काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतदानका क्रममा देशभरका कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था नदेखिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार अधिकांश मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ र पुनः मतदानको आवश्यकता पर्ने कुनै गम्भीर घटना भएको छैन। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभरका सबै मतदान केन्द्रबाट प्राप्त प्रारम्भिक विवरणअनुसार मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिएका छन् । उनका अनुसार अहिलेसम्म कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था देखिएको छैन ।
“सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। हालसम्मको जानकारीअनुसार कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था देखिएको छैन,” प्रवक्ता भट्टराईले भने। उनका अनुसार मतदानका क्रममा केही स्थानमा सामान्य अवरोध देखिए पनि ती समस्या तत्काल समाधान गरी मतदान प्रक्रिया पुनः सञ्चालन गरिएको थियो। त्यसैले ती घटनाले निर्वाचन प्रक्रियामा गम्भीर असर नपारेको आयोगले जनाएको छ। बिहीबार मतदानका क्रममा दोलखा र सर्लाही–४ का केही मतदान केन्द्रमा भने केही समयका लागि मतदान रोक्नुपरेको थियो। आयोगका अनुसार स्थानीय विवाद तथा प्राविधिक कारणले केही समय मतदान अवरुद्ध भए पनि पछि स्थिति सामान्य भएपछि मतदान प्रक्रिया पुनः सञ्चालन गरिएको थियो।
निर्वाचन अधिकारी तथा सुरक्षाकर्मीको समन्वयमा समस्या समाधान गरिएपछि ती केन्द्रहरूमा पुनः मतदान सुचारु गरिएको आयोगले जनाएको छ। त्यसैले ती स्थानमा पुनः मतदान गर्नुपर्ने अवस्था नआएको आयोगको भनाइ छ। निर्वाचन आयोगले दिएको प्रारम्भिक विवरणअनुसार यस पटकको प्रतिनिधिसभा निर्वाचनमा देशभर करिब ६० प्रतिशत मतदान भएको छ। यद्यपि विस्तृत विवरण संकलन गर्ने कार्य अझै जारी रहेकाले अन्तिम प्रतिशत केही फरक हुन सक्ने आयोगले जनाएको छ। आयोगका अनुसार मतदानका लागि देशभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको थियो। सो अवधिमा देशभरका लाखौँ मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए। कतिपय स्थानमा बिहानैदेखि मतदाताको उल्लेखनीय उपस्थिति देखिएको थियो भने दिनभरि मतदान केन्द्रहरूमा मतदाताको चहलपहल कायम रहेको थियो।
निर्वाचन आयोगले मतदानलाई शान्तिपूर्ण बनाउन व्यापक सुरक्षा व्यवस्था मिलाएको थियो। मतदान केन्द्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आवश्यक स्थानमा नेपाली सेनासमेत परिचालन गरिएको थियो। सुरक्षा व्यवस्था कडा बनाइएकै कारण मतदान अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ। मतदान सम्पन्न भएसँगै अब मतपेटिका संकलन र मतगणनाको प्रक्रिया अघि बढिरहेको छ। आयोगका अनुसार सुगम क्षेत्रमा रहेका अधिकांश मतदान केन्द्रबाट मतपेटिका संकलन गरी मतगणनास्थलमा ल्याउने काम सुरु भइसकेको छ।
दुर्गम तथा हिमाली जिल्लाका केही मतदान केन्द्रबाट भने भौगोलिक कठिनाइका कारण मतपेटिका संकलन गर्न हेलिकोप्टर प्रयोग गरिएको छ। प्रवक्ता भट्टराईका अनुसार बिहीबार नै हेलिकोप्टरमार्फत रसुवा, दोलखा, पूर्वी रुकुम, बाजुरा, बझाङ र हुम्लाका केही स्थानबाट मतपेटिका संकलन गरिसकिएको छ। ती जिल्लाका दुर्गम मतदान केन्द्रहरूबाट मतपेटिका सुरक्षित रूपमा ल्याउने कार्य सम्पन्न भएको उनले बताए। उनका अनुसार अन्य जिल्लाबाट पनि मतपेटिका ढुवानी गर्ने कार्य जारी रहेको छ। भौगोलिक अवस्थाका कारण केही स्थानबाट मतपेटिका संकलन गर्न समय लाग्ने भए पनि शुक्रबार दिउँसो १२ बजेसम्म सबै मतपेटिका संकलन गर्ने योजना आयोगले बनाएको छ।
मतपेटिका संकलन भएपछि सम्बन्धित जिल्लामा मतगणना सुरु गरिने आयोगले जनाएको छ। सुगम क्षेत्रमा भने धेरै स्थानमा छिट्टै मतगणना सुरु हुने सम्भावना रहेको बताइएको छ। र्वाचन आयोगले मतगणना प्रक्रिया पारदर्शी र व्यवस्थित ढङ्गले सञ्चालन गरिने जनाएको छ। मतगणनास्थलमा उम्मेदवारका प्रतिनिधि, राजनीतिक दलका पर्यवेक्षक तथा सुरक्षाकर्मीको उपस्थितिमा मतगणना गरिने व्यवस्था गरिएको छ। यस पटकको प्रतिनिधिसभा निर्वाचनलाई राजनीतिक रूपमा महत्वपूर्ण रूपमा हेरिएको छ। निर्वाचनमार्फत नयाँ प्रतिनिधिसभा गठन हुने र त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएकाले देशभर चासोका साथ हेरिएको छ।
निर्वाचन आयोगका अनुसार मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न हुनु लोकतान्त्रिक प्रक्रियाका लागि सकारात्मक संकेत हो। आयोगले मतदाताहरू, सुरक्षाकर्मी, कर्मचारी तथा सम्पूर्ण सरोकारवालालाई निर्वाचन सफल बनाउन सहयोग गरेकोमा धन्यवाद पनि दिएको छ। अब मतगणना सुरु भएसँगै क्रमशः निर्वाचन परिणाम सार्वजनिक हुने आयोगले जनाएको छ। निर्वाचन परिणामपछि नयाँ प्रतिनिधिसभा गठन हुने र त्यसपछि सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।
प्रक्षेपण राष्ट्रिय दनिकदेखि साभार।





































