गत भदौ २३ र २४ गतेको जनआन्दोलनपछि मुलुक जुन विशिष्ट र तरल परिस्थितिबाट गुज्रिरहेको थियो, त्यसलाई निकास दिन घोषित मितिमा निर्वाचन हुनु अनिवार्य शर्त थियो । सडकमा उत्रिएका युवाहरूको आक्रोश र परिवर्तनको चाहनालाई मतपत्रमार्फत व्यक्त गर्ने अवसर प्रदान गरेर राज्यले लोकतान्त्रिक मूल्य र मान्यतालाई पुनः स्थापित गरेको छ ।
बिहीबार देशभरका मतदान केन्द्रहरूमा देखिएको उत्साहजनक उपस्थिति र पहिलोपटक मतदान गर्नेहरूको लहरले नेपाली राजनीति अब परम्परागत ढर्राबाट नयाँ युगमा प्रवेश गरेको सुखद सन्देश दिएको छ ।
ऐतिहासिक निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगको भूमिका प्रशंसनीय रहेको छ । राजनीतिक अन्योलबिच पनि निर्वाचनको मिति घोषणा गर्ने र त्यसलाई निष्पक्ष बनाउन सरकारले देखाएको प्रतिबद्धताले लोकतन्त्रको जगलाई थप मजबुत बनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले ‘एकीकृत सुरक्षा योजना–२०८२’ अन्तर्गत जुन व्यावसायिकता प्रदर्शन गरे, त्यसले मतदातामा सुरक्षाको प्रत्याभूति गराएको थियो ।
रामेछाप, सर्लाही, मुस्ताङ र कञ्चनपुरमा निर्वाचनको तयारीका क्रममा ज्यान गुमाउने कर्मचारी र सुरक्षाकर्मीहरूप्रति राष्ट्र सधैँ ऋणी रहनेछ । उनीहरूको बलिदानले नै करोडौँ नेपालीले शान्तिपूर्ण रूपमा आफ्नो मताधिकार प्रयोग गर्न पाएका छन् । दुर्गम मुस्ताङको साङ्तादेखि तराईका सुकुम्बासी बस्तीसम्मका नागरिकले विना डर मतदान गर्न पाउनु सुरक्षा निकायको ठूलो सफलता हो ।
यसपालिको निर्वाचनको सबैभन्दा सुन्दर पक्ष नागरिक सहभागिता रह्यो । विदेशमा रहेका झण्डै डेढ लाख नेपालीहरू मताधिकार प्रयोग गर्नकै लागि स्वदेश फर्किनुले प्रवासमा रहेका नेपालीको देशप्रतिको चिन्ता र चासोलाई उजागर गरेको छ । यसले नेपाली राजनीतिमा युवाहरूको आकर्षण मात्र बढेको छैन, बरु नेतृत्वलाई थप जवाफदेही बन्न दबाब समेत सिर्जना गरेको छ । मतदाताहरूले यसपटक उम्मेदवारको अनुहारभन्दा पनि उसको कार्यक्षमता, नैतिकता र भविष्यको भिजनलाई प्राथमिकता दिएको विश्लेषण हुँदैछ, जुन परिपक्व लोकतन्त्रको पहिचान हो ।
निर्वाचनले लोकतन्त्रको वैधतालाई नवीकरण गरेको छ । सडकको आन्दोलनलाई सदनको बहस र नीति–निर्माणमा रूपान्तरण गर्ने प्रक्रियाले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गरेको छ । चुनावले केवल नयाँ सरकार मात्र दिने छैन, यसले जनतामा गुमेको आशा र भरोसालाई पनि पुनर्जीवित गरेको छ । अब आउने नयाँ नेतृत्वले ती सुकुम्बासी बस्तीका लालपुर्जाको सपनादेखि विदेशिएका युवाहरूलाई स्वदेशमै रोजगारी दिने मुद्दासम्मलाई इमान्दारीपूर्वक सम्बोधन गर्नुपर्नेछ ।
नेपाली जनताले फेरि एकपटक प्रमाणित गरिदिएका छन्, शक्ति केवल बन्दुक वा सडकमा होइन, नागरिकको औँलामा रहेको मसीमा हुन्छ । शान्तिपूर्ण रूपमा सम्पन्न निर्वाचनले विश्व समुदायलाई नेपालको लोकतन्त्र परिपक्व हुँदै गएको सन्देश दिएको छ । अबको मुख्य कार्यभार भनेको प्राप्त मतको सही गणना र जनमतको उच्च सम्मान गर्दै मुलुकलाई आर्थिक समृद्धि र राजनीतिक स्थिरताको मार्गमा डोर्याउनु हो । शान्तिपूर्ण मतदान नै भोलिको समृद्ध नेपालको प्रस्थानविन्दु बनोस्, शुभकामना !
मिति २०८२ फागुन २२ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिक



































