रास्वपाप्रति जनलहरसँगै देश निर्माणको ऐतिहासिक जिम्मेवारी

नेपालको संसदीय इतिहासमा विरलै देखिने ठूलो राजनीतिक लहरले देशको विगतको शक्ति सन्तुलनलाई पूरै उल्ट्याइदिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक नतिजा र हालसम्मको रुझानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दुईतिहाइ बहुमततर्फ डोर्‍याइरहेको संकेत गरेको छ ।

निर्वाचन परिणाम केवल एउटा पार्टीको विजय मात्र होइन, दशकौँदेखि राज्यसत्ताको बागडोर सम्हालेका स्थापित राजनीतिक दलहरू र तिनका नेतृत्वप्रति नेपाली जनताले व्यक्त गरेको व्यापक असन्तोष र परिवर्तनको तीव्र चाहनाको विष्फोट हो ।

निर्वाचन प्रतिस्पर्धाका क्रममा केही क्षेत्रहरूमा देशैभरका लागि अत्यन्तै चासो थियो । रास्वपाका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन्द्र शाह ‘बालेन’ले नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्नुले नेपाली राजनीतिमा एउटा युगको अन्त्य र नयाँ युगको सुरुवात भएको सन्देश दिएको छ । चतुर राजनीतिज्ञ र वाकपटुताका धनी मानिने ओलीको पराजयले अबको पुस्ता गफभन्दा काम र विरासतभन्दा भविष्यलाई प्राथमिकता दिन्छ भन्ने पुष्टि गरेको छ ।

यसैगरी नेपाली कांग्रेसका आशालाग्दा नेता तथा प्रधानमन्त्रीका दाबेदार गगनकुमार थापाको सांसद पदमै भएको हार पनि उत्तिकै चर्चाको विषय बनेको छ । रास्वपा उम्मेदवार अमरेश कुमार सिंहसँगले उनलाई पराजित गरेका छन् । कांग्रेस र एमाले जस्ता पुराना दलहरूले बेलैमा आफूलाई सुधार्न नसक्दाको परिणाम आजको जनलहर हो भन्न सकिन्छ ।

रास्वपाले प्राप्त गरेको सम्भावित दुईतिहाइको बहुमत काँचो फूलबारी जस्तै हो, जसलाई जोगाउनु र फुलाउनु अब चुनौती हुनेछ । जनताले दिएको यो मत ‘ब्ल्याक चेक’ होइन, बरु एउटा गम्भीर करार हो । रास्वपा उम्मेदवारहरूले चुनाव प्रचारकै बेला जनतासँग करार गरेको बताएका थिए ।
निर्वाचनका बेला गरिएका भ्रष्टाचार विरोधी वाचाहरूलाई अब ऐन र कानूनमा रूपान्तरण गर्ने बेला आएको छ । ठूला भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन जनताको पहिलो माग हो । आकर्षक योजनाभन्दा पनि भूइँतहका मानिसले महसूस गर्ने गरी महँगी नियन्त्रण र रोजगारी सिर्जना गर्नु रास्वपा सरकारको अग्निपरीक्षा हुनेछ ।

व्यक्तिगत लोकप्रियताका आधारमा चुलिएको रास्वपाले अब आफूलाई एउटा अनुशासित र विधिमा चल्ने राजनीतिक संस्थाका रूपमा प्रमाणित गर्नुपर्नेछ । अत्यधिक बहुमतले कहिलेकाहीँ सत्ताको उन्माद पनि निम्त्याउन सक्छ । दुईतिहाइको शक्तिको आडमा लोकतान्त्रिक संस्थाहरूलाई कमजोर पार्ने गल्ती विगतमा पनि भएका छन् । बालेन्द्र शाहको नेतृत्वमा बन्ने सम्भावित सरकारले ती गल्तीहरूबाट सिक्नुपर्छ । प्रतिपक्षमा खुम्चिएका पुराना दलहरूलाई पनि साथमा लिएर राष्ट्रिय मुद्दाहरूमा सहमति जुटाउनु नै परिपक्वता हुनेछ ।

निर्वाचनको मतपरिणाम चलिरहेकै बेला नेपालको राजनीति अब नयाँ मोडमा आइपुगेको प्रस्ट भएको छ । रास्वपाको पक्षमा देखिएको जनलहर केवल सहानुभूति होइन, नयाँ नेपाल निर्माणको एउटा बलियो सपना हो । प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाह र उनको टीमको काँधमा अब देशलाई समृद्धिको दिशामा लैजाने ऐतिहासिक जिम्मेवारी आएको छ । यसलाई रास्वपाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सदुपयोग गर्न सक्यो भने नेपालको इतिहासमा यसपालिको निर्वाचन स्वर्ण अक्षरले लेखिनेछ । अन्यथा इतिहास निर्मम हुन्छ, जसरी आज पुराना शक्तिहरू किनारा लागे, भोलि नयाँ शक्तिलाई पनि जनताले त्यसैगरी मूल्यांकन गर्नेछन् । पुराना दलबाट पाठ सिकेर रास्वपाले आफूलाई जनचाहनाअनुसार अगाडि बढाउनुपर्छ ।

मिति २०८२ फागुन २४ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।