयन गर्ने प्रक्रियामा सहभागी हुन आतुर रहेको देखाउँछ ।

विगतका वर्षहरूमा राजनीतिप्रतिको असन्तुष्टिले गर्दा युवाहरू निर्वाचनप्रति उदासिन देखिन्थे । तर यसपटकको निर्वाचनमा देखिएको आकर्षणले सुखद सन्देश दिएको छ । युवाहरू अब राजनीतिलाई गाली गरेर मात्र बस्ने पक्षमा छैनन्‌; उनीहरू आफैँ उपस्थित भएर नेतृत्व चयन गर्न वा दबाब सिर्जना गर्न चाहन्छन् । सामाजिक सञ्जाल र सूचना प्रविधिको पहुँचले गर्दा विदेशमा रहेका नेपालीहरू पनि स्वदेशको राजनीतिक एजेन्डामा उत्तिकै जानकार रहँदै आफ्नो मतको शक्ति बुझ्न थालेका छन् ।

अध्यागमनको तथ्यांकले फेब्रुअरी महिनामा ८० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि बाहिरिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले बढी हो । एकातिर रोजगारीको खोजीमा युवा शक्ति बाहिरिने क्रम तीव्र हुनु र अर्कोतिर निर्वाचनका लागि घर फर्किनेको लर्को लाग्नुले नेपाली युवाहरूको बाध्यता र उत्साहलाई उजागर गरेको छ । नेपाली युवाहरू बाध्यताले विदेशिएका भए पनि उनीहरूको मन र चासो सधैँ स्वदेशको माटो र राजनीतिक स्थिरतातर्फ नै मोडिएको देखिन्छ।

राजनीतिमा युवाहरूको रुचि लोकतन्त्रका लागि सुखद सन्देश हो । जब युवा पुस्ताले निर्वाचनलाई आफ्नो भविष्यसँग जोडेर हेर्न थाल्छ, तब मात्र वास्तविक परिवर्तनको ढोका खुल्छ । यसपटक धेरै युवा उम्मेदवारहरू चुनावी मैदानमा हुनु र पुराना दलहरूले पनि आफ्नो रणनीति बदल्न बाध्य हुनुले नेपाली राजनीति अब परम्परागत ढर्राबाट नयाँ युगमा प्रवेश गर्दैछ भन्ने संकेत गर्छ । निर्वाचनमा सहभागी हुन आफ्नो कमाइ र बिदा खर्च गरेर फर्किने नेपालीहरूको उत्साहलाई राजनीतिक दलहरूले सम्मान गर्न सक्नुपर्छ ।

चुनावका लागि फर्किएका युवाहरूलाई मतदानपछि फेरि विदेशिनु नपर्ने वातावरण निर्माण गर्नु नै अबको नेतृत्वको मुख्य चुनौती हुनेछ । अध्यागमनको तथ्यांकले गरेको संकेतले युवाको चाहना र भावनालाई प्रस्ट पारेको छ । यदि निर्वाचित भएर आउने नेतृत्वले फर्किएका युवाहरूको भरोसालाई फेरि पनि आश्वासनको नाममा धोका दिने हो भने आगामी निर्वाचनहरूमा आकर्षण निराशामा बदलिने खतरा रहन्छ ।

२०२६ फेब्रुअरीको आवतजावतको तथ्यांकले नेपालको राजनीतिमा एउटा नयाँ रक्तसञ्चार भएको महसूस गराएको छ । निर्वाचनको माहोलले वैदेशिक रोजगारी, पर्यटन र आन्तरिक अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पारेको छ । युवाहरूको सक्रियताले राजनीतिमा जवाफदेहिता र सुशासनको मागलाई अझ बलियो बनाउनेछ । अबको नेतृत्वले फर्किएका युवाहरूको आँखामा रहेको आशा र हातमा रहेको सीपलाई स्वदेशमै उपयोग गर्ने ठोस योजना ल्याउनुपर्छ । राजनीतिमा युवा आकर्षण बढ्नु भनेको लोकतन्त्र जीवित रहनु हो र यो सचेतता नै समृद्ध नेपाल निर्माणको पहिलो खुड्किलो बन्नेछ ।

मिति २०८२ फागुन २० गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।