काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनपछि नवनिर्वाचित सरकारलाई छिट्टै सत्ता हस्तान्तरण गर्ने इच्छा व्यक्त गरेकी छिन्। युवाले नयाँ सरकारसँग धेरै अपेक्षा राखेकाले आफूहरू सत्ता हस्तान्तरण प्रक्रियालाई ढिला नगर्ने उनको भनाइ छ। मतदान सम्पन्न भएपछि दिएको प्रतिक्रियामा प्रधानमन्त्री कार्कीले निर्वाचनबाट जनताले दिएको मतादेशलाई सम्मान गर्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको बताइन्। उनले निर्वाचन प्रक्रियाले नयाँ राजनीतिक नेतृत्वलाई अवसर दिने भएकाले सत्ता हस्तान्तरणको प्रक्रिया पनि छिटो अगाडि बढाइने स्पष्ट पारिन्। बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा उनले भनिन्, “हामी चाँडै सत्ता हस्तान्तरण गर्छौँ किनभने नयाँ सरकारसँग युवाको धेरै अपेक्षाहरू छन्।” उनले निर्वाचन परिणाम सार्वजनिक भएपछि संवैधानिक प्रक्रिया अनुसार नयाँ सरकार गठन हुने र त्यसपछि सत्ता हस्तान्तरण गरिने जानकारी दिइन्।
प्रधानमन्त्री कार्कीले पछिल्लो निर्वाचनमा युवाहरूको सहभागिता उल्लेखनीय रहेको भन्दै यसले लोकतान्त्रिक प्रक्रियामा नयाँ ऊर्जा थपिएको बताइन्। निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यसपटकको निर्वाचनमा कुल मतदातामध्ये करिब ४० प्रतिशत हिस्सा १८ देखि ३५ वर्ष उमेर समूहका युवाहरू थिए। उनले युवाहरूको ठूलो सहभागिताले देशको राजनीति र नीति निर्माण प्रक्रियामा नयाँ सोच र ऊर्जा प्रवेश गर्ने विश्वास व्यक्त गरिन्। “युवाले देखाएको उत्साह र सहभागिताले भविष्यप्रति आशा जगाएको छ,” उनले भनिन्। प्रधानमन्त्री कार्कीले सरकारका केही महत्वपूर्ण कामहरू भने सत्ता हस्तान्तरणअघि नै टुंग्याउने प्रयास भइरहेको पनि जानकारी दिइन्। विशेषगरी जाँचबुझ आयोगहरूका प्रतिवेदन सार्वजनिक गर्ने तयारी भइरहेको उनले बताइन्।
“अब हामी प्रतिवेदन बुझ्छौँ र सार्वजनिक गर्ने प्रयास हुन्छ। यही अवधिमा हामी यी काम गर्नेछौँ,” उनले भनिन्। उनका अनुसार विभिन्न घटनासँग सम्बन्धित जाँचबुझ आयोगका प्रतिवेदनहरू सार्वजनिक गर्नु सरकारको प्राथमिकतामा परेको छ। सरकारले विशेषगरी गत भदौ महिनामा भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी पनि गरिरहेको छ। उक्त आन्दोलनका क्रममा भएका घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न आयोग गठन गरिएको थियो।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा झडप तथा तनावको अवस्था सिर्जना भएको थियो। त्यस घटनाको निष्पक्ष छानबिनका लागि विशेष अदालतका पूर्व अध्यक्ष तथा पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरिएको थियो। आयोगलाई घटनाको अध्ययन गरी प्रतिवेदन सरकारलाई बुझाउने जिम्मेवारी दिइएको थियो। आयोगको कार्यावधि पटक–पटक थपिँदै आएको छ। तेस्रो पटक थपिएको आयोगको म्याद आगामी २७ फागुनमा सकिँदैछ। प्रधानमन्त्री कार्कीले आयोगको प्रतिवेदन प्राप्त भएपछि त्यसलाई अध्ययन गरेर सार्वजनिक गर्ने दिशामा सरकार अघि बढ्ने बताइन्। उनले सत्यतथ्य बाहिर ल्याउन सरकार प्रतिबद्ध रहेको पनि दोहोर्याइन्।
उनका अनुसार लोकतान्त्रिक प्रणालीमा पारदर्शिता र जवाफदेहिता महत्वपूर्ण हुने भएकाले आयोगका प्रतिवेदनहरू सार्वजनिक गर्नु आवश्यक छ। यसले जनताको विश्वास कायम राख्न पनि सहयोग पुग्ने उनले बताइन्। प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न भइसकेकाले अब राजनीतिक दलहरूबीच सहकार्य र समन्वय आवश्यक रहेको पनि उल्लेख गरिन्। नयाँ सरकार गठन भएपछि देशको विकास, सुशासन र जनअपेक्षा पूरा गर्ने दिशामा काम गर्नुपर्ने उनको भनाइ छ। उनले आगामी सरकारलाई जनताका अपेक्षा पूरा गर्न चुनौती र अवसर दुवै रहेको बताउँदै लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउन सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिइन्।
प्रक्षेपण राष्ट्रिय दनिकदेखि साभार।





































