सरकारले देखायो साहस, सम्पन्न भयो शान्तिपूर्ण निर्वाचन

काठमाडौं । गत भदौमा देशले भोगेको हिंसा, अव्यवस्था र राजनीतिक अनिश्चितताको स्मरण अझै ताजै छ। त्यतिबेला सडकमा बगेको रगत, जलेका सरकारी संरचना र फैलिएको त्रासदीले मुलुकलाई गम्भीर संकटमा धकेलेको थियो। धेरैले त्यस्तो अवस्थामा देश छिट्टै सामान्य अवस्थामा फर्केला भन्ने कल्पनासमेत गरेका थिएनन्। तर, त्यही संकटपूर्ण अवस्थाबाट देशलाई चुनावसम्म पुर्‍याउने जिम्मेवारी सम्हाल्दै प्रधानमन्त्री सुशीला कार्की अहिले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने तयारीमा पुगेकी छन्।

भदौ २३ र २४ गते भएको घटनालाई नेपाली राजनीतिमा पछिल्लो समयकै सबैभन्दा संवेदनशील मोडको रूपमा लिइन्छ। भदौ २३ गते सुरक्षाकर्मीको गोली लागेर बालबालिकासहित सर्वसाधारणको ज्यान गएको थियो। त्यस दिनको घटनाले केवल मानवीय क्षतिमात्र नभई राज्यको जवाफदेहिता र शासनप्रतिको विश्वासमा समेत गम्भीर चोट पुर्‍याएको थियो। त्यसको भोलिपल्ट भदौ २४ गते आन्दोलन थप उग्र बन्दै सिंहदरबारमा आगजनी भएको थियो। सरकारी संरचनामा आगो लाग्नु मात्र नभई राज्यका संस्थाप्रति नागरिकको भरोसा कमजोर भएको प्रतीकात्मक सन्देशसमेत त्यस घटनाले दिएको थियो। त्यही समयमा विभिन्न स्थानमा लुटपाट, तोडफोड र हिंसात्मक गतिविधि बढेपछि देश असाधारण राजनीतिक र सामाजिक संकटमा फसेको थियो।

सडकमा हिंसा बढिरहेको, संस्थाहरू कमजोर बनिरहेको र राजनीतिक दलहरूबीच अविश्वास गहिरिँदै गएको अवस्थामा देशको नेतृत्व कसले सम्हाल्ने भन्ने प्रश्न जटिल बनेको थियो। त्यही परिस्थितिमा न्यायिक पृष्ठभूमिबाट आएकी सुशीला कार्की अचानक राष्ट्रिय राजनीतिमा नेतृत्वको भूमिकामा अघि बढिन्। त्यतिबेला उनको नेतृत्वलाई लिएर धेरैमा आशंका थियो। प्रमुख राजनीतिक दलका प्रभावशाली नेताहरू समेत एकपछि अर्को गर्दै संकट व्यवस्थापनमा असफल भइरहेका थिए। यस्तो अवस्थामा कुनै राजनीतिक दलसँग प्रत्यक्ष सम्बन्ध नभएकी र सक्रिय राजनीतिक अनुभव पनि कम भएकी कार्कीले सरकारको नेतृत्व सम्हाल्दा धेरैले उनको क्षमतामाथि प्रश्न उठाएका थिए।

सुरुका दिनहरूमा कार्कीले तीव्र आलोचना र अविश्वासको सामना गर्नुपर्‍यो। सत्ताबाट बाहिरिएका शक्तिहरू उनको नेतृत्वप्रति असन्तुष्ट थिए भने आन्दोलनबाट उभिएका समूहहरू पनि पूर्ण रूपमा सन्तुष्ट थिएनन्। सामाजिक सञ्जाल र विभिन्न सार्वजनिक मञ्चमा उनलाई भूराजनीतिक प्रभावको पात्रदेखि संविधानबाहिरको प्रधानमन्त्रीसम्मका आरोप लगाइए। तर, ती सबै दबाबबीच कार्कीले आफ्नो कार्यकाललाई संकट व्यवस्थापनमा केन्द्रित गरिन्। मुलुक हिंसात्मक अवस्थातर्फ धकेलिन नदिन उनले सुरक्षाको अवस्था सुधार गर्ने, संस्थागत स्थिरता कायम राख्ने र संवैधानिक प्रक्रियालाई जोगाउने प्रयास गरिन्। उनको नेतृत्वमा सरकारले आम नागरिकको सुरक्षालाई प्राथमिकता दिएको थियो। हिंसात्मक गतिविधि नियन्त्रणमा ल्याउने, सरकारी संरचना पुनः सञ्चालनमा ल्याउने तथा प्रशासनिक प्रणालीलाई पुनः सक्रिय बनाउने कामहरू क्रमशः अघि बढाइए।

कार्कीको कार्यकालमा सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा निर्वाचन सम्पन्न गराउनुलाई लिइएको छ। संकटपूर्ण अवस्थाबाट मुलुकलाई चुनावसम्म पुर्‍याउनु आफैंमा चुनौतीपूर्ण कार्य थियो। तर सरकारले निर्वाचनको मिति तय गर्दै आवश्यक तयारी अघि बढायो।

केही समयअघि प्रमुख राजनीतिक दलका केही नेताहरूले चुनाव हुन नसक्ने दाबी गरेका थिए। विशेषगरी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले चुनावको सम्भावनाप्रति प्रश्न उठाएका थिए। यस्तै, जेनजी आन्दोलनका केही अगुवाहरूले पनि आफूहरूको माग सम्बोधन नभए चुनाव हुन नदिने चेतावनी दिएका थिए। तर, अन्ततः ती सबै आशंकालाई चिर्दै देशभर निर्वाचन सम्पन्न भएको छ। बिहीबार देशभरका एक करोडभन्दा बढी मतदाताले मतदान गरेका छन्। अधिकांश स्थानमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। प्रधानमन्त्री कार्कीले पनि काठमाडौं–५ बाट मतदान गर्दै आफ्नो नागरिक कर्तव्य पूरा गरेको बताइन्। मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्, “मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, म अत्यन्त खुसी छु।”

उनले निर्वाचन सम्पन्न भएपछि अब निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने प्रक्रिया अघि बढ्ने पनि स्पष्ट पारेकी छन्। यद्यपि, उनको छोटो कार्यकाल विवादरहित भने थिएन। महान्यायाधिवक्ता सविता भण्डारी र प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठसँग सम्बन्धित विवादले सरकारमाथि आलोचना पनि भएको थियो। यसका साथै जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरेको विषयमा पनि प्रश्न उठेका छन्। आलोचकहरूले सरकारसँग प्रतिवेदन सार्वजनिक गर्ने अवसर हुँदाहुँदै त्यसलाई टारिएको बताएका छन्। यी आलोचनाका बाबजुद धेरै विश्लेषकहरूले कार्कीको नेतृत्वलाई संकट व्यवस्थापनका दृष्टिले महत्वपूर्ण ठानेका छन्। हिंसात्मक अवस्थाबाट देशलाई बाहिर ल्याउने, संवैधानिक प्रणालीलाई निरन्तरता दिने र अन्ततः निर्वाचन सम्पन्न गराउने कार्यलाई उनका प्रमुख उपलब्धि मानिएको छ।

अब चुनावको परिणामसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ। त्यसपछि कार्कीले सत्ता निर्वाचित नेतृत्वलाई हस्तान्तरण गर्नेछिन्। छोटो कार्यकाल भए पनि संकटपूर्ण अवस्थामा नेतृत्व सम्हालेकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा कार्कीले नेपाली राजनीतिमा एक महत्वपूर्ण अध्याय थपेको विश्लेषकहरूको भनाइ छ। अब आगामी सरकारका लागि चुनौती भने अझै ठूलो छ। कार्कीको नेतृत्वमा चुनाव सम्पन्न भएसँगै स्थिरता र सुशासनको अपेक्षा झनै बढेको छ। नयाँ सरकारले ती अपेक्षालाई कसरी सम्बोधन गर्छ भन्ने प्रश्न अब सबैको ध्यानको केन्द्र बनेको छ।

प्रक्षेपण राष्ट्रिय दनिकदेखि साभार।