काठमाडौँ । नेपालको प्रजातान्त्रिक इतिहासमा २००७ सालको आन्दोलनपछि मधेशको राजनीतिक आन्दोलनले क्रमशः संस्थागत रूप लिन थालेको थियो।
मधेशी समुदायको अधिकार, प्रतिनिधित्व र राज्य संरचनामा समान सहभागिताको मागलाई केन्द्रमा राखेर विभिन्न समयहरूमा थुप्रै राजनीतिक दलहरू गठन भए। ती दलहरूले मधेशको मुद्दालाई राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा ल्याए र लामो समयसम्म मधेश क्षेत्रको चुनावी राजनीतिमा आफ्नो प्रभाव कायम राखे। यद्यपि, समयसँगै ती दलहरू विभाजन, पुनर्गठन र नेतृत्व संघर्षका कारण कमजोर बन्दै गएका थिए। त्यसका बाबजुद पनि उनीहरूले मधेशको राजनीतिक मैदानमा आफ्नो उपस्थितिलाई निरन्तर कायम राख्दै आएका थिए। तर यसपटकको प्रतिनिधिसभा निर्वाचनले भने मधेशकेन्द्रित दलहरूको राजनीतिक भविष्यलाई नै गम्भीर चुनौती दिएको छ।
जेनजी विद्रोहपछि फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले मधेशको राजनीतिमा ठूलो उलटफेर ल्याएको छ। ‘घण्टी’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेशका अधिकांश निर्वाचन क्षेत्रमा प्रभावशाली विजय हासिल गर्दै मधेशवादी दलहरूको लामो समयदेखिको प्रभुत्व लगभग समाप्त गरिदिएको छ। अघिल्लो प्रतिनिधिसभामा मधेशकेन्द्रित दलहरूबाट दुई दर्जनभन्दा बढी सांसद निर्वाचित भएका थिए। तर यसपटकको निर्वाचन परिणाम हेर्दा ती दलहरूले एक सिटसमेत सुरक्षित गर्न नसकेको अवस्था देखिएको छ। मधेशको राजनीतिक नेतृत्वमा लामो समयदेखि स्थापित दलहरू एकाएक कमजोर बनेका छन् भने नयाँ राजनीतिक शक्तिका रूपमा रास्वपा उदाएको छ। मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा रास्वपाले अभूतपूर्व समर्थन पाएको देखिएको छ। सप्तरी जिल्लाका चारै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रास्वपाले स्पष्ट विजय हासिल गरेको छ। सप्तरी–१ मा रास्वपाकी उम्मेदवार पुष्पाकुमारी चौधरी ३८ हजारभन्दा बढी मतसहित विजयी भइन्। अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार विजयी भएका थिए। तर यसपटक जसपा नेपालका उम्मेदवार निकै कम मतमा सीमित भए।
सप्तरी–२ मा रास्वपाका रामजी यादव विजयी भए। यस क्षेत्रमा अघिल्लो चुनावमा जनमत पार्टीका अध्यक्ष सिके राउत निर्वाचित भएका थिए। तर यसपटक उनी विजेताको नजिकसमेत पुग्न सकेनन् र तेस्रो स्थानमा सीमित भप्तरी–३ मा रास्वपाका अमरकान्त चौधरी विजयी भए भने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव दोस्रो स्थानमा रहे। सप्तरी–४ मा पनि रास्वपाका सिताराम साहले उल्लेखनीय मतान्तरसहित जीत हात पारे।सिराहा जिल्लामा पनि रास्वपाले चारै निर्वाचन क्षेत्रमा जीत हासिल गर्दै क्लीन स्वीप गरेको छ। सिराहा–१ मा रास्वपाका बब्लु गुप्ता विजयी भए भने सिराहा–२ मा शिवशंकर यादवले जीत हात पारे। त्यस्तै सिराहा–३ मा शम्भुकुमार यादव विजयी भए भने सिराहा–४ मा तपेश्वर यादवले निर्वाचन जिते। यस जिल्लामा मधेशवादी दलका उम्मेदवारहरू अपेक्षाकृत निकै कम मतमा सीमित भएको देखिएको छ।
धनुषा जिल्लामा पनि रास्वपाले उल्लेखनीय सफलता प्राप्त गरेको छ। धनुषा–२ मा रास्वपाका रामविनोद यादव विजयी भए भने धनुषा–३ मा मनिष झा निर्वाचित भए। धनुषा–४ मा पनि रास्वपाका उम्मेदवार राजकिशोर महतोले जीत हासिल गरे।महोत्तरी जिल्लामा पनि मधेशवादी दलहरूको प्रभाव घटेको स्पष्ट देखिएको छ। महोत्तरी–१ मा रास्वपाका प्रमोद महतो विजयी भए भने महोत्तरी–२ मा दीपककुमार साह निर्वाचित भए। महोत्तरी–३ मा उज्वलकुमार झा विजयी भए भने महोत्तरी–४ मा रास्वपाकी गौरीकुमारीले जीत हात पारिन्। मधेश राजनीतिका पुराना प्रभावशाली नेताहरूको प्रभाव क्षेत्र मानिने यस जिल्लामा समेत मधेशवादी दलहरू कमजोर देखिएका छन्।
सर्लाही जिल्लामा पनि रास्वपाले बलियो उपस्थिति जनाएको छ। सर्लाही–१ मा नीतिमा भण्डारी विजयी भइन्। सर्लाही–२ मा रास्वपाका रविन महतो निर्वाचित भए भने मधेश राजनीतिका चर्चित नेता राजेन्द्र महतो पाँचौँ स्थानमा सीमित भए। सर्लाही–३ मा रास्वपाका नरेन्द्र साह कलवार विजयी भए भने सर्लाही–४ मा अमरेश सिंहले जीत हासिल गरे।रौतहट जिल्लामा पनि चुनावी परिणामले ठूलो राजनीतिक परिवर्तन देखाएको छ। रौतहट–१ मा रास्वपाका राजेश चौधरी विजयी भए। यस क्षेत्रमा पूर्वप्रधानमन्त्री माधव नेपाल समेत उम्मेदवार थिए तर उनी चौथो स्थानमा सीमित भए।रौतहट–२ मा कांग्रेसका उम्मेदवार विजयी भए पनि मधेशवादी दलहरूले उल्लेखनीय मत प्राप्त गर्न सकेनन्। रौतहट–३ मा रास्वपाका रवीन्द्र पटेल विजयी भए। यस क्षेत्रमा लामो समयदेखि प्रभाव राख्दै आएका आम जनता पार्टीका अध्यक्ष प्रभु साह पराजित भए।
रौतहट–४ मा पनि रास्वपाका गणेश पौडेल निर्वाचित भए।बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा पनि रास्वपाले जीत हासिल गरेको छ। बारा–१ मा गणेश धिमाल, बारा–२ मा चन्दन सिंह, बारा–३ मा अरविन्द साह र बारा–४ मा रहवर अन्सारी विजयी भएका छन्।पर्सा जिल्लामा पनि रास्वपाले तीन क्षेत्रमा जीत हासिल गरेको छ। पर्सा–१ मा बुद्धिप्रसाद पन्त विजयी भए भने पर्सा–२ मा सुशीलकुमार कोनु निर्वाचित भए। पर्सा–३ मा रामकान्त चौरसिया विजयी भए भने पर्सा–४ मा भने कांग्रेसले जीत हासिल गर्यो।मधेश क्षेत्रबाहिरका केही निर्वाचन क्षेत्रमा पनि मधेशसँग सम्बन्धित राजनीतिक शक्तिहरू कमजोर भएका छन्। लुम्बिनी प्रदेशको रूपन्देही–४ मा रास्वपाका कन्हैया बनिया विजयी भए। यसअघि यस क्षेत्रमा मधेशकेन्द्रित दलका उम्मेदवार विजयी भएका थिए।
त्यस्तै सुदूरपश्चिम प्रदेशको कैलालीमा पनि मधेशसँग सम्बन्धित दलहरूले आफ्नो प्रभाव गुमाएका छन्। कैलाली–१, २ र ३ मा रास्वपाले जीत हासिल गरेको छ।यसपटकको निर्वाचन परिणामले मधेशको राजनीतिमा नयाँ अध्याय सुरु भएको विश्लेषण गरिएको छ। दशकौँदेखि मधेशको राजनीतिक नेतृत्व गर्दै आएका दलहरू कमजोर बन्दा नयाँ शक्तिका रूपमा रास्वपाले स्थान बनाएको छ।राजनीतिक विश्लेषकहरूका अनुसार मधेशवादी दलहरूमा बढ्दो विभाजन, नेतृत्व विवाद, जनअपेक्षा पूरा गर्न नसक्नु र संगठन कमजोर हुँदै जानुले उनीहरूको लोकप्रियता घटाएको हो। त्यसैको फाइदा नयाँ राजनीतिक शक्तिले उठाएको देखिन्छ। विशेषगरी जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक असन्तुष्टि, युवापुस्ताको परिवर्तनप्रतिको चाहना र पुराना दलप्रतिको निराशाले यसपटकको निर्वाचन परिणाममा महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।यस परिणामले मधेशको राजनीतिक समीकरणलाई पूर्ण रूपमा बदलिदिएको छ। अब मधेशकेन्द्रित दलहरूले आफ्नो रणनीति, नेतृत्व र राजनीतिक कार्यशैलीमा ठोस सुधार नगरे भविष्यमा उनीहरूको राजनीतिक अस्तित्व झन् कमजोर बन्न सक्ने टिप्पणी भइरहेको छ।
प्रक्षेपण राष्ट्रिय दनिकदेखि साभार।




































